- सरस्वती न्यौपाने
धुन्चे । पछिल्लो समय रसुवा जिल्ला स्याउ उत्पादन केन्द्रका रूपमा विकास भइरहेको छ । पचासका दशकसम्म यहाँको स्याउ नुवाकोट हुँदै काठमाडौँका बजारसम्म दह्रो उपस्थिति देखाउन सफल थियो । त्यसपछि रसुवावासीलाई समेत स्याउ नौलो हुँदै गयो । पछिल्लो केही वर्षदेखि भने जिल्लामा एक दर्जनभन्दा बढी गाउँमा स्याउ उत्पादन फस्टाउन थालेको छ ।
गोसाइँकुण्ड–६ नागुङका दुई कृषक दाजुभाइ ग्यालदोर्जे र निमादावा तामाङले स्याउबाट मात्रै लोभलाग्दो कमाइ गरिरहेका छन् । उनीहरूले गत वर्ष रु. नौ लाखभन्दा बढीको स्याउ फलाएका थिए । वि.सं. २०७० मा दोर्जे कृषि फर्म नाम दिएर खेती गरिरहेका उनीहरूले १० रोपनी जग्गामा एक हजार सात सय बिरुवा लगाएका थिए । एउटा स्याउको बिरुवा मरेकाले बाँकी बोटमा निकै स्याउ फले । उनीहरूले यो खेती गर्न थालेको चार वर्ष भयो । उनीहरू स्याउबारे थप बुझ्न हिमाली आयोजनाको कार्यालय पुगे, टिभीमा स्याउबारे दिइरहेको रहेछ र उनीहरूले पनि चासो दिएर हेरेपछि थाहा पाएर घर फर्की युट्युबमा फलको प्रजाति र कसरी रोप्ने, कस्तो हावापानीमा फल्छ भन्नेबारे हेरेपछि ज्ञान त्यहीँबाट पाए । उनीहरूले इटाली र सर्बियाबाट फुजी, गाला, गोल्डेन भन्ने जातिका स्याउको बोट प्रदेश सरकारबाट ५० प्रतिशत र आफ्नो ५० प्रतिशत लगानीमा एउटा बोटको रु. एक हजार एक सय ५० मा ल्याएर लगाए ।
तामाङ दाजुभाइ भन्छन्, ‘हाम्रो लक्ष्य भनेकै अबका दिनमा एक वर्षमा एक लाख स्याउ फलाउने रहेको छ । हामी स्याउखेती गर्नुभन्दा पहिले मलेसिया ६ वर्ष बसेर आएका हौँ । चिराइतो खेती थियो, फ्लप भयो, परम्परागत खेती पनि टिकेन । त्यसैले हामीले स्याउखेतीलाई प्राथमिकतामा राखेर मिहिनेत ग¥यौँ र अहिले सफल भएका छौँ ।’ उनीहरूका अनुसार एउटा बोट राम्रो भयो भने पाँच किलोग्रामसम्म फल्छ । बजारको दुःख छैन । हारालुछ नै हुन्छ । यो चौथो वर्षमा एक हजार ६ सय बोटबाट तीन हजार चार सय किलो स्याउ फल्यो । प्रतिकिलो थोकमूल्य रु. दुई सय ५० छ । कति अरिँगाल र चराले खाए, कति झरे । स्याउखेतीबारे तालिम लिन जाँदा बाहिर देशबाट रु. १३ अर्बको स्याउ नेपाल आउने रहेछ भन्ने दुई दाजुभाइले थाहा पाए । त्यसपछि उनीहरूका मनमा लाग्यो, ‘विदेशी स्याउ नेपाल ल्याएर तेत्रो पैसा विदेश जान्छ । हाम्रो देशमा नै प्रशस्तै स्याउ फलाएर नेपालको पैसा नेपालमा नै राखी विदेशी पैसा नेपाल ल्याउन पाए हुन्थ्यो ।’ त्यही सोचले पनि आफूहरू स्याउ खेतीमा लागेको उनीहरू बताउँछन् ।
रसुवाकै ब्राबल भन्ने ठाउँमा पनि नागुङमा लगाइएको स्याउको प्रजाति नै लगाइएको छ । तिनमा केही सामूहिक र केही व्यक्तिगत छन् । त्यहाँका कृषकले पनि स्याउबाट लाखौँ रुपैयाँ आयआर्जन गरेका छन्, राम्रो आम्दानीको स्रोत बनेको छ । ‘मिहिनेतको फल मिठो हुन्छ भनेर बुढापाकाले भनेको त हामीले सुनेका थियौँ, अहिले आफैँले परिश्रम गरेकाले राम्रो आम्दानी गरेका छौँ,’ उनीहरू एकै स्वरमा भन्छन्, ‘मिहिनेत गरे त कसैसँग हात फैलाउनै पर्दैन ।’
प्रतिक्रिया