गैरदलित र दलित महिला पञ्चेबाजा सिक्दै

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:१६

विदुर, नुवाकोटको विदुर नगरपालिका-२ सीतापोखरीका महिला पञ्चेबाजा बजाउने तालिममा उत्साहपूर्वक सहभागी भइरहेका छन् । २ नम्बर वडा कार्यालयले महिला सशक्तीकरणमा छुट्याएको बजेटबाट बाजा बजाउने तालिम सञ्चालन गरेको हो ।

सो वडाको सीतापोखरीमा रहेको सफल महिला विकास समूहका २२ जना गुरुङ, तामाङ, बाहुन, क्षेत्री, मगर, परियार, विकलगायतका जातका महिला तालिममा सहभागी रहेको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । तालिम गत वैशाख १७ देखि सञ्चालन भइरहेको छ । निता गुरुङको संयोजकत्वमा तालिम सञ्चालन गर्न उपसमिति बनाएको समूहकी अध्यक्ष अप्सरा खतिवडाले बताइन् । तालिमका लागि दुई लाख ६३ हजार प्राप्त भएको वडासदस्य सबु मिजारले जानकारी दिइन् । तालिम बिहान, बेलुका र बिदाको दिन दिउँसोसमेत सञ्चालन भइरहेको छ । उक्त बजेटबाट समूहले बाजा सेट खरिद गरी तालिम लिइरहेको वडाध्यक्ष कायस्थले बताए । शुभकार्य गर्दा मात्र बज्ने पञ्चेबाजा पछिल्लो समय बिस्तारै लोप हुँदै बज्न छाडेका छन् । पाका पुस्तामा भएको सीप युवा पुस्ताले चासो नदिँदा बाजा लोप हुने चिन्ता बढेको विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डितले बताए । गाउँघरमा केही समुदायका पुरुषले मात्र पञ्चेबाजा बजाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई चिर्दै सीतापोखरीका महिला बाजा बजाउने तालममा सहभागी भएका थाहा भएर हौसला बढाउन तालिमस्थलमा पुगेका पूर्वमेयर पण्डितले सिकेको सीपलाई निरन्तरता दिँदै आय–आर्जनको बाटोमा लाग्न सुझाव दिए ।

शनिबार पूर्वमेयरसँगै विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर–६ का अध्यक्ष श्यामकृष्ण चालिसे, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा बाजा बजाउने तालिमस्थलमा पुगेका थिए । महिलाले पनि बाजा बजाउने भनेर समुदायका केही व्यक्तिले हेप्ने गरेकाले घरको काम भ्याएर बाजा बजाउन सिक्न आएको एक सहभागीले नाम नछाप्ने सर्तमा त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् । सुदीप बागदासले प्रशिक्षण दिइरहेको तालिममा महिला दिदीबहिनीले उत्साहका साथ सहभागिता जनाएकाले अनुगमन गर्न आएको उपमेयर प्रभा बोगटीले बताइन् । उनले भनिन्, ‘लोप हुँदै गएको कला, संस्कृति संरक्षण गर्न वडाले सुरु गरेको तालिम अनुकरणीय रहेको छ ।’ दुई महिनासम्म सञ्चालन हुने तालिममा सबै दिदीबहिनी प्रतिबद्ध भएर लागेको र पुरुष दाजुभाइले सहयोग गरिरहेको वडासदस्य मिजारले बताइन् ।