श्रमप्रति सम्मान गर्ने शिक्षाको खाँचो

  • त्रिशूली प्रवाह
  • ३१ श्रावण २०८१, बिहीबार १३:०१
  • बाबुकाजी कार्की

शिक्षा श्रम तथा जीवन र जगत्सँग जोडिनुपर्छ । मानव जीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्यमान्यता, पहिचान र समायानुकूल परिमार्जन तथा परिष्कृत गर्दै जीवनशैलीमा उतार्न सक्षम नागरिक शिक्षाले उत्पादन गर्नुपर्छ । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवम् रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्छ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्यकेन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्छ ।

कस्तुरीले आफूमा भएको सुगन्धबारे ज्ञान नभएर भौतारिएर हिँडेजस्तै नेपाली आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रकम खर्च गरेर खाडी, अमेरिका, युरोपका मुलुकको प्रचण्ड गर्मी र जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, गोठालो, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कातर्फ छिमेकी देशबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्यसभन्दा तल्लोस्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छन् । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रामा परेर तड्पिएको देखिन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिन जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? यस्ता प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न सकिन्छ ।

शिक्षा गुणस्तरीय, जनमुखी, प्रगतिशील र जीवनोपयोगी हुनुपर्छ भनिन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्याेल गर्ने प्रचलन प्रशस्तै छ । सैद्धान्तिक ज्ञान मात्र भएको, तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने, गराउने र सिक्ने खालको शिक्षा अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो, पौरखी शिक्षा हुनुपर्छ । दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।

हाम्रो मूल्याङ्कन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अङ्क मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कातर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएका, जसलाई उच्च गुणस्तर भनिन्छ, हरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील, सफल नागरिक बनाउने खालको व्यावहारिक पौरखी शिक्षा आजको आवश्यकता हो ।
विद्यार्थीलाई श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्छ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा हुनुपर्छ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता, संस्कार एवम् भावना आदिलाई ध्यानमा राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठ्यक्रमका अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ ।

कक्षाकोठा र विद्यालयपरिसर स्वस्थ स्वच्छ एवम् चित्ताकर्षक हुनुपर्छ । शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नुपर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्ने गरी विषयवस्तु र विधिको छनोट गरिनुपर्छ । अभिभावकले अँगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनुपर्छ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनुपर्छ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ, घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्छ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठनबारे अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्छ । उनीहरूको जीवनशैलीलाई सुविधासम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्ने छौँ, हामीले भनेको मात्र उनीहरूले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबर्जस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने नागरिक उत्पादन गर्ने पहिलो सर्तका रूपमा लिन सकिन्छ । स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिनुपर्छ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास बढाउनुपर्छ ।

मानवीयलगायत साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । शिक्षाकर्मीको पेसागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुपर्छ । त्यस्तै, शिक्षक र त्यससँग आबद्ध शिक्षाकर्मीको पेसागत दक्षताको मूल्याङ्कन विद्यार्थीको उपलब्धिका आधारमा गरिनुपर्छ । त्यस्तै, बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा बढाउन बाल क्लब स्थापना गरिनुपर्छ । उनीहरूमा आत्मबल र आत्मविश्वास वृद्धि गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी गराइनुपर्छ ।
विद्यार्थी विद्यालयबाट भागेर घर जानेभन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौँ भने उनीहरूले आफ्नो क्षमता, चाहनाअनुरूपको व्यावहारिक ज्ञान, सीप अभिवृद्धि गर्न सक्छन् । कक्षाकोठा र क्रियाकलाप लोकतान्त्रिक अभ्यास र अनुभूति दिने हुनुपर्छ । अनुशासनका नाममा भावना र विचार कुण्ठित गर्ने परम्परालाई निरुत्साहन गरिनुपर्छ । ठूलोभन्दा पनि असल नागरिक बन्न प्रे्ररित गरिनुपर्छ । उच्च प्राप्ताङ्कलाई मात्र गुणस्तर देख्ने तथा सामाजिक संस्कार, संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । श्रमको पूजा गर्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त विद्यार्थी तथा कुनै कुरा सिकेपछि त्यसका आधारमा परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सभ्य, स्वाभिमानी, देशभक्त पौरखी नागरिक उत्पादन गर्ने शिक्षा आजको खाँचो हो ।

(लेखक नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।)