ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार कोष स्थापना

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:४५

गजुरी, धादिङको पहिलो आदर्श माध्यमिक विद्यालय गजुरीका संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्माका नाममा शिक्षा पुरस्कार कोष स्थापना गर्न अभियान सुरु भएको छ । गत शनिबार काठमाडौंमा भएको भेलामा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे उपस्थित भएर शर्मा शिक्षा पुरस्कार कोष स्थापनामा आफूले पनि सकेको रकम जम्मा गर्ने जनाउँदै अरूलाई पनि सहयोगका लागि आग्रह गरे । ०२९ सालका एसएलसी ब्याचका विद्यार्थी तथा सोही विद्यालयका पूर्वशिक्षक पाण्डेसहित ४३ जनाको प्रत्यक्ष उपस्थिति र २३ जनाको सामाजिक सञ्जालमार्फत सहभागिता थियो । उक्त छलफलमा पुरस्कार कोषलाई प्रतिष्ठानमार्फत चलाउन उपयुक्त हुने रायसमेत दिइयो ।

पहिलो दिनको भेलामै रु. सात लाख १७ हजार आठ सय २३ को प्रतिबद्धता आएको माविका पूर्वविद्यार्थी डा. सदानन्द कँडेलले बताए । प्रतिष्ठानका रूपमा कोष अगाडि बढाउन १३ जनाको तदर्थ समिति गठन गरिएको छ । पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे, डा. तारानाथ पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, डा. सदानन्द, विशिष्ट श्रेणी सचिव रघुनाथ पाण्डेलगायत सो विद्यालयका उत्पादन हुन् । ताल्ती स्थायी घर भएका सो विद्यालयका संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्मा कँडेलले विदेशमा पढ्न छात्रवृत्ति पाए पनि छाडेर गाउँ फर्की गजुरीमा हाइस्कुल खोली प्रधानाध्यापक बनेका थिए । शर्माले ०२५ सालमा आदर्श मावि स्थापना गरी ०४३ सालसम्म अङ्ग्रेजी शिक्षक र प्रधानाध्यापकका रूपमा काम गरे । शर्मा पछि राजनीतितिर लागी जलस्रोतमन्त्रीसम्म बने ।
हाल जिल्लामा सामुदायिक एक सय २१ र संस्थागत २१ माध्यमिक विद्यालय सञ्चालित छन् ।