अर्बुदरोगसँगको लडाइँ : मृत्युलाई छक्याउने जुक्ति

  • त्रिशूली प्रवाह
  • ३ असार २०८१, आईतवार १५:४३
  • फुर्पा तामाङ

मृत्युलाई केही वर्ष झुक्याउने जुक्ति जानियो भने आयु लम्ब्याउन सकिँदो रहेछ । यो कुरा प्रा.डा. मुरलीगोपाल रञ्जितद्वारा लिखित ‘क्यान्सरसँगको लडाइँ’ शीर्षक किताब पढ्दा थाहा हुन्छ । किताबका स्रष्टा आफैँ प्रोस्टेटका अर्बुदरोगी हुन् । प्रा.डा. रञ्जित आफूलाई क्यान्सर रोग लागेपछि त्यही जुक्ति अपनाएर नौ वर्षदेखि रोगसँग लडिरहेका छन् । झ्वाट्ट हेर्दा उनी क्यान्सर रोगबाट पीडित हुन् भन्ने पत्याउनै सकिन्न । साठी वर्षको उमेर पुग्दा उनका शरीरमा क्यान्सरका जीवाणु फैलिएको पत्ता लाग्यो । त्यसपछि उनी उपचारमा लागे । उपचारका क्रममा भेटिएका उनीजस्तै अन्य धेरैजसो क्यान्सररोगी यस संसारबाट बिदा भइसके पनि उनी भने अझै हृष्टपुष्ट नै देखिन्छन् । यही विषयलाई उनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘क्यान्सरसँगको लडाइँ लड्नका लागि उपयुक्त अस्पताल, उपयुक्त चिकित्सक र उपयुक्त उपचार विधि अपनाउनुपर्छ । यो रोगको ठूलो उपचार आत्मबल रहेछ ।’

लेखकले खण्ड १ अन्तर्गत आफू स्वयम्का क्यान्सरसँगको लडाइँका व्यक्तिगत अनुभव, खण्ड २ मा क्यान्सरबारे सामान्य जानकारी र खण्ड ३ मा सहयोद्धाको भावना मूल शीर्षक राखी विभिन्न उपशीर्षकमा विस्तृत चर्चा गरेका छन् । लेखकले आफूलाई क्यान्सर लागेको कुरा सेवानिवृत्त भएको दुई वर्षपछि परीक्षण गर्दा पत्ता लागेको लेखेका छन् । रोग लागेको थाहा पाएपछि केही डराए पनि उनले परिवारमा रोगको उपचार राम्ररी हुने बताएर आफ्नो साहस र आत्मबल प्रस्तुत गरेका छन् ।

त्यसपछि उनी भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा जान्छन् । परीक्षणबाट उनको शरीरमा क्यान्सरको जीवाणु चौथो चरणमा गई हड्डीसम्मै फैलिसकेकाले रोबोटिक शल्यक्रिया तत्काल हुँदैन । सुरुमा अण्डकोशको शल्यक्रिया गरिन्छ र त्यसपछि किमोथेरापी गरिन्छ । लामो समय किमोथेरापी गरी उपचार गर्दा बिरामीका मनमा धेरै किसिमका विचार आउँछन् । ‘मैले राम्रा विचारलाई अनुशरण गर्ने र नराम्रा विचारलाई बिर्सन थालेको थिएँ’ भनी आफूले सकारात्मक पथमा हिँड्ने प्रणको सुरुवात गरेको लेखेका छन् ।

‘म र श्रीमती सकिला बिहान सबेरै उठ्ने, नुहाई–धुवाई गरेर मर्निङ वाक गर्ने, मन्दिर दर्शन गर्न जाने, दिनभरि चाहिने सामान खरिद गरेर ल्याउने गथ्र्याैँ । सधैँ दुध किन्ने गरेको पसलका साहुजीले मलाई हेरेर ‘बिमारी कौन है ?’ भनेर सोधेको र मेरो तगडापन देखेर तपाईंको शरीरबाट क्यान्सर हटिसक्यो भनेर दाबी गर्थे र नेपाल आउँदा यहाँको डाक्टरले पनि त्यस्तै भन्दा आफ्नो आत्मबल झन् बढेको थियो,’ लेखकले लेखेका छन् । लेखकले आफू बिरामी हुँदा आफूले सँगै पढेका, सँगै काम गरेका साथीभाइ तथा संस्थाका मित्रहरूको शुभकामना र भेटघाटले पनि आफूलाई रोगसँग लड्न सजिलो भएको उल्लेख गरेका छन् । उनले पुस्तकका विभिन्न हरफमा भनेका छन्, ‘क्यान्सरसँग लड्नका लागि ‘आत्मबल, निराश नहुने, स्वच्छ वातावरण, नियमित व्यायाम र उपयुक्त खानेकुरालाई निरन्तरता दिनुपर्छ । तर, गलत विधिबाट उपचार गर्न हुँदैन ।’

अन्य उपचार पद्धतिभन्दा एलोपेथिक उपचार पद्धतिलाई लेखककले उपयुक्त विधि भएको जनाएका छन् । उनीसँगै एलोपेथिक विधिबाट उपचार गरिरहेका अन्य बिरामीको अस्पताल छाडेर गई अन्य विधिबाट उपचार गर्दा यसअघि नै निधन भइसकेको लेखकले आफ्नो पुस्तकमा लेखेका छन् । लेखकका अनुसार ‘क्यान्सर उपचारमा मुख्यतः चारवटा कुरामा ध्यान दिनुपर्छ– तन, मन, धन र व्यवस्थापन ।’ यो रोग उपचारको दृष्टिकोणले लामो समय लाग्ने र खर्चिलो भएको हुनाले शरीर फुर्तिलो बनाइराख्नुपर्ने, धन÷रुपैयाँ पैसा चाहिएको बेला खर्च गर्न सकिने हुनुपर्ने महत्वपूर्ण अनुभवसहितको सल्लाह पनि पुस्तकमा पाइन्छ ।

लेखक पेसाले इन्जिनियर हुन् । ३८ वर्ष नेपाल सरकारको कर्मचारी भएर काम गरेको उनीसित अनुभव छ । सहसचिवबाट सेवानिवृत्त उनले जागिरका दौरान तराई–मधेश, पहाड, हिमाल र विभिन्न जिल्लामा कार्य गरेको अनुभव सँगालेका छन् । सिभिल इन्जिनियरिङ विषयको अध्ययनसँगै समाजशास्त्रमा एमए र वातावरण व्यवस्थापनमा विद्यावारिधिसम्म अध्ययन गरेका उनी पढ्न र पढाउनमा कहिल्यै थाकेका छैनन् । सेवानिवृत्तपछि पनि उनले नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणमा प्राध्यापक भई र अन्य विश्वविद्यालयमा समेत आबद्ध भई प्राध्यापन कार्यलाई निरन्तरता दिँदै आएको देखिन्छ ।

प्रा.डा. रञ्जितसँग मेरो भेट ०४५ सालमा भएको हो । उनी रसुवा जिल्लाको खानेपानी कार्यालयको हाकिम भएर आएका रहेछन् । बिदाको दिन घुम्दै हाम्रो गाउँ ठूलोभार्खुमा आएका रहेछन् । मेरा बुबाआमाले किराना र नास्ता पसल राखेका थिए । उनी नास्ता खान आउँदा बुबासँग चिनजान भएको रहेछ । म १० कक्षामा पढ्थँे । उनी कहिलेकाहीँ बुबाआमालाई भेट्न आइरहन्थे । उनी सरुवा भएर जानुअघि पनि बुबाआमालाई भेट्न घरमा आएका थिए । बुबाले उनलाई कुकुरको छाउरा कोसेली दिनुभयो । ०४८ को कात्तिकमा कान्छी दिदी काठमाडौं जाँदा उनीसँग भेट भएको रहेछ । बुबाआमालाई के छ भनी उनले सोध्दा ‘बुबा बित्नुभयो’ भनेपछि उनी धेरै दुःखी भएछन् र भनेछन्, ‘किप्पा बहिनी, तिम्रो बुबाले तिम्रो भाइलाई क्याम्पस पढाउने कुरा गर्नुभएको थियो । म उसका लागि काम खोजी दिनेछु । भाइलाई काठमाडौं पठाउनू ।’ घरमा हाम्रो सल्लाह भयो । म पढ्न भनी काठमाडौं आएँ । उनले मलाई आफ्नै घरमा राखे । नयाँ सडकको रञ्जना गल्लीको जुत्ता होलसेल पसलमा काम मिलाइदिए । करिब एक वर्ष उनकै घरमा बसियो । मलाई काठमाडौं प्रवेश गराउने असल हृदयका मानिसलाई क्यान्सर लागेको सुन्दा दुःखी भएको छु । जीवनको उत्तराद्र्धमा सबै मानिस निरोग हुन सक्दैनन् । कुनै न कुनै रोगले समातिहाल्छ । तथापि अलि बढी आयु बाँच्ने रहर सबैको हुन्छ । उनको त्यो इच्छा पूरा होस् भन्ने कामना गर्छु ।

ठूलोभार्खु, रसुवा

phurpatamang10@gmail.com