गोसाइँकुण्ड जाने नयाँ मार्ग पुनःनिर्माण

  • त्रिशूली प्रवाह
  • २८ श्रावण २०८१, सोमबार १६:१९

विदुर । रसुवाको प्रमुख धार्मिक पर्यटकीयस्थल गोसाईँकुण्ड जाने नुवाकोट, दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार पदमार्ग पुनःनिर्माण भएको छ । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जाने नयाँ मार्गमा यात्रुको चहलपहल सुरू भएको छ ।

बागमती प्रदेशको दोस्रो पशुपतिनाथ’ दुप्चेश्वर हुँदै सिसिपु, तालु, फेदी, सूर्यकुण्ड र दुधकुण्डको अवलोकन एवं स्नान गर्र्दैै गोसाईँँकुण्ड पुग्न सकिन्छ । तालुबाट एकै दिन गोसाईँथान पुग्न सकिने यो छोटो मार्ग हो । गत वर्र्षदेखि तालुबाट फेदीसम्मका जङ्गलमा ढुङ्गाको सिँढी निर्माण सुरु गरिएको थियो । सिँढी बनेसँगै अब गोसाइँकुण्ड आवतजावत गर्न पैदलमार्गीलाई सहज भएको दुप्चेश्वर-६ का वडाध्यक्ष किशोर आचार्यले बताए ।

बाटामा विश्रामगृह बनेका छन् भने फोहोर व्यवस्थापन गर्न डस्टबिन राखिएका छन् । दुप्चेश्वर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र युएनडिपीका आर्थिक सहकार्यमा तथा स्थानीय साझेदार संस्था सहकार्य समाज नेपाल (सिएसएन) बाट सञ्चालित दिगो पर्यटनका लागि जीविकोपार्जन पुनःस्थापना कार्यक्रम (एसटिएलआरपी) बाट निर्माण सुरू गरिएको हो । पदमार्ग, विश्रामगृह, काठेपुल, फोहोर व्यवस्थापन मात्र होइन यात्रुको सत्कार, खाना एवं बासका लागि घरबास व्यवस्थापन तालिम पनि सञ्चालन गरिएको छ । गत साल घ्याङ्गफेी, सिसिपु, घ्याङ्डाँडा, तालु र कसेरीका इच्छुक व्यक्तिलाई सिसिपुमा सातदिने तालिम नेपालकै पहिलो होमस्टे सिरूबारी होमस्टेकी सञ्चालिका उर्मिला गुरूङले दिएकी थिइन् भने यस वर्ष पनि पुनर्ताजगीका रूपमा यही साउन १९-२३ गतेसम्म उनले नै दिइन् ।

तालिम समापन कार्यक्रममा दुप्चेश्वरका अध्यक्ष शङ्करबहादुर थापा, पर्यटन बोर्डको म्यानेजर श्रद्धा श्रेष्ठ, युएनडिपीका परियोजना म्यानेजर धर्म दवाडी, वडा नम्बर १ का वडाध्यक्ष सीताराम तामाङलगायतको उपस्थिति थियो । सहकार्य समाज नेपालका अध्यक्ष नीलकण्ठ आचार्यका अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । अहिले घ्याङ्फेदी,सिसिपु र तालुमा आवास तथा खानाका लागि घरबास सञ्चालनमा रहेको समेत जनाइएको छ । उक्त मार्गमा पर्ने घोप्टेफेदी, जहाँ २०४९ सालमा एक सय १३ जनाको मृत्यु हुने गरी थाइ एयरको विमान दुर्घटना भएको थियो, मा दुर्घटनामा मृत्यु हुने व्यक्तिका देश र नामका साथै हवाइजहाजको अवशेषसहितको सानो सङ्ग्रहालय निर्माणका लागि काठको घर पनि तयार भइसकेको अध्यक्ष आचार्यले बताए ।
–––