पदमार्ग निर्माणले लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

  • त्रिशूली प्रवाह
  • १४ असार २०८१, बिहीबार १२:२४

शिवपुरी, गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीमा फसिने जोखिम हुन्थ्यो । भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथे । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै, यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौं, विदुर वा अन्य सहरका उकुस–मुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कल–झुक्कल गाउँ बस्ने र अरू बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् । गाउँलेको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो । खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरू असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नवप्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारिपारि डाँडाकाँडा गुञ्जयमान त भएकै थियो । झरना र दहमा पुग्नेले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए । ‘त्यस्तो भिरमा के लगानी गरेका होलान् ?’ शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढी निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का साबित भएका छन् ।

शिवपुरी गाउँपालिका–८ र ककनी गाउँपालिका–५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौं–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौं–टोखा–छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौं–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । वन र भिरको बीचभागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ । नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्काे लागेको थियो । सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवद्र्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौंबाट माथिल्लो ढोडिनीसम्मको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा–छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

‘शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, कृति, पर्यटन र पूर्वाधार’को नारा साथ कार्यरत गाउँपालिकाका अध्यक्ष थपलियाले कृषि पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा आफूहरूले योजनाबद्ध रूपमा काम गरिरहेकाले छहरे झरना क्षेत्रमा थालनी भएको पूर्वाधार विकासलाई त्यही रूपमा बुझ्न आग्रह गरे । उनले झरनामा पर्यटक आउन थालेपछि स्थानीय रूपमा घरवासलगायत अन्य व्यवसाय सञ्चालन आउने र स्थानीय उत्पादनले बजार पनि पाउने भएकाले अनेक दुःख, कष्ट सहेर पनि स्थानीयवासीको समृद्धिको चाहनालाई पूरा गर्न लागिपर्ने अठोट व्यक्त गरे । सोही गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले शिवपुरीको समृद्धिको एउटा आधार पर्यटन हो भन्ने पहिचान गरेर आपूmहरूले पूर्वाधार विकासको काम आरम्भ गरेको बताए । गाउँपालिका–८ का अध्यक्ष केशव रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ््गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्यान्ड’ बनाउनेलगायत योजना रहेको सुनाए । उनका अनुसार पदमार्ग र विश्रामस्थल निर्माणका लागि गाउँपालिकाको पाँच लाख, वडाको दुई लाख, नेपाल पर्यटन बोर्डको १७ लाख र प्रधानमन्त्री स्वरोजगार कोषको आठ लाख गरी करिब ३० लाख लागत रहेको छ ।

छहरे झरना पर्या–पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष गोपाल सिलवाल गाउँपालिकाको नेतृत्व र स्थानीयवासीको श्रमदानबाट झरनासम्मका लागि पदमार्ग र विश्रामस्थल बनेकाले अब आन्तरिक र बाह्य पर्यटक नियमित भित्र्याउन घरवास र रिसोर्ट सञ्चालनको योजना अघि बढाइने बताउँछन् । स्थानीय राजनीतिकर्मी राजेन्द्र वलीले पर्यटन पूर्वाधारको विकासमा सबैको साथ रहने बताउँदै लौके झरनामा स्वदेशी र विदेशी पर्यटक ल्याउन लागिपर्ने जनाए । उक्त झरनामा क्यानोनिङको थालनीमा भूमिका निर्वाह गर्ने स्थानीयवासी हरि सिलवाल क्यानेनिङ महोत्सवलाई निरन्तरता दिन सकिए आन्तरिक र बाह्य पर्यटक स्वतः बढ्ने बताउँछन् । नुवाकोटको दक्षिण–पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साबिकका तलाखु, छाप, लिखु, सिक्रे, महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गाविस समावेश गरी बनेको हो । समुद्री सतहको ६ सय २९ मिटरदेखि दुई हजार पाँच सय २० मिटरको उचाइमा रहेको गाउँपालिकाको केन्द्र सेराबगर जिल्ला सदरमुकाम विदुरबाट ३० किलोमिटर र सङ्घीय राजधानी काठमाडौंबाट ४० किलोमिटर सडकको दूरीमा रहेको छ । विदुर र काठमाडौंको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे (लौके) झरना पर्यटकीय प्रचुर सम्भावना बोकेको स्थल हुन पुगेको छ । परापूर्वकालमा भगवान् शिवले क्रीडा गरेको मानिएको यस भूमिमा शिवको आराधना र तपस्याका लागि ऋषि, महर्षि र तपस्वी आउने गरेका जनविश्वास छ । शिवको बसोवास ठानिएको यो धार्मिक महत्वको क्षेत्रलाई शिवपुरी भनिने गरिएको छ । यो गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ ।