गत वर्ष त्रिशूली अस्पतालबाट एक लाख ६० हजारको उपचार

  • सुनील श्रेष्ठ
  • १७ श्रावण २०८१, बिहीबार १२:२३

नुवाकोट । प्रदेशस्तरमा उत्कृष्ट ठहरिएको त्रिशूली अस्पतालबाट गत आर्थिक वर्ष ०८०/८१ मा एक लाख ५९ हजार ४३५ बिरामीले स्वास्थ्योपचार सेवा लिएका छन् । अस्पतालको ६०औँ वार्षिकोत्सवका अवसरमा अघिल्लो शुक्रबार सिटिस्क्यान सेवाको विधिवत् उद्घाटन भइसकेको छ ।

सो कार्यक्रममा अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाले गत आवमा प्रसूतितर्फ ६७३, एक्सरे २४ हजार ४०२, युएसजी १५ हजार २४९, इको २२, सिटिस्क्यान २७ र डेक्सा स्क्यानतर्फ १४८ बिरामीले सेवा लिएको जानकारी दिए । अस्पतालमा साधारणदेखि सघन शल्यक्रिया सेवामा एक हजार ६९४ बिरामीले उपचार गरेका छन् । तीमध्ये हाडजोर्नी र परिवार नियोजनसम्बन्धी शल्यक्रिया बढी छन् । अस्पतालमा अहिले १७ विशेषज्ञ चिकित्सक र १४ मेडिकल अधिकृतले सेवा दिइरहेका छन् । अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी २०२ चिकित्सक र कर्मचारीले सेवा दिइरहेको निर्देशक लामाले जानकारी दिए । अस्पतालमा विभिन्न प्रयोगशाला परीक्षणमा दुई लाख ४८ हजारपटक परीक्षण गरिएको र दैनिक सरदर ४३७ बिरामीले जाँच गर्ने गरेको मेडिकल रेकर्डर नारायण प्याकुरेलले बताए ।

सामाजिक सेवा एकाइमार्फत आव ०८०/८१ मा महिला १९४ र पुरुष २१७ ले सेवा लिएको सहजकर्ता शारदा पराजुलीले जानकारी दिइन् । अस्पतालमा ३५ हजार ४८० बिरामीले स्वास्थ्य बिमामार्फत उपचार गरेको तथा हाल दैनिक करिब १५० देखि २५० बिमित उपचारका लागि आउने गरेको र सेवा लिने गरेका छन् । आकस्मिक विभागबाट ९२, बहिरंग विभागबाट दुई सय १९ र अन्तरंग विभागबाट एक सय बिरामीले सेवा लिएका छन् । तिनमा गरिब, अतिगरिब गरी ३१७, असहाय १३, अपाङ्गता भएका ३९, ज्येष्ठ नागरिक २३, महिला स्वास्थ्य स्वयम्सेविका दुई र प्रहरीले ल्याएका थुनुवा १७ जनाले सेवा लिएको सहजकर्ता पराजुलीले जानकारी दिइन् । जेरियाट्रिक कार्यक्रमबाट ४७८ ज्येष्ठ नागरिकले सेवा लिएका छन् । अस्पतालले विदुर नगरपालिका, देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकलाई पनि सेवा दिँदै आइरहेको छ ।

यस्तै, अस्पतालमा महिला १३४ र पुरुष ११३ बिरामीले सघन उपाचार सेवा लिएकामा १४ बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको एकद्वार सेवा व्यवस्थापनबाट लैङ्गिक हिंसामा परेका बलात्कृत २० जना गरी अन्य ४६ जनाले सेवा लिएका छन् । ०२१ साउन ११ गते त्रिशूली जलविद्युत् केन्द्रका कर्मचारीका स्वास्थ्योपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रूप नै आजको त्रिशूली अस्पताल हो । ०३२ मा उक्त स्वास्थ्य केन्द्र आमनागरिकका लागि पनि खुला गरिएसँगै जिल्ला अस्पताल त्रिशूलीले अहिले नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्योपचारमा विश्वसनीय सेवा पु¥याउँदै आइरहेको छ ।