एसइईपछि शिक्षण संस्था कस्तो रोज्ने ?

  • त्रिशूली प्रवाह
  • २८ असार २०८१, बिहीबार १४:२२
  • बाबुकाजी कार्की

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुुन विषय, किन, कहाँ, कसरी पढ्नेबारे विद्यार्थी र अभिभावकबीच अहिले खुल्दुली भइरहेको छ । एसइईपछिको पढाइ व्यवस्थापनलाई भविष्यदर्शी बनाउन अभिभावक, शिक्षण संस्था र सरकारी निकायको भरपर्दो र दूरदर्शी सोच र सल्लाह महत्वपूर्ण रहन्छ । अल्लारे उमेरका विद्यार्थीले लहलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘ओल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएको धेरै उदाहरण छन् । त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरोकार पक्षले कञ्जुस्याइँ गर्नुहुँदैन ।

विश्व श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आज हरेक क्षेत्रमा अवसर र चुनौती थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनोट होस पु¥याएर गर्नु आवश्यक छ । कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभवीको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ । विद्यार्थीको चाहनाअनुसारको पठन–पाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकको चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ । गुणस्तरीय पठन–पाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? सरोकार एवम् सरोकार पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न चुक्नुहुन्न । जस्तो, प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निर्णय र निष्कर्षमा पुग्नुपर्दछ ।

विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको र प्राप्त गरेको नतिजासमेतको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्दछ । तसर्थ विषय रोज्दा आफ्नो रुचि र क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधायोग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्दछ । भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताबारे यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हो ।

अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासमेतका अप्रिय घटना हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होऊन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धिको पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै, एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचार–प्रसारको वास्तविक धरातलसमेतको स्थलगत अध्ययन–अवलोकन गरेर मात्र शिक्षण संस्था छनोट गरेका खण्डमा पछि पछुताउनुनपर्ला ।

शिक्षा प्रदान गर्ने सामाजिक एवम् परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रूपमा इमानदारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संसाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयम्का लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति–नियमलाई इमानदारीपूर्वक अनुशरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्था निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छन् । एसइई पास भएका सबै विद्यार्थीलाई शिक्षा प्रदान गर्दा देशको आवश्यकता र उनीहरूको चाहना तथा क्षमताअनुसार दूरदर्शी नीति बनाएर लागू गरिनुपर्दछ । गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था राज्य, शिक्षण संस्थाका साथै अन्य सरकारी तथा गैरसरकारी र राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न संस्थाबाट प्रदान गरिने छात्रवृत्तिबारेको यथार्थ जानकारी सहज रूपमा सबैले जानकारी पाउने व्यवस्था गरिनुपर्दछ ।

भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ । देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन–अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त÷दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति–नियम अपरिहार्य हुन्छ । अर्कोतर्फ उमाविको सङ्ख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने हुन्छ । तोकिएको सर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन हुनुपर्छ । शुल्कको पारदर्शिता एवम् औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । विद्यालयको सबै पक्षको पारदर्शिताबारे राज्य र स्वयम् सेवाग्राही चनाखो हुनुपर्छ । साधनस्रोतको पर्याप्तता तथा तिनीहरूको अधिकतम उपयोगका साथै वस्तुनिष्ठ अनुगमन निरीक्षणको आधारमा पुरस्कार र दण्डको व्यवस्थाले एसएलसी पार गरेका लाखौँ विद्यार्थीलाई विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने पौरखी जनशक्ति उत्पादन गर्न टेवा पुग्नेछ । गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि भविष्यदर्शी शैक्षिक योजना, समसामयिक उन्नत पाठ्यक्रम, पेसाप्रति जवाफदेही योग्य शिक्षक, कुशल शैक्षिक नेतृत्व, उत्साही एवम् निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधन र सहयोगी सरकारी निकाय आधारभूत सर्त हुन् ।

(लेखक कार्की नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।)