ग्लान सांस्कृतिक सङ्ग्रहालय बनाउन पर्यटनमन्त्रीको चासो

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १२:५१

दुप्चेश्वर, ग्लान समाज नेपालले आयोजना गरेको थातथलो अवलोकनमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ग्लान सांस्कृतिक सङ्ग्रहालय बनाउन चासो देखाएका छन् ।

गत हप्ता मन्त्री तामाङले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ को बेतिनीमा रहेको ग्लान वंशको थातथलोको अवलोकन गरेका हुन् । बेतिनीमा रहेको ग्लान वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रूपमा ग्लान सांस्कृतिक सङ्ग्रहालय बनाउने उनले उद्घोष गरे । उनले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्रहालय बनाउन ग्लान समाजको संयोजनमा ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवद्र्धन केन्द्र शीर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् । मन्त्रीसँगै नेकपा माओवादी केन्द्रका बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यस ठाउँको संस्कृति जोगाउनुपर्ने बताए । उनले भने, ‘ग्लानहरूले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसका लागि यसलाई जोगाउनुपर्छ ।’ थातथलो अवलोकनको क्रममा बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले थातथलोलाई चिनाउनका लागि मन्त्रीले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै थातथलोलाई सबैले बिर्सन नहुने बताए । त्यस्तै, बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कदाप क्याना (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ । गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरूलाई थप सहजीकरण हुने बताए । पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिरहेका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियान सुरु गरेकोमा खुसी व्यक्त गरिन् ।

गाउँपालिकाका पूर्वअध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको बताए । ‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामूहिक राष्ट्रिय भेला गर्नेछु,’ उनले वचनबद्धता गरे । छरिएर रहेका ग्लानलाई उद्गमथलोसम्म ल्याइपु¥याउने वातावरण सिर्जना गर्नुपर्ने बताए । अवलोकन गर्न पुगेकी आनन्दी ग्लानले स्नातकोत्तर अध्ययनमा लपतावकै विषयमा अध्ययन गरेको बताइन् । उनले ग्लानको थातथलो नाम्सापुरान आउने अवसर मिलेकोमा खुसी व्यक्त गरिन् । गाउँपालिकाका पूर्वअध्यक्ष तामाङको पालामा बनेको कुदाप र डम्फु पार्कले ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ । वंशका विभिन्न पद र ओहोदामा रहेका ग्लान वंशका तामाङ थरको थातथलो (बाब्सा)मा उनीहरूले कुलपूजा गर्दा कुदापमा पक्रवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ वर्षीय टोकबहादुर ग्लानले जानकारी दिए ।