![](https://trishuliprawaha.com.np/wp-content/uploads/2024/07/TP-20-Asar-13-Anka-FINAL-final_page-0005.jpg)
अशोकराज पाण्डे,
सञ्चालक,
हेराल्ड कलेज
काठमाडौंको बसुन्धरामा अवस्थित हेराल्ड इन्टरनेसनल कलेज परिचित नाम हो । विद्यार्थीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोर्सहरू अध्यापन गराउने यस कलेजले गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान प्रदान गर्दै आइरहेको छ । कलेज भौतिक पूर्वाधारले मात्र सुविधासम्पन्न छैन, अनुभवी र दक्ष शिक्षकहरूले भरिपूर्ण छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत साता मात्र एसइईको परीक्षाफल सार्वजनिक गरेको छ । एसइईको परीक्षाफल सार्वजनिक भएसँगै विभिन्न शैक्षिक संस्थानहरू विद्यार्थी तान्ने होडमा छन् । हामीले एसइईको नतिजा, हेराल्ड कलेजले उच्च शिक्षाका लागि गरिरहेको पहल र उच्च शिक्षाका लागि यो कलेज नै किन रोज्ने भन्ने सन्दर्भमा कलेजका सञ्चालक अशोकराज पाण्डेसँग कुराकानी गरेका छौँ ।प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
यस वर्षको एसइईको नतिजामा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । नेपालको शिक्षा प्रणाली खस्किँदै गएको हो ?
शिक्षा क्षेत्र नै खस्कियो भन्नचाहिँ मिल्दैन । तर, सामुदायिक र संस्थागत विद्यालयको सेक्रिगेट गर्नुप¥यो । समग्रमा खस्किएको होइन । सामुदायिक विद्यालयहरूको चाहिँ धेरै खस्किएको हो ।
के हुन्छ भने कापी चेक गर्ने ट्रेन्ड, पास गर्ने ट्रेन्ड, कति आयो भन्ने उत्तीर्ण गर्ने हिजो र आजको दिनमा परिवर्तन हुँदै आएको छ । त्यसैले पनि प्रतिशतमा परिवर्तन भएको देखिएको हो ।
सरकारको लगानीका विद्यालयको शिक्षा कमजोर बन्दै छ भन्न खोज्नुभएको हो ?
यही नै हो भनेर आधिकारिक डाटा त आइसकेको छैन । अनुत्तीर्णमध्ये झन्डै ८० प्रतिशत सामुदायिक विद्यालयका छन् भन्ने अनुमानित डाटाचाहिँ आएको छ । दुई–तीन वर्ष अगाडिको भन्दा अहिले कापी जाँच गर्ने ट्रेन्ड परिवर्तन भयो । ती वर्षहरूमा जस्तै जाँच गरिन्थ्यो भने नतिजा पनि ५० प्रतिशतभन्दा माथि नै आउँथ्यो होला ।
विद्यार्थीले हेराल्ड कलेजलाई किन रोज्ने ? के छ विशेषता ?
दुई–तीनवटा कुरा छ । पहिलो त हाम्रोमा गुणस्तरीय शिक्षा र नतिजा हो । हिजोको दिनमा यहाँबाट पढेर गएका भाइबहिनीहरू एमबिबिएस, इन्जिनियरिङ, प्राविधिक विषय, व्यवस्थापनतर्फ बैंकिङ, संस्थागत क्षेत्रमा ठूलो फड्को मारेका छन् । अर्को कुरा काठमाडौंको ठाउँमा पनि हामीले राम्रो वातावरणमा रहेर शिक्षा प्रदान गरिरहेका छौँ । अर्को भनेको हाम्रो कलेज उच्च वातावरणमैत्री, भूकम्प प्रतिरोधी भवन छन् । जसले हामीलाई धेरै साथ दिएको छ । हाम्रोमा आपत्कालीन द्वार नै ६–७ वटा छन् । मुख्य त हाम्रो अनुभवी शिक्षकद्वारा शिक्षण गर्ने प्रणाली नै हो । हामीसँग वर्षौँदेखि पढाइराख्नुभएको शिक्षकहरू हुनुहुन्छ । र, नतिजा पनि राम्रो दिन्छौँ ।
यहाँ कुन तहसम्म पढाइ हुन्छ ? यहाँ पढ्न चाहने विद्यार्थीले कुन–कुन विषय पढ्न पाउँछन् ?
हाम्रो यहाँ मन्टेस्वरीदेखि स्नातकोत्तरसम्म पढाइ हुन्छ । ११–१२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, यो वर्षबाट हामीले फेसन डिजाइनिङ र स्वास्थ्य विषय पनि ल्याएका छौँ । स्नातकमा बिबिएस, बिएसडब्लू, बिबिए, ट्राभल्स एन्ड टुरिजम, बिसिए छन् । स्नातकोत्तरमा यो वर्षबाट हेल्थ केयर म्यानेजमेन्ट थप गरेका छौँ ।
पछिल्लो समय विद्यार्थी प्लस टु उत्तीर्ण गर्नेबित्तिकै बिदेसिने क्रम बढेको छ । देशको जनशक्ति बाहिरिने क्रम बढिरहेको छ । कस्तो खालको शिक्षा दियौँ भने उनीहरूलाई रोक्न सकिन्छ ?
हामीले यसलाई धेरै धारणाबाट सोच्नुपर्छ । पहिलो कुरा शिक्षा भने प्राविधिक शिक्षा हो । सरकारले शिक्षा सँगसँगै उनीहरूलाई आम्दानी गर्ने स्रोतहरू सुरक्षित गरिदिनुपर्छ । यहाँ प्लस टु सकाएर विदेश जाँदा उनीहरू पढ्दै कमाउँदै गर्न सक्छन् । तर, नेपालमा रोजगारका माध्यमहरू खुला छैनन् । दिगो छैन । अर्को भनेको हाम्रो महत्वाकाङ्क्षी सोचले गर्दा पनि हो ।
हेराल्ड कलेजको शुल्क सर्वसुलभ छ कि छैन ? छात्रवृत्तिका सुविधाहरू के–कस्ता छन् ?
हाम्रोमा जिपिएअनुसारको छात्रवृत्ति छ । ४ जिपिए ल्याउने विद्यार्थीलाई सबै कुरामा छुट छ । उनीहरूले एक रुपैयाँ पनि तिर्नुपर्दैन । जिपिएअनुसार छात्रवृत्ति प्रदान गरिरहेका छौँ । अर्को कुरा, सरकारी विद्यालय पढेको, गरिब, जेहेनदार विद्यार्थीका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । हामीले अभ्यासमुखी शिक्षालाई जोड दिएका छौँ ।