निर्मला शाक्य,
प्राचार्य,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
विगत ३२ वर्षदेखि अध्यापन क्षेत्रमा आबद्ध निर्मला शाक्य अहिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हाँकिरहेकी छिन् । काठमाडौं महानगरपालिका– १२ टेकुमा जन्मिएकी उनी ०७१ सालदेखि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन हेरिरहेकी छिन् अर्थात् प्राचार्य हुन् । महेन्द्र क्याम्पसबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेकी शाक्य लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रूपमा आबद्ध छिन् । उनै शाक्यसँग पछिल्लो शिक्षा क्षेत्रको अवस्थाबारे विविध कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सङ्क्षिप्त अंश :
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयदेखि एनआर कलेजसम्म छ । माध्यमिक विद्यालय र एनआर कलेज फरक हो ?
एनआरको सुरुमा त स्कुल नै चलाएको हो । हामीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नै सञ्चालनमा ल्याएका हौँ । यहाँ नर्सरीदेखि स्नातकोत्तरसम्म पढाइ हुन्छ । तर, स्कुल र कलेजचाहिँ फरक हो । अहिले कानुनी रूपमा अलग छौँ । प्रशासन, बोर्ड सबै नै फरक छ । यो अहिले नितान्त दुईवटा संस्था नै हो ।
एनआर स्कुलले कस्तो शिक्षा दिइरहेको छ ?
सकेसम्म राम्रै गरिरहेका छौँ । हाम्रा विद्यार्थीले तीनवटा कुरा गर्न सकून् – खल्तीमा दाम, समाजमा नाम र जहाँ गए पनि काम । यही अपेक्षा राखेर हामीले शिक्षा दिइरहेका छौँ । हाम्रा विद्यार्थीले राम्रै गरिरहेका छन् । एसइईमा कमजोर विद्यार्थीले पनि १२ सकाएपछि प्रगति गरिरहेकै छन् ।
केही समयअघि मात्र एसइईको नतिजा सार्वजनिक भयो । करिब ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए । यसले शिक्षाको नतिजा खस्किएको सङ्केत गरेको हो ?
शिक्षाको अवस्था खस्किएको भन्दा पनि यो सिस्टमले ल्याएको समस्या हो । पछिल्लो समय सरकारी स्कुलको प्रगति राम्रो छ । काठमाडौं तारकेश्वर नगरपालिकाकै हेर्ने हो भने पनि सरकारी स्कुलको नतिजा एकदमै राम्रो छ । धेरै स्कुलले ९० प्रतिशत भन्दा माथिको नतिजा ल्याएका छन् । काठमाडौं भ्यालीबाहिर त खस्किएको पनि होला । सरकारी स्कुलहरूमा समस्या पनि छन् ।
एनआर स्कुल/कलेज भनेर नै विद्यार्थी किन आउँछन् ?
व्यवस्थापन सङ्कायका लागि त ब्रान्डजस्तै भइसक्यो । हामीले सुरु गर्दा त काठमाडौंमा +२ कलेजहरू कमै थिए । हामीकहाँ यति विद्यार्थी भइसके कि हामीले विज्ञापन नै गर्नुपर्दैन । हाम्रो विद्यार्थीको स्रोत भनेकै हाम्रै विद्यार्थी हुन् । हामीलाई विद्यार्थीको कमी भएको महसुस भएको छैन । अभिभावकले विश्वास गर्नुभएको छ । कक्षा एकदेखि १२ सम्म अहिले उक हजार चार सय हाराहारी विद्यार्थी छन् ।
स्तरीय शिक्षामा जोड दिने योजना के–के छन् ?
हाम्रो मुख्य योजना भनेको प्रविधियुक्त शिक्षा नै हो । हामी अहिले प्रविधितर्फ जाँदै छौँ । हाम्रो लक्ष्य व्यावहारिक र प्रविधियुक्त शिक्षालाई नै जोड दिने रहेको छ । अहिले +२ मा व्यवस्थापन, कानुन, शिक्षाशास्त्र र मानविकी सङ्काय पढाइरहेका छौँ ।
तपाईंहरूले स्तरीय शिक्षा दिएको आधार के हो ?
हामीसँग अनुभवी शिक्षक हुनुहुन्छ । लोकसेवा आयोग पास गरेर आउनुभएको शिक्षक नै धेरै हुनुहुन्छ । ०५४ सालदेखि निरन्तर चलिरहेको छ । गुणस्तरमा हामी ‘कम्प्रमाइज’ गर्दैनौँ । सकेसम्म थोरै स्रोत–साधनमा धेरै दिने कोसिस गरेका हुन्छौँ । शुल्क पनि सस्तो छ । गुणस्तरमा निजीभन्दा कम छैनौँ ।