- राजेन्द्र बस्नेत
धादिङ । गजुरी-६ आदमघाटबाट किराञ्चोक हुँदै चौतारा (मकवानपुर) जोड्ने सडकको मिलनटारदेखि पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै भासिएको छ । नाना कन्स्ट्रक्सन प्रालि धादिङले मिलनटार चोकदेखि पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम असार मसान्तमा सम्पन्न गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेशिक सडक डिभिजन कार्यालय धादिङले आगामी पुस १८ गते कार्य सम्पन्न गर्ने गरी रु. २० करोड ४९ लाख ८१ हजार १० मा २०८० असार १३ गते नाना कन्स्ट्रक्सनसँग सम्झौता गरेकामा ६ महिनाअघि नै निर्माण कम्पनीले काम सम्पन्न गरेको हो । सडक कालोपत्रे गर्न ग्याबिन भरेको र मेसेनरी वाल लगाएका स्थानमा सडक भासिएको छ । दरियाल फाँटमा चार स्थानमा, गरापारेमा एक स्थान र खोलेखोल्सानजिक एक स्थानमा गरी करिब दुई सय मिटर सडक भासिएको हो । सडक भासिएपछि स्थानीयवासी अन्योलमा थिए । भासिएका सडकमा पानी नपसोस् भन्नाका लागि निर्माण कम्पनीले गत हप्ता माटो भरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । तोकिएको समयअघि काम सम्पन्न गरेकामा सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका स्थानीयवासीले सडक भासिएपछि निर्माण कम्पनीको विरोध गरिरहेका छन् ।
सडक भासिएका स्थानमा माटाले पुरेका विषयमा जानकारी लिँदा निर्माण कम्पनीका नारायणकुमार श्रेष्ठले बर्खामा पानी पसेर थप क्षति नहोस् भन्नाका लागि संरक्षण गरिएको बताए । ‘निर्माण सकिएको एक वर्षसम्म सडकको मर्मतसम्भार गर्ने काम निर्माण कम्पनीकै हुने व्यवस्था रहेकाले वर्षा सकिएपछि मर्मत गर्छाैँ । सडक भासिएको र माटाले पुरेका विषयमा स्थानीयवासीले चिन्ता लिन नपर्ने हो । उहाँहरूलाई थाहा नभएर होला चिन्ता लिएको, अब कम्पनीले नै बनाउनेछ,’ उनले भने । सडक निर्माण सकिएको एक वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै मर्मतसम्भार गर्ने व्यवस्था छ । ‘अहिले वर्षा जारी रहेको र सडक आवागमनमा बाधा नपरेकाले काम गर्न रोकेका छौँ । वर्षा कम भएपछि भासिएको सडक मर्मतसम्भार गराउँछौँ,’ प्रादेशिक डिभिजन कार्यालय धादिङका प्रमुख नीरज दाहालले बताए ।