आन्तरिक पर्यटनमा घचघच्याउने ‘अतीत आमन्त्रण’

  • त्रिशूली प्रवाह
  • २४ श्रावण २०८१, बिहीबार १४:२६
  • शीतल गिरी

साहित्यिक कार्यक्रम भनेपछि हुरुक्कै हुने खगेन्द्र गिरी ‘कोपिला’ले ‘अतीत आमन्त्रण’ नियात्रासङ्ग्रह (सर्वदा साहित्य सङ्गम, नेपालगन्ज, वि.सं. २०७४) पाठकसमक्ष ल्याएका छन् । उनी बाजुरा जिल्लामा जन्मिएका, कञ्चनपुर जिल्लामा हुर्किएका, रौतहटमा विवाह गरेका र बाँके जिल्लालाई स्थायी बसोवास बनाएको थाहा पाइन्छ ।

समीक्ष्य कृतिमा साहित्यिक कार्यक्रममा सहभागी हुन जाँदाको यात्रा, साहित्यकारहरू मिली गरेको स्वतस्फुर्त या योजनाबद्ध पदयात्रा अभियानका साथै पारिवारिक यात्राको अनुभूतिलाई टपक्क टिपेर लेखकले विशेषतः किशोर–युवालाई हाम्रो देशको भूगोल र समाजसँग साक्षात्कार गराएका छन् । आमपाठक र साहित्यप्रेमीका मनमा यो कृति पढेपछि यसमा वर्णन गरिएका कतिपय स्थानमा पुग्ने चाहना हुन्छ नै । वर्तमानमा चर्चित पाल्पाको रानीमहल, गुल्मी रिडीको ऋषिकेश मन्दिर र जोसमनी सम्प्रदायका संस्थापक शशिधरको तपोभूमि रेसुङ्गा, अछामको वैजनाथधाम, डडेल्धुराको अमरगढी, नवलपरासीका त्रिवेणीधाम र वाल्मीकि आश्रम, मुस्ताङको मुक्तिनाथ, रूपसे झरना आदिबारे त्यहाँ पुग्दाको अनुभूति राम्रो छ । सम्भवतः घुम्न मन पराउने गिरीको वास्तविकता थाहा पाएका श्रीधर भण्डारीले लेखकले कृतिमार्फत ‘…पाठकलाई नयाँ स्वाद दिनेछन्’ भनेर लेखेका छन् । २३ नियात्रालाई अमृतको थोपा मानी प्रस्तुतिलाई रुचिकर बनाउने सहज प्रयास गरिएको छ । प्रारम्भमा नै ‘अन्तरङ्ग’ साप्ताहिकका नवराज पहाडीको मुक्तक कार्यक्रममा आउँदा नेपालको बसयात्रा, काठमाडौंको अवस्था र यहाँ हुने साहित्यिक कार्यक्रमबारेको सारगर्भित लेखनले यस सङ्ग्रहका सामग्री पठनीय रहेको आभास गराइदिन्छ ।

विभिन्न पत्रपत्रिकामा छापिएका नियात्रामध्ये अन्तरङ्गसित अन्तरङ्ग, फेरि ठोक्किए कालीका छालसित, वीरपथमा लङमार्च, बाइरोडको बाटो र हेटौँडाका मुक्तक, झझल्को पुरन्धाराको, देवदहको स्मृति–विस्मृति, अमिलियाका अमिला कविता, कालीमाटीमा कविता गुञ्जन र रिहार साहित्य मिलनले पाठकको ध्यान केन्द्रित गराउँछ । यी नौ नियात्रामा साहित्यिक कार्यक्रममा जाँदाको उत्साह–उमङ्ग तथा कार्यक्रममा पाठ गरिएका रचनाले पाठकमा पारेको अनुभवको अनुपम उपहार पाइन्छ । लेखकले प्रत्येक साहित्यिक कार्यक्रममा वाचन गरिएका कविता, गजल या मुक्तकको भाषा, वाचनकर्ताको निजत्व, कार्यक्रममा कसको भूमिका कस्तो थियो जस्ता विवरण सहज, सरल, तर सारगर्भित रूपमा पाठकसमक्ष पस्केका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा नवराज पहाडीको ‘अन्तरङ्ग मुक्तक सम्मान – २०६८’, महाकाली गजल प्रतिष्ठानले आयोजना गरेको काव्यगोष्ठी २०७०, मंगलसेनमा आयोजित ‘अछाम गजल महोत्सव’, २०७०, हेटौँडामा आयोजित मुक्तक कार्यक्रम, दाङको एकलास पुरन्धरामा भएको साहित्यिक कार्यक्रम, देवदहको मुक्तक मेला, अमिलिया–उपत्यकामा भएको कविता वाचन, नमस्ते साहित्य परिषद्ले गरेको ओखलढुङ्गा, कालीमाटीको कार्यक्रम २०७४ वैशाख १५ गते र दाङदेउखुरीको रिहारमा भएको कार्यक्रमको वर्णन यहाँ छ । कार्यक्रममा सहभागी हुन जाँदाको नियात्रा लेखन गहन र अर्थपूर्ण छ । सो स्थानको ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको वर्णनबाट नेपालका दूरदराजका गाउँघरमा साहित्यप्रति जागेको विश्वास, त्यहाँका साहित्यकारमा साहित्यप्रतिको गहिरो आस्था साँच्चै सराहनीय देखिन्छ । त्यस्ता कार्यक्रमबाट प्रेरणा लिएर नै देशभर युवापुस्ताले साहित्य फैलाएका छन् । गिरीको साहित्यिक कार्यक्रमको निम्तो स्वीकार गरेपछि टाउकाले टेकेर भए पनि पुग्ने स्वभावलाई राम्रो मान्नैपर्छ ।

भ्रमणप्रिय गिरीले आफ्ना साथीहरूका साथ यात्रा गरेका र रानीमहलको आँगन, रिडीको बगर र रेसुङ्गाको उकालो, अछाम राम्णो साँप्या, अमरगढी र बाघको डमरु, तपोवनको प्रेमकथा, खण्डहर सहरका उदास सपना, सिमानाका अम्लान रहर, नीलाञ्जना रारा र केशरी धूप, आरूका फूल र जुम्ली हाँसो, हिलेपानीको धुले बाटो, चुरेपारिको बिरानो नेपाल शीर्षक दिएर लेखेका नियात्रा एक साहित्यप्रेमी देशभक्तको यज्ञ नै हो । यी ११ नियात्राले वास्तवमा पाठकलाई सरकारले देख्न नसकेको नेपालसँग परिचित गराएको छ । गिरीले परिवारका साथ यात्रा गरेर त्यसबाट प्राप्त गरेको अनुभूति पोखिएर पाखाभरि, पहाड बोकेर एक्लै–एक्लै र हिमाली मौनता र कुमारी सौन्दर्यमा उतारेका छन् । जीवनमा जे–जति पायो त्यो सिर्जनात्मकताद्वारा अरूसमक्ष पुर्यायाउनु आफ्नो धर्म बनाएका छन् गिरीले । यथार्थमा नियात्रा बन्धनविहीन व्यक्तिको निजात्मक अनुभूति पनि हो । रचना प्रकाशन गराउने लोभले केही नियात्रालाई टुक्र्याइएको छ जुन पढ्दै जाँदा अपूर्ण भएकामा खट्किन्छ । जे होस्, १७६ पृष्ठको र रु. २०० को कृति पठनयोग्य छ र यसले कतिपय यात्रा गर्नयोग्य स्थानबारे प्रकाश पारेको छ, आन्तरिक पर्यटनतर्फ घचघच्याएको छ ।