
उनी किस्पाङ लेकको मूलको पानी मात्र पिउँदै निगालाको बुट्यान र सल्लाघारीका जुकालाई टोकाउँदै भिरपखेरामा भेडासँग खेलेर हुर्केका हुन् । उनले सानैदेखि त्रिशूलीमा हुने गाईजात्रा र नुवाकोटमा हुने सिन्दुरेजात्रामा किस्पाङ क्षेत्रतिर गाइने सेलो गाउने टोलीसँग समेत मिलेर लेकाली परम्परागत वेशभूषासमेतको संरक्षणमा त्रिशूलीको हाटबजार आउँदै–जाँदै बागटार कोलनीमा साथी सर्कलसँग खेल्दै बाल्यकाल पार गरेका हुन् । ती कुशल कृषक परिवारका खाइलाग्दा ठिटालाई हामी त्रिशूली कोलनीवासीले देख्दै आएका हौँ ।
तत्कालीन त्रिभुवन त्रिशूली उमाविका शिक्षकदेखि विद्यार्थीसम्म उनलाई ‘गुड ब्वाई’ भन्ने गर्थे । उच्च शिक्षाका लागि सहर पसेपछि पनि सङ्गत दोषले छुन नसकेरै होला, उनको शालीनतामा ह्रास हुन पाएन । उनमा राजनीतिमा प्रवेशपछि पनि बडप्पन देखिएन ।
कोल्पुटारको सिँचाइसम्बन्धी आयोजनाको ठेक्काको काम गर्दै उच्च शिक्षा लिँदै माथि उक्लिइरहेका ती युवकलाई नुवाकोटेले मन पराउनु कुनै नौलो थिएन । आज उनै बहादुरसिंह लामा तामाङ बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएकामा खुसी नहुने कुरै भएन । आजसम्म कमाएको स्याबासीलाई अवकाशको उमेरसम्म कायम राख्दै किस्पाङदेखि परराष्ट्रसम्म शङ्खनाद गरून्– हार्दिक बधाई तथा शुभकामना छ ।
रामहरि रिमाल बाजे
विदुर–४, बागवानी, नुवाकोट