दाङसिंह, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले हप्ताको एक दिन जातीय मौलिक पहिचानसहितको पोसाक लगाउन थालेका छन् । हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोसाक लगाउनुपर्ने नीतिलाई पालिकाले कार्यान्वयनमा ल्याएको छ । चाडपर्व र मेला–जात्रामा प्रदर्शनीका रूपमा लगाइने गरिएको जातीय पोसाक अब विद्यालयका विद्यार्थीले हप्ताको एक दिन लगाउन थालेका छन् ।
पालिकाले गरेको निर्णयलाई विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले बुधबार आ–आफ्नो जातीय पहिचानअनुसारको पोसाक लगाउन सुरु गरेर कार्यान्वयनमा सहयोग गरेको अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार सम्पूर्ण जातजाति (समुदाय)को पहिचान र संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले अभियानका रूपमा परम्परागत जातीय पोसाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोसाक अनिवार्य गरिएको छ । ‘जातीय पहिचानमा सजिएर विद्यालय जान पाउँदा विद्यार्थी उत्साहित देखिएका छन्,’ उनले भने, ‘मौलिक पोसाक लगाउन पाएसँगै विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।’ तामाङ समुदायको बाहुल्य रहेको तारकेश्वरमा विशेष गरेर चाडपर्व र मेला जात्रामा मात्र जातीय पोसाकको प्रयोग हुने गरेपछि संरक्षणका लागि गाउँपालिकाले विद्यालयस्तरमा जातीय पहिचानसहितको पोसाक कार्यान्वयनमा ल्याएको हो । गत फागुन १४ गते बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ गते बसेको पालिकाभित्रका प्रधानाध्यापकको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो । सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले साताको बुधबार आ–आफ्नो पोसाकमा सजिएर पढ्न र पढाउन सुरु गरेका छन् ।
यसअघि चाडपर्व र मेला–जात्रामा प्रदर्शनीका रूपमा लगाइने गरिएको जातीय पोसाक विद्यालय तहमा कार्यान्वयनमा ल्याएसँगै आगामी दिनमा नियमित प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ । ‘परम्परा, संस्कृति र वेशभूषाको संरक्षणमा आफू निर्वाचित भएर आएसँगै विशेष अभियानका रूपमा प्राथमिकता दिएका छौँ,’ अध्यक्ष अधिकारीले भने, ‘तिज, ल्होछार, गोरुजुधाइमा गाउँपालिकाले विभिन्न शीर्षकमा सहयोग पु¥याएको छ । त्यसमार्फत हाम्रा मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने आशा लिएका छौँ ।’ गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणका लागि जातीय मौलिक पहिचानका कपडा बुन्ने, बाँसका चोयाबाट डोका–थुन्से बुन्ने, ढिकी, जाँतो र घट्ट बनाउने तालिम दिने र ती सामग्रीको प्रयोगका लागि विशेष अनुदानसमेत उपलब्ध गराउने नीति अवलम्बन गरेको छ ।