ओली मन्त्रिमण्डलमा सादा जीवनशैलीका अधिकारी

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०८१, बुधबार १६:२३
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, प्रायः हरेकपटक मन्त्रिमण्डल गठन–पुनर्गठनमा नुवाकोट नछुट्ने परम्परा यसपटक तोडिएको छ । यसपटकको मन्त्रिमण्डलमा धादिङबाट प्रतिनिधित्व भएको छ ।

सोमबार गठित नयाँ मन्त्रिपरिषद्मा रसुवा–नुवाकोट–धादिङका एकजनाले प्रतिनिधित्व गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा धादिङ जिल्लाबाट रामनाथ अधिकारी नियुक्त भएका छन् । धादिङ, निर्वाचन क्षेत्र नम्बर २ बाट ०७९ मङ्सिरको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्रीमा नियुक्त भएका हुन् । गत असार ३१ गते एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै सरकारमा काङ्ग्रेसका तर्फबाट अधिकारीले नियुक्ति पाई सोमबार नै शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सादा जीवनशैलीका कारण लोकप्रिय अधिकारी जिल्लाका पुराना नेता हुन् । कांगे्रस धादिङका सभापति अधिकारी काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठबन्धनबाट निर्वाचित भएका हुन् जसले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटक–पटक कारागार सजाय भोगिसकेका छन् । जिल्लाको पुरानो सदरमुकाम सुनौला बजारनजिक नेवारपानीमा ०१८ साल भदौ १८ गते जन्मिएका उनी ०३६ सालको जनमतसङ्ग्रह र ०४२ को सत्याग्रहमा काङ्ग्रेसमा सक्रिय भएका थिए ।

अधिकारी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ०४५ साल वैशाख ६ गते गिरफ्तारीमा परेका थिए । ०४६ सालको आन्दोलनबाट प्रजातन्त्र पुनर्वहालीपछि राजनीतिमा थप सक्रिय अधिकारी दलको आठौँ अधिवेशनमा काङ्ग्रेस धादिङ कार्यसमिति सहसचिवमा निर्वाचित भए । त्यसपछि ०५३ सालमा नवौँ अधिवेशनमा उनी जिल्ला सभापतिको प्रत्याशी थिए । तत्कालीन जिल्ला सभापति दामन पाख्रिनको ०५४ कात्तिक २६ गते निधन भएपछि जिल्ला नेतृत्वविहीन भएकाले उनी बाँकी अवधिका लागि सभापति बने । अधिकारी ०५६ सालमा भएको आमनिर्वाचनमा धादिङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । काङ्ग्रेस धादिङको पाँचपटक जिल्ला सभापति बनेका अधिकारी यसअघि २०५५, ०५७, ०६२, ०६७ र ०७८ सालमा सभापति भएका थिए । ०६४ को पहिलो र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट उनी पराजित भएका थिए ।