त्रिशूली अस्पतालका ६ कर्मचारी सम्मानित

  • त्रिशूली प्रवाह
  • ८ जेष्ठ २०८१, मंगलवार १७:०५

विदुर, जिल्ला अस्पताल त्रिशूली नुवाकोटले अस्पतालको विभिन्न विभागमा कार्यरत कर्मचारीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गरेको छ । हरेक महिनाको उत्कृष्ट कर्मचारी छनौट गरेर अस्पतालले चालु आ.व.२०८०/०८१ को १० महिनामध्ये मंसिर, पौष, माघ, फाल्गुण, चैत र वैंशाख महिनाको उत्कृष्ट कर्मचारीलाई छनौट गरी पुरस्कृत गरेको छ ।

अस्पतालले पहिलो पटक कर्मचारीको छनौट गरी प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा विभिन्न विभागमा कार्यरत ६ जना कर्मचारी रहेका छन् । अस्पतालले मंसिर महिनामा अनमी सम्रिता सुबेदी, पौष महिनामा स्टाफ नर्स प्रेरणा तामाङ, माघ महिनामा स्वास्थ्य सहायक धनबहादुर ओली, फागुन महिनामा ल्याब टेक्निसियन रजनी गुरूङ, चैत महिनामा कार्यालय सहयोगी बिशाखा देउला र वैंशाख महिनामा मेडिकल अधिकृत डा.प्रतिज्ञा सिंहलाई छनौट गरी जनही नगद पाँच÷पाँच हजार रूपैयाँका साथै प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको अस्पतालका निमित्त प्रमुख डा.राजेन्द्र लामाले जानकारी दिनुभयो । सम्मान कार्यक्रम त्रिशूली अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितको सभापतित्वमा र विदुर नगरपालिका वडा नं.–९ को अध्यक्ष हरिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।