अर्थतन्त्र धराशायी हुनुमा नेपालको शिक्षा प्रणाली पनि दोषी छ : प्राचार्य अधिकारी

  • त्रिशूली प्रवाह
  • २१ असार २०८१, बिहीबार १५:०५

राजेन्द्र अधिकारी,

प्राचार्य,

नवोदित कलेज


एसइईको नतिजामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भए । अहिलेको एसइईको नतिजाले कस्तो सन्देश दिन्छ ?
सर्वप्रथम त एसइई उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई दिन चाहन्छु । यसमा करिब दुई लाख ४० हजारभन्दा बढी विद्यार्थी सुरुमा ननग्रेडिङ र मौका परीक्षा हुँदै मन्त्रिपरिषद्को निर्णयले फेरि सबै विषयको परीक्षा दिन पाउने निर्णय गरेको छ । पद्धतिको हिसाबले यसलाई गलत रूपले व्याख्या गरेको छ । तर, यसले अनुत्तीर्ण हुने विद्यार्थीलाई राहत मिलेको छ । देशको शिक्षा सुधार्न विद्यालयमा शिक्षकले राम्रो पढाएर मात्र हुँदैन । यो सम्पूर्ण राष्ट्रको दायित्वभित्र पर्छ । नेपालको सन्दर्भमा त्यो देखिएको छैन जस्तो लाग्छ । राष्ट्रिय शिक्षा ऐन, २०२८ यता अहिले पनि विचाराधीन छ । यो ल्याउन नसक्नु पनि वास्तवमा आज हाम्रो शिक्षाको गुणस्तर खस्किएको हो ।
कोरोनापछाडि विद्यार्थीमा हामी अनुत्तीर्ण हुन्छौँ भन्ने छाप पनि परेको थिएन । सरकारी विद्यालयका +२ तहमा अझै पनि दरबन्दीको व्यवस्था छैन । माध्यमिक तहमा पनि निमावि तहले मावि सञ्चालन गर्नुपरेको अवस्था छ । त्यसले सरकारले शिक्षामा बजेट सुधार गरेर आवश्यक शिक्षक सङ्ख्याको दरबन्दी कायम गर्ने, गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई तालिमको व्यवस्था गर्ने, विद्यालयलाई आत्मनिर्भर बनाउने गर्नुपर्छ । यी कुराको सन्तुलन मिल्न गएमा सामुदायिक विद्यालयको नतिजा पनि उत्कृष्ट हुन्छ कि जस्तो मलाई लाग्छ । शिक्षा प्रणालीका केही कमी–कमजोरीहरू छन् । आगामी दिनमा यसलाई सुधारेर लैजानुको विकल्प छैन ।

परीक्षाको परिणाम हेर्दा यसले त शिक्षा प्रणाली खस्किएको जस्तो देखाउँछ नि ?
गत वर्षको मूल्याङ्कन प्रणाली र यो प्रणालीमा व्यापक भिन्नता छ । किनभने गत वर्ष कुनै पनि विद्यार्थीको जिपिए १.६ एग्रिग्रेड हुनेबित्तिकै त्यो विद्यार्थीले विज्ञान सङ्कायसमेत पढ्न पाउँथे । त्यसमा के थियो भने व्यावहारिक र सैद्धान्तिक जोडेर नम्बर आउने गथ्र्यो । त्यसैले लेटर ग्रेडिङ प्रणालीको ०७८ मा राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको निर्देशिका गत वर्ष पालना गरेको भए गत वर्ष पनि धेरै विद्यार्थी ननग्रेडमा जान्थे । त्यसैले नतिजा त उस्ताउस्तै हो जस्तो लाग्छ । ११ पढेका मात्रै हुन् । शैक्षिक गुणस्तरको कुरा गर्ने हो भने गत वर्ष र अहिले खासै परिवर्तन छैन । खस्किएजस्तो लाग्दैन । नतिजा निकाल्दा नीति परिवर्तन भएको मात्र हो ।

नवोदित कलेजलाई विद्यार्थीले किन रोज्ने ?
अब नवोदित कलेजको कुरा गर्दा यहाँ मन्टेस्वरीदेखि मास्टर्ससम्म पढाइ हुन्छ । एसइईकै कुरा गर्ने हो भने २९ जना विद्यार्थीमा २० जनाले ए प्लस र नौजनाले ए ल्याए । विगत १८ वर्षदेखि यस संस्थामा प्राचार्यको रूपमा कार्यरत छु । मेरै कार्यकालमा सात हजारभन्दा बढी विद्यार्थीले नवोदितबाट +२ पास गरिसकेका छन् । करिब एक हजार पाँच सय विद्यार्थीले स्नातक तहको परीक्षा उत्तीर्ण गरिसकेका छन् । दुई सयभन्दा बढी विद्यार्थीलाई एमबिएस उत्तीर्ण गराइसकेका छौँ । पूर्वप्राथमिक तहदेखि स्नातकोत्तरसम्म अध्यापन गराउँदै गर्दाखेरि नवोदित कलेज गुणस्तरीय, सर्वसुलभ, पारिवारिक वातावरणमा अनुभवी शिक्षकहरूले अध्यापन गराउने कलेज हो । जहाँ कक्षा ११ मा व्यवस्थापन, कानुन, विज्ञानजस्ता सङ्कायहरूमा अध्यापन गराइन्छ । स्नातक तहमा बिबिएस, बिए, बिएसडब्लू, साइकोलोजी, मेजर इंग्लिस, जर्नालिजमजस्ता विषयको पढाइ हुन्छ । स्नातकोत्तरमा एमबिएस तहको अध्यापन गराउँछौँ ।

अहिले विद्यार्थी विदेश पढ्न जाने क्रम बढिरहेको छ । यस्तो अवस्थामा नेपालमै बस्ने र यहीँ केही सीप सिकेर काम गर्ने खालको वातावरण बनाउन के गर्नुपर्ला ?
शिक्षा प्रणालीकै कुरा गर्ने हो भने कक्षा १० मा विद्यार्थीलाई अनुत्तीर्ण गराएर खासै अर्थ छैन । नौ कक्षा विद्यालयले सञ्चालन गर्न हुने १० कक्षा किन नहुने भन्ने प्रश्न आज आमनागरिकले उठाउन थालिसकेका छन् । अब बन्ने शिक्षा ऐनले त्यसलाई कसरी जोड्छ । त्यो हेर्न बाँकी छ । त्यसैले १० कक्षासम्मको शिक्षालाई विद्यालय तहमा दिने र ११ विद्यालयले नै मूल्याङ्कन गर्ने पद्धति छ । १२ कक्षालाई सङ्घीय सरकारमा लैजाने र ११–१२ मा यस्तो शिक्षा प्रणाली कायम गराउने कि जहाँ विद्यार्थीले सीप सिकेर जाओस् । भोलि १२ कक्षाको परीक्षा अनुत्तीर्ण हुँदा पनि उससँग सीप होस् ।
विद्यार्थीलाई पनि आफ्नो रुचिको विषय पढ्न आग्रह गर्छु । गुणस्तरीय सीप सिकेर म यही देशमा केही काम गर्छु भन्ने भावना राखे पक्कै पनि हाम्रो देशमा पनि सीप–ज्ञान आर्जन गरेर देशको विकासमा उनीहरूलाई लगाउन सकिन्छ । राज्यले पनि +२ पास गरेका विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराएर, तालिम दिएर यहीँ टिकाउने माध्यम बनाउनुपर्छ । नेपालमा जलस्रोत र पर्यटनमा ठूलो सम्भावना छ ।

अधिकांश कलेजमा विद्यार्थी घट्दै गइरहेका छन् । लगानी जोखिम परेको हो ?
करिब पाँच वर्षयता विद्यार्थीमा प्लस टु पास गरेपछि यो देशमा बस्नुको अर्थ छैन भने भाष्य निर्माण भएको छ । त्यसैले यसको शुद्धीकरण राजनीतिक दलबाट आउनुप¥यो । सरकारमा स्थिरता छैन । भ्रष्टाचार बढेकोबढ्यै छ । यसले विद्यार्थीको मनस्थितिमा कस्तो असर गर्ला ? राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार निर्मूल हुनुप¥यो र युवाहरूको सम्भावना हुनुप¥यो । राज्यले विद्यार्थीमा सकारात्मक दृष्टिकोण जगाइदिने हो भने युवालाई यहीँ राख्न सकिन्छ । उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ ।
हाम्रो शिक्षा प्रणालीमा सुधार नगरेसम्म पलायन हुने क्रम रोकिँदैन जस्तो लाग्छ ।