
- सरस्वती न्यौपाने
धुन्चे, हिमाली जिल्ला रसुवा पर्यटकीय क्षेत्र मात्र नभई पछिल्लो समय चौँरीपालन व्यवसायको समेत हब बनेको छ । दुःखअनुसारको आम्दानी रहेको कृषक बताउँछन् । जिल्लाभर चौँरी गोठ एक सय १३ वटा रहेका छन् भने कृषक एक सय ५० जना रहेका छन् । लाङटाङ, वृद्धिम, गत्लाङ, थुमन, टिमुरे, धुन्चे, राम्चे, भार्खु, यार्सा, सिङवेन्दीलगायतका थुप्रै ठाउँमा चौँरी पाल्ने कृषकले मिहिनेत गरिरहेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका चौँरीपालक कृषक पासाङ शेर्पा बताउँछन्, ‘बाउबाजेको कामलाई सम्हाल्दै आफूले पनि त्यही कामलाई समालेको छु, तीन वर्ष मलेसिया बसेँ, त्यहाँ बसेर केही उपलब्धि नहुने देखेपछि आफ्नो गाउँमा नै चौँरीपालन व्यवसायलाई अगाडि बढाएर विदेशमा गर्ने दुःख यहीँ गरिरहेको छु, अहिले ६० वटा चौँरी छन् ।’ वार्षिक २५ लाख कमाइ हुन्छ । मलेसिया बस्दा तीन वर्षमा ८० हजार मात्र जोगिएको थियो । साबिकको यार्सा गाविस–५ हाल नौकुण्ड गाउँपालिका–१ यार्सा सिङवेन्दीका सूर्यबहादुर थोक्रा पनि चौँरीपालक कृषक हुन् । उनका ४० वटा चौँरी रहेका छन् र गोरू दुईवटा रहेका छन् । उनको सबै खर्च कटाएर वार्षिक पाँच लाख कमाइ हुन्छ । गाईवस्तुमा रोग लागेर कति मरे कति बाँचे तैपनि सन्तुष्ट रहेको उनी बताउँछन् । नौकुण्डभरि चौँरीपालक कृषक ४८ रहेका छन् । बाबुले गरेको पेसालाई निरन्तरता दिएको उनी बताउँछन् । ‘खासै पढाइ त छैन, तैपनि कसैले झुक्याउन सक्दैन र पढेका मान्छे भन्दा माथि नै छु,’ उनी भन्छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ बोकेकुण्डका दीपक तामाङका पनि ३० वटा याक गाई र एउटा याक रहेको छ । उनको चौँरी उत्पादन गर्ने हिमालयन पशुपन्छी फर्म रहेको छ । उनी पनि आम्दानी राम्रो रहेको बताउँछन् । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका हाक्पा ग्याल्मो तामाङ, दावा छेन्जोम तामाङ, कर्साङ ग्याल्मो तामाङ धुन्चेका यो याङमो घलेसहित नौजनाको टिम मिलेर रसुवा याक चौँरीपालक कृषक संस्था दर्ता गरेका छन् । उनीहरूको संस्थामा २६ वटा चौँरी रहेका छन् ।
सदरमुकाम धुन्चेमा व्यावसायिक चौँरीपालन एकहप्ते कृषकस्तरीय तालिममा आएका कृषकलाई आ.व. ०८०/८१ को वैशाख २३ देखि २८ गतेसम्म २१ जना कृषकलाई पशुसेवा तालिम केन्द्र बागमती प्रदेश लगनखेल ललितपुरले दिएको थियो । कृषकमा थप निखारता ल्याई चौँरीपालन बढी फस्टाओस् भन्ने उद्देश्यले तालिम दिइएको प्रशिक्षक रामचन्द्र देवकोटाले बताए । रसुवा जिल्ला पर्यटक र चौँरीपालनको जिल्ला भएकाले यस व्यवसायलाई हराउन नदिई अझै फराकिलो बनाउँदै लैजाने कृषक सेदारग्याल्वो घले बताउँछन् । हामीले ज्ञानबद्र्धक तालिम पायौँ । यो तालिमबाट धेरै कुरा सिक्न पायौँ । यसलाई व्यवहारमा उतारेर अझै राम्रो बनाउने अर्का कृषक नाम्सी ग्याल्बो घले बताउँछन् ।