उत्कृष्ट त्रिशूली अस्पतालमा विशिष्ट सेवा

  • त्रिशूली प्रवाह
  • १७ श्रावण २०८१, बिहीबार १२:१४

कोलनी । त्रिशूली अस्पताल नुवाकोटको ६०औँ वार्षिकोत्सवका अवसरमा अघिल्लो शुक्रबार सिटिस्क्यान सेवाको विधिवत् उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको प्रमुख आतिथ्यता र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको विशेष आतिथ्यतामा विदुर–९ कोलनीस्थित अस्पतालमा सिटिस्क्यान सेवा सुरु भएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटिस्क्यान जडान भएसँगै जटिल प्रकृतिका उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ । सो अवसरमा मुख्यमन्त्री तामाङले अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक संरचना, प्राविधिक जनशक्ति र उपकरण थप गर्न सहयोग गरिने प्रतिबद्धता जनाए भने अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । ०३२ मा स्थापित भई १३ रोपनी दुई पैसा क्षेत्रफलमा रहेको अस्पताललाई ०६९ देखि स्तरोन्नति गरी ५० शय्या कायम गरिएको थियो । अस्पताल गत वर्षदेखि सय शय्यामा स्तरोन्नति भएसँगै थप सेवा र सुविधा विस्तार भएको छ । स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको सो अस्पतालबाट नुवाकोटलगायत रसुवा र धादिङका बिरामीले सहज सेवा पाइरहे पनि बिरामीको चाप थेग्न भने हम्मेहम्मे परिरहेको बताइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी ९९ रहे पनि अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति कमी भएकाले अस्पताल विकास समितिको स्रोतबाट र विभिन्न सङ्घसंस्थाका कार्यक्रमबाट पूर्ति गरिएको अस्पतालका व्यवस्थापक रिकेश रानाले बताए । ‘सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणका नाममा रहेको २६ रोपनी १५ आना एक पैसा दुई दाम जग्गा आवश्यक भएकाले सम्बन्धित निकायमार्फत उपलब्ध गराउन पहल भइरहेको छ,’ उनले भने ।

अस्पतालले २४सै घन्टा बहिरङ्ग (सार्वजनिक बिदाबाहेक), आकस्मिक, अन्तरङ्ग र (सःशुल्क/निःशुल्क औषधालय, शल्यक्रिया (हाइड्रोसिल, सिस्ट तथा अन्य), हाडजोर्नी विशेषज्ञ, निःशुल्क विशेषज्ञ प्रसूति (शल्यक्रियासहित), दन्तोपचार, एचआइभी परामर्श तथा उपचार, क्षयरोग तथा कुष्ठरोग उपचार, लैङ्गिक हिंसासम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, भिडियो एक्सरे, सिटिस्क्यान, डेक्सास्क्यान, इको, युएसजी, प्रयोगशाला, एक्सरे, पोषणोपचार, विपन्न नागरिक उपचार, सामाजिक एकाइ र पाठेघरको मुखको अर्बुदरोग परीक्षण, भिआइए, रोकथाम आदि सेवा उपलब्ध गराउँदै आइरहेको छ । प्रदेशस्तरीय अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसार आव ०७७/७८ मा ८८ तथा आव ०७८/७९ र ०८०/८१ मा ९६–९६ प्रतिशत प्राप्ताङ्क प्राप्त गरी यो उत्कृष्ट अस्पताल बनेको छ । अस्पतालले चालू आवमा हेल्थ एसिस्टेन्ट, स्टाफ नर्स, फार्मेसी र ल्याब विषयमा अध्यापन गराउने योजना बनाएको छ । त्यसका लागि प्राविधिक शिक्षा तथा तालिम परिषद्मा दर्ता प्रक्रिया अगाडि बढाएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न विधाका खेलकुद प्रतियोगितामा विजयी खेलाडी र समूहलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापा र बागमती प्रदेश सभाका पूर्वसदस्य हीरानाथ खतिवडाले संयुक्त रूपमा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुका साथै अस्पतालमा २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डित, अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।