एसइईमा अनुत्तीर्णका लागि साउन २३ देखि मौका परीक्षा

  • त्रिशूली प्रवाह
  • २६ असार २०८१, मंगलवार १३:१५

विदुर, राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार माध्यमिक शिक्षा परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन हुने भएको छ ।

गत २०८० साल चैत १५ गतेदेखि सञ्चालित एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित सबै परीक्षार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्ने तालिका बोर्डले सार्वजनिक गरेको छ । सार्वजनिक भएको परीक्षा तालिकानुसार साउन २३ गते बुधबार अनिवार्य अङ्ग्रेजी, २४ गते बिहीबार अनिवार्य नेपाली, २५ गते शुक्रबार अनिवार्य विज्ञान, २७ गते आइतबार अनिवार्य सामाजिक, २८ गते सोमबार ऐच्छिक विषयको प्रथमपत्र र २९ गते मङ्गलबार ऐच्छिक द्वितीय पत्रको परीक्षा सञ्चालन गरिने छ । नुवाकोटमा दुई हजार एक सय ९९ विद्यार्थी अनुत्तीर्ण छन् । फेल भएका विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत साउन १६ गतेसम्म आवेदन फाराम भर्नुपर्नेछ । धादिङबाट दुई हजार पाँच सय ३४ र रसुवाबाट चार सय ६ विद्यार्थी अनुत्तीर्ण छन् । दुई जिल्लाबाट अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।