धादिङ्बेंसी । धादिङ जिल्लामा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्स सरकारी मापदण्ड विपरीत सञ्चालनमा रहे पनि सरोकार निकाय बेखबर देखिन्छ । जिल्लामा करिब ५२ एम्बुलेन्स सरकारी मापदण्डविपरीत चलिरहेका छन् ।
सरकारी मापदण्डानुसार अनिवार्य रूपमा सबै एम्बुलेन्समा जिपिएस जडान गर्नुपर्ने भए पनि निजी एम्बुलेन्स ल्याएर बाबुआमाका नाममा प्रतिष्ठान बनाई सञ्चालन गरिएका एम्बुलेन्सले नियम पालना नगर्दा अरूले पनि मापदण्डलाई पछ्याएका छैनन् । जिल्लामा एम्बुलेन्स सञ्चालन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य रहने गरी जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति भए पनि समितिमा नवीकरण गर्नुपर्ने एम्बुलेन्सले तिन वर्षदेखि नवीकरण नगरी चलाइरहेका छन् । करिब ६८ एम्बुलेन्स अभिलेख रहेको जिल्लामा आठ वटा सञ्चालनमा नरहेको, आठ ‘ख’ वर्गको रहेको र ५२ ‘ग’ वर्गमा दर्ता भएको तथा मापदण्डानुसार स्तरोन्नति गरी नवीकरण गर्नुपर्नेमा नगरी सञ्चालन गरेको पाइएको छ । तसर्पु स्वास्थ्यचौकी, धुनीबेंसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाक्रे ग्रामीण अस्पताल, रूबीभ्याली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको एम्बुलेन्स ‘ख’ वर्गमा रहेर पनि नवीकरणका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन दिएका छैनन् ।