जनैपूर्णिमा मेला सम्पन्न

गोसाइँथानमा १२ हजार र पार्वतीकुण्डमा ६ हजार तीर्थयात्री

  • त्रिशूली प्रवाह
  • ६ भाद्र २०८१, बिहीबार १२:०५

धुन्चे । रसुवा जिल्लामा रहेका प्रमुख धार्मिक एवम् पर्यटकीयस्थल गोसाइँकुण्ड र पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमा मेला सम्पन्न भएको छ । मेला भर्न यसपटक गोसाइँथानमा लगभग १२ हजार र पार्वतीकुण्डमा ६ हजार तीर्थयात्री आएको स्थानीयवासीले बताएका छन् ।

समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा नीलकण्ठ महादेव शयनावस्थामा रहेको विश्वास गरिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार नेपालका अन्य टाढाका जिल्लाका झन्डै आठ हजार मानिस कुण्ड पुगेका छन् भने नुवाकोटका दुप्चेश्वर, घ्याङफेदीबाट लगभग दुई हजार र सिन्धुपाल्चोकबाट एक हजारजना गएका छन् । तीर्थयात्रीको चाप बढ्ने भएका कारण ठाउँठाउँमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा गस्ती चलाइएको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए । हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा लेक लागेका यात्रुलाई प्राथमिक उपचारका लागि शिविर स्थापना गरेको थियो । केही विपत्कोे समस्या आइपरे नेपाली सेना, सशस्त्र प्रहरी बलको उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

गोसाइँकुण्ड–६ कार्यालयले तीर्थयात्रीका एक सय ३० बस, तीन सय पाँच जिप–कार–भ्यान र चार सय २० मोटरसाइकलको कर्मचारी खटाएर सुरक्षित पार्किङको व्यवस्था गरेको थियो । गाउँपालिका स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल र नेपाली सेनासमेतले पनि धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गका ठाउँठाउँमा स्वास्थ्य शिविर राखेका थिए । रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यका अनुसार तीर्थयात्रुका लागि नपुग सवारीसाधनका लागि निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रोबसको व्यवस्थापन गरिएकाले आवतजावतमा सहज भएको थियो । मेला अवधिभर निकुञ्जको सडक २४ घन्टा खुला गरिएको थियो ।

त्यसैगरी जिल्लाका एक सय आठ कुण्डमध्ये गोसाइँकुण्डपछिको दोस्रो ठुलो र धार्मिक महत्वको पार्वतीकुण्डमा पनि यस वर्षको जनैपूर्णिमामा विशेष मेला लागेको थियो । समुद्री सतहदेखि दुई हजार ६ सय ९० मिटर उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र ‘आमाछोदिङ्मो’मा जनैपूर्णिमा मेला भर्न लगभग ६ हजार तीर्थयात्री आएको स्थानीयवासीले बताएका छन् । पानी जमेको तालमा रसुवाका हाकु, ग्रे, टिमुरे, स्याफ्रु वृद्धिम, धुन्चे, भार्खु, चिलिमेलगायत गत्लाङवासी, नुवाकोट, धादिङ काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा देशका विभिन्न भागबाट गाडी रिजर्भ गरेर आफ्नै सवारीसाधनबाट आएका थिए । सङ्घीय राजधानी काठमाडौँबाट सानाठुला गाडीबाट एकै दिनमा पुग्न सकिने पार्वतीकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङले बताए ।

वि.सं. २०३२/०३३ तिर नेपाली सेनाको सहयोगमा सडक निर्माण गर्ने क्रममा सो कुण्डले पनि आफ्नो स्वरूप परिवर्तन गर्ने मौका पाएको थियो । त्यही कुण्डको पुरानो नामबाट अहिले गाउँपालिकाको नाम आमाछोदिङ्मो राखिएको छ । शिवले कालकूट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वतीले पनि गोसाइँकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको उपप्रमुख चण्डिका तामाङको भनाइ छ । अर्काे भनाइचाहिँ रजस्वलाका बखत शिवले नदेखून् भनी माता पार्वती आमाछोदिङ्मोमा गोसाइँकुण्डबाट छेलिएर रहेकी हुन् ।

रसुवाको चर्चित गाउँ गत्लाङबाट हिँडेर एक घण्टा र गाडीमा गए आधा घण्टाको दूरीमा पर्ने साबिक गत्लाङ गाविस हाल आमाछोदिङ्मो–३ मा पर्ने पार्वती कुण्डलाई बोझोले ढाकेपछि अहिले निकालेर केही हदसम्म सफा र फराकिलो बनाइएको छ । जनैपूर्णिमाको दिन प्रकृतिको पूजा गर्ने र धामीझाँक्रीले आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गर्ने गरेको उपप्रमुख चण्डिकाको भनाइ छ । स्थानीयवासी बौद्ध तथा हिन्दु धर्मावलम्बी दुवैले मान्ने सो कुण्डमा गई आत्मैदेखि सोचेर मागे चिताएको पुग्नेमा विश्वास गर्छन् । बागमती प्रदेश सरकार, डिभिजन वन कार्यालय र गाउँपालिका मिलेर कुण्ड सरसफाइ गर्ने काम सम्पन्न भएको छ ।

कुण्डमा अहिले एक सय आठ धारासमेत निर्माण गरी पानी आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा दृश्यावलोकनस्तम्भ निर्माणलगायत झाडी फाँडेर वृक्षरोपण गर्ने कामसमेत भएको छ । सडक यातायातले जोडिएको पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बाह्रै महिना आउन थालेको पार्वतीकुण्ड संरक्षण समितिका अध्यक्ष तामाङले बताए । भनिन्छ, पहिलेको कुण्डको गहिराइ नौवटा चौँरीको लामो भुत्लाबाट बनाएको डोरीबराबर थियो । अहिले तालको गहिराइ १३ मिटर रहेको तथा पहिले ६ हेक्टरमा फैलिएको कुण्ड अहिले तीन हेक्टरमा साँघुरिएको छ ।