- शान्ति लामा
हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा देश–विदेशबाट हिन्दु श्रद्धालु भक्तजनको सधैँ भिड लाग्ने गर्छ । त्यसो त विभिन्न तिथिमितिमा यहाँ भक्तजनलाई मन्दिर दर्शन गर्नका लागि पालो मिलाउन सुरक्षाको बन्दोबस्त मिलाउनुपर्छ । यो हामीले भोगिरहेको, देखिरहेको सामान्य कुरा हो । हुन त बौद्ध र हिन्दु धर्म एउटै ॐकार परिवारका सनातन धर्मावलम्बी नै हुन् । सबै धर्ममा एक–अर्काप्रति सम्मान हुन्छ, हुनुपर्छ । एकको मनले गरेको कार्यले दोस्रोको मनमा खोट नदेखाउने र चोट नपु¥याउने हुनुपर्छ ।
एक साँझ मेरा एक हितैषी मित्र र म साढे ५ बजे पशुपति क्षेत्रमा पुग्यौँ । ‘पशुपतिमा चार ढोका चाँदीका’ भन्ने गीतको हरफलाई कण्ठ पारेर चाँदीका चार ढोका खोजेर हिँड्दा मैले विगतमा आफू हराएर मेरा बाबाआमालाई एक–डेढ घण्टा तनावग्रस्त बनाएको दिनको सम्झना आज पनि मेरो दिमागमा झल्झली आइरहन्छ । त्यही मन्दिर जसका चार ढोकामध्येको एउटाबाट म निस्केँथेँ । मेरा बाबाआमा अर्कै ढोकाबाट मलाई खोज्दै गर्दा म हराएको ढोकैनेर पुगेँ, मैले मान्छेको भिडभाडभित्र एउटा लास लिएर आएको भिड भेटेँ । मैले मनमनै ‘ॐ मानेपद्मे हुँ’ भनेँ र शब्दले चाहिँ सँगैका साथीलाई सधैं, ‘कहाँबाट कहाँ लैजाँदै हो ? लास जलाउने त माथि होइन र ?’ जवाफ थियो, ‘मुख धोएर गंगा स्नान गरीवरी विद्युतीय शवदाहमा दहनका लागि होला ।’ यस कुराले मेरा मनमा भने कताकता समाचारमा आएको रु. एक करोड ५० लाखको विद्युतीय शवदाह यन्त्र रु. १० करोडमा खरिद गर्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको करोडौँ घोटालाको पर्दाफास किन भन्ने समाचारले तान्यो । तर, म केही बोलिनँ, हाम्रो हिँड्ने क्रम जारी नै थियो । हामी अगाडि बढ्दै गयौँ । हाम्रो त्यस दिनको योजना भने त्यस चाँदीको ढोकातिर नगई साँझको आरतीतिर नै थियो । दुई–तीन सामान्य ढोका पार गर्दै हामी मन्दिरनजिक पुग्यौँ । मैले पुलमा एक–दुई तस्बिर र भिडिओ लिएँ । त्यतिखेरसम्म मान्छे आउने क्रम सुरु भइसकेको थियो । पुलबाट आरतीस्थल हेर्दा केही–केही ठाउँबाहेक मान्छेले भरिइसकेको थियो । पुल पार गरिसकेपछि तीन–चार सिँढी चढेँ, फेरि तस्बिर–भिडियो लिएँ, मैले दुवैजनाको तस्बिर आउने गरी एकजना मान्छेलाई भिडिओ बनाइदिन अनुरोध गरँे । हाम्रा कुरालाई सहर्ष रूपमा स्विकारेका ती महानुभावले आफू फोनमा व्यस्त भए पनि भिडिओ भने राम्रो बनाइदिए । भिडियो बनाइदिएबापत हामीले उहाँलाई धन्यवाद दियौँ, तर उनलाई हामीलाई जवाफ दिने अवस्था थिएन, किनकि उनी अझै फोनमै बोलिरहेका थिए । उनले टाउको मात्र हल्लाउँदै हाम्रो धन्यवाद स्विकारेको सङ्केत गरे ।
अब भने हामी आरतीस्थलको छेउमा बस्न भनेर हिँड्यौँ, केही मान्छे आरतीको तयारीमा थिए, पहेँलो वेशमा राम्रोसँग सजिएका थिए, आरतीका लागि बत्ती राख्ने ठाउँदेखि मान्छे बस्ने ठाउँको सरसफाइ गर्दै थिए । आरती सुरु भयो । म पशुपतिनाथको आरतीमा पहिलोपटक सहभागी हुँदै थिएँ । हुन त चार–पाँच वर्षअघि छिमेकी देश भारतको हरिद्वारमा सन्ध्याकालीन आरतीको नजिकबाट दर्शन गरेको अनुभव पनि मसँग छ ।
सँगैका साथीले मलाई ‘आरती सुरु हुँदै छ है’ भनेपछि मैले पनि आरतीस्थलकै छेउबाट नजर झन् नजिक लगेँ । त्यतिखेरसम्म मैले छेउमा सयौँ सहभागीतिर नजरअन्दाज गरेको रहेछु । एक केटा मेराअघि उभिए । यसो हेरेँ, मेरो छोराको उमेरको रहेछ । मैले ‘बाबु बसम् न, तिमी मेरोअगाडि उभिएपछि मलाई छेकिँदो रहेछ’ भनेँ । ऊ पनि ज्ञानी र भलाद्मी रहेछ, ‘हस् आन्टी’ भनेर ऊ अप्ठ्यारो मानी आधा ज्यान भाँचेर बस्यो । त्यस बाबुलाई देखेपछि मलाई लाग्यो, हाम्रा बालबालिकालाई पनि धर्म, संस्कारप्रति लगाव छ । सो आरतीका भिडमा बसेर हेर्दा कतिपय क्याम्पसका पोसाकमा देखिन्छन्, कोही कार्यालयको युनिफर्ममा त कोही आफ्नो कामविशेषका ड्रेसमा । गहिरिएर हेर्दा प्रायः केटाकेटी सँगै बसेको पाइन्छ । मैले मलाई हेरेँ, मेरो साथीलाई हेरेँ, सबैलाई हेर्दा केहीबाहेक मेरो पुस्ताका भेटिएनन् । बरु जम्मै दोस्रो पुस्ताका केटाकेटी थिए । जतिखेर म मन्दिर जाने सोच बनाएको थिएँ त्यतिखेर मेरा दिमागमा लागेको थियो, धार्मिक स्थलमा जाने भनेको कर्म गरिसकेर थकाइ मार्न बसेका आफू र आफ्ना सन्तान अनि सम्पूर्ण प्राणीको सुरक्षा र कल्याणका लागि भक्ति गर्न हो । तर, त्यो यथार्थमा देखिएन । यताको वातावरणले त कहीँकतै युवालाई भेटघाट गर्ने ठाउँ पो बनेको हो कि भन्ने भान परिरहेको थियो । सुरक्षित ठाउँका रूपमा आफ्नो प्रेमजोडीको भेटघाटस्थलका रूपमा पशुपतिनाथपरिसर प्रयोग भइरहेको त छैन ? यदि त्यसो हो भने पशुपतिनाथ मन्दिरका गुरु, पुरोहित र बाबाले आरतीको एउटै गायत्री मन्त्रलाई मात्रै वाचन नगरी आरतीमा आएका १५ देखि २५ वर्ष उमेर समूहका ती छोराछोरीलाई भविष्यमा काम लाग्ने, आत्मसम्मानसँगै आत्मरक्षा र आत्मनिर्भर हुने भक्तिभजन सुनाउने पो हो कि ? यसबाट आफ्नो साथी, मिल्ने साथी, जीवनसाथीसँग बसेर व्यावहारिक र जीवनोपयोगी वचन सुन्न पाइनेछ । धार्मिक स्थलमा सुनेका कुराले हाम्रा सन्ततिलाई संस्कारी बनाओस्, सामाजिक बनाओस्, अनि भिडसँगै लम्पसार रहेको त्यस लासलाई त्यहाँ भएका सबै सहभागी मेरो मलामी हुन् भन्ने आभास होस् ।
जहाँ हामी सबै पूजा र आरतीतिर हेरिरहेका थियौँ, तस्बिर र भिडियो बनाउन मस्त पण्डित, पुजारी, गुरुसँगै आवाज दिने गरेका थियौँ, ताली बजाएका थियौँ, त्यस अगाडिपट्टि त अघिकै शव थियो जुन अघिकै स्ट्रेचरमा राखेर ल्याइएको थियो । त्यसमा शिवगंगाजलले मुख, खुट्टा धुनेदेखि आफन्तले नयाँ कपडा ओढाउने काम भइरहेको थियो । आफन्तबाहेक त्यस मरणमा त्यस भिडलाई भने कुनै मतलब थिएन । सबैलाई रमाइलो भइरहेको थियो, ‘जय शम्भो, जय महादेव’जस्ता बोली उठिरहेको थियो । यी र यस्तै भक्ति र भक्तजनको श्रद्धाले गर्दा भगवान्ले आशीर्वाद दिएको रहेछ जस्तो लाग्यो । नेपाल सतीले सरापेको देश होइन, पशुपतिनाथले बचाएको हो जस्तो लाग्छ ।
(लेखक : म्यागङ गाउँपालिकाकी पूर्वउपप्रमुख हुन् ।)
प्रतिक्रिया