- श्याम रिमाल
काठमाडौँ । दर्शक–स्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य क्षेत्रका सबैले जान्दछन् । हास्यव्यङ्ग्यात्मक लेखनमा रुसका निकोलस गोगल्स, चेखभ आदि लोकप्रिय छन् । पुराना हिन्दी चलचित्रहरूमा हँसाउनका लागि कम्तीमा एक पात्र अनिवार्यजस्तै हुन्थ्यो जसको नक्कल नेपाली चलचित्र क्षेत्रले पनि गरेको थियो । योगमा हास्य अनिवार्य रूपमा आउने गर्छ । अहिले रुससँग युद्धरत युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की कुनै बेला हास्य कलाकार थिए । नेपाली हास्यव्यङ्ग्य अभिनयमा भने चलचित्र, नाटक र अन्य प्रस्तुतिमा गोपालराज मैनाली, सन्तोषराज पन्त, विश्व हिङमाङ, बुद्धि तामाङ, महजोडी, रामशेखर नकर्मी, ध्रुव हाडा, राजपाल थापा, किशोर मालाकार, लोकनाथ ढकाल, थरेन्द्र बराल, मनोज गजुरेल, राजाराजेन्द्र पोखरेल आदि लोकप्रिय थिए र छन् । नेपाली साहित्यमा हास्यव्यङ्ग्य क्षेत्र लोकप्रिय छ । लेखन तथा अभिनय एवम् व्यङ्ग्यचित्रलेखनदेखि व्यक्तिको नक्कल (क्यारिकेचर) सम्मको क्रियाकलाप यसमा पर्छन् ।
साहित्यका नवरसमध्येको एक हास्यरस यस क्षेत्रमा अचारका रूपमा पनि लिइन्छ । हास्यमा व्यङ्ग्य पनि हुँदा आर्थिक–सामाजिक–राजनीतिक–प्रशासनिक–न्यायिक आदि क्षेत्र र त्यसका सञ्चालक वा व्यक्ति आदिलाई सुध्रिन पनि मद्दत हुन्छ । भानुभक्त आचार्यदेखि लक्ष्मण गाम्नागेसम्मका साहित्यकारले यस विधालाई चम्काउन मद्दत गरेका छन् । भानुभक्तले आफू कुमारीचोकको हिसाब बुझाउन नसकेर कारागारमा रहँदा पद्यमा लेखेको ‘लामुखुट्टे उपियाँ उडुस यी सँगी छन् यिनकै लहडमा बसी, लामखुट्टेहरू गाउँछन् र उपियाँ नाच्छन् म हेर्छु बसी’ र ‘भोलि भोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’ प्रख्यात छ । लेखन क्षेत्रमा वासुदेव लुइँटेल, भैरव अर्याल, केशवराज पिँडाली, सूर्यबहादुर पिवा, श्रीधर खनाल, रामकुमार पाँडे, श्याम गोतामे, लोकेन्द्रबहादुर चन्द, चोलेश्वर शर्मा, मुकुन्द आचार्य, डम्बर घिमिरे, कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, नरनाथ लुइँटेल, विष्णु तिवारी, हृदयप्रसाद मिश्र, माणिकरत्न शाक्य हास्यलेखनमा नाम चलेका लेखक हुन् भने व्यङ्ग्यचित्रमा रवीन सायमी, अविन, वासु क्षितिज आदि छन् । दैनिक, साप्ताहिक तथा केही मासिक पत्रिकाहरूमा पनि कार्टुन नियमित रूपमा छापिन्छन् । अनलाइन न्युज पोर्टलहरूमा पनि दैनिकजसो व्यङ्ग्यचित्र छापिन्छन् । अहिले एआईले यसलाई झन् सजिलो बनाइदिएको छ । टेलिभिजन तथा सामुदायिक एवम् निजी क्षेत्रका रेडियोले हास्य कार्यक्रम चलाइरहेका हुन्छन् । तिनको लोकप्रियता आफ्नै ठाउँमा छ ।
नेपाली चलचित्र जगत्मा वसुन्धरा भुसाल, लक्ष्मी गिरी हास्य अभिनयमा चम्किएका पात्र हुन् । साहित्य लेखनमा भने औँलामा गन्न सकिने लेखक मात्र यस क्षेत्रमा छन् । सुधा त्रिपाठी (सुट, टाइ र सुँगुर), हरिकला उप्रेती (उपद्रोलगायत), सुमी लोहनी (झिँगापुर), ललिता दोषी (दधीचि काठमाडौँ) लगायत यस क्षेत्रमा केही नाम चलेका छन् जसको सङ्ग्रह पनि प्रकाशित छन् । वि.सं. २०६० मै ‘झटारो’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा ल्याइसकेका गायत्री लम्सालका यस क्षेत्रमा ६ वटा कृति आइसकेका छन् जसमा एक हास्यव्यङ्ग्य कवितासङ्ग्रह पनि छ । अर्काे एउटाचाहिँ साधारण कवितासङ्ग्रह हो जुन संयुक्त पनि हो । स्याङ्जा, कोलडाँडे कान्छी यस सालचाहिँ ‘रुद्रघन्टी’ व्यङ्ग्य निबन्ध सङ्ग्रह (मञ्जरी पब्लिेकसन प्रालि) लिएर आएकी छिन् जसको गत असार २२ गते राजधानीमै ‘शल्यक्रिया समारोह’मार्फत विवेचना पनि गरियो ।
‘धेरै देखेका कुरा, भोगेका कुरा, सुनेका कुरा, पढेका कुरा अनि अलि–अलि उनेका कुराहरूको दर्पण लिएर’ लेखिएका कुल ३२ व्यङ्ग्य निबन्धले राजनीतिमा हुने गुटबाजी, राजनीतिकर्मीको निम्नस्तरको चरित्र, प्रशासनको कामकारबाही, नेताले कर्मचारीले हेर्ने निम्तस्तरको दृष्टि, मौलाउँदै गएको सहकारीको विकृति, कुरा काट्ने, खुट्टा तान्ने, अर्कालाई बिगार्ने कामकुरो अर्थात् खुराफात गर्ने, निजी तथा आवासीय विद्यालयमा अत्यन्त न्यून तलबमा काम गर्ने शिक्षकको पीडा, चाकडी प्रथाको महात्म्य, कोरोना महामारीका बेलामा फस्टाएको अनैतिक व्यापार, राजनीतिक कार्यकर्ताले पाउने अवसरै अवसरको वर्णन, ससाना विषयमा पनि छानबिन आयोग बनाएर प्रतिवेदन थन्क्याउने चलन, ठुलाबडाको कर छल्ने प्रवृत्ति, फेसबुकले ल्याएको नैतिक ह्रास, काठमाडौँको फोहोर र यहाँ हुने देहव्यापार, शिक्षाको व्यापारीकरण, सार्वजनिक यातायात सेवाका बसमा यात्रा गर्दाका सास्ती, कोरोनाले ल्याएको विकृति आदि अनेक विषय यसमा अटाएका छन् । शीर्ष निबन्ध ‘रुद्रघन्टी’ले पुरुषवादी चेत र व्यवहारप्रति तीव्र व्यङ्ग्य गरेको छ । ‘रुद्रघन्टे’हरूले रुद्रघन्टीविहीन आफूहरूलाई उत्ताउली, उरन्ठेउली, नक्कली आदि भनी नाम काढे पनि सहेर बस्ने महिलाप्रति पनि लेखिकाको गुनासो छ । भविष्यमा रुद्रघन्टी हुने पुरुषले भन्दा नहुने महिलाले नै संसार हाँक्ने विश्वास व्यङ्ग्यकारले गरेकी छिन् ।
मौलाउँदै गएको सहकारीको विकृतिबारे त उनले स्पष्ट निशाना लगाएकी छिन्, ‘सहकारी खेतीको उन्नत नारा ‘टोल–टोलमा सहकारी, लुट्न सक्नेको घरमा पैसाको भकारी’ निकै लोकप्रिय बनेको छ । यस्तै व्यङ्ग्यले उनले केही परिवेशमा भएका विकृतिलाई उदाङ्ग पार्ने प्रयास गरेकी छिन् । ‘सहिद नै सहिद भएको देशमा सहिदका सपनालाई खेलबाड सम्झने नेतृत्व वर्ग भएको मुलुकमा मैले लेखेका कुराले समाज परिवर्तन गर्छ भन्ने कुरामा विश्वास त मलाई छैन… आफूलाई असल बनाउन सकेँ भने यस (कृति) को पूर्ण उपलब्धि भएको ठान्ने छु,’ यसरी व्यङ्ग्यकारले नम्रताका साथ ‘के भन्नु–के नभन्नु !’ भूमिका दिएकी छिन् । प्रकाशनका तर्फबाट गाम्नागे भन्छन्, ‘भैरव अर्याल, केशवराज पिँडालीहरूपछि एउटा पनि राम्रा हास्यव्यङ्ग्यकार जन्मिएनन् भन्ने आलोचकहरूलाई गायत्रीले गतिलो जवाफ दिनेछिन्,… हास्यव्यङ्ग्यमा खोइ महिला भनेर प्रश्न गर्नेहरूलाई गायत्री एउटा स्पष्ट जवाफ हुनेछिन्…।’ प्रा.डा. गोविन्दराज भट्टराईले भने आफ्नो भूमिकामा गायत्रीका निबन्धहरूले मानव समाजका अवाञ्छित तत्व र शक्तिकेन्द्रमाथि निर्ममतापूर्वक प्रहार गरेको जनाएका छन् ।
निजामती सेवामा रहेकी लेखिकाको लेखनमा परिपक्वता छ, वस्तुगत विषयमा प्रशस्त ज्ञान छ । प्रवाहमय शैलीमा व्यङ्ग्य अगाडि बढेका छन् । व्यङ्ग्य निबन्धसङ्ग्रह भनिएकाले प्रत्येक रचना पढ्दा मसिनो हाँसो मात्र हाँसिन्छ । व्यङ्ग्यलेखनमा हास्यरस पनि मिसाएको भए पढ्दा झन् रमाइलो हुन्थ्यो । ‘सेम माने उस्तै’ जस्ता केही शब्दावली दोहोरिएका छन् भने वर्णविन्यासमा कतै अशुद्धि त कतै एकरूप छैनन् । ‘खुट्टा तानौँ’ र ‘फेरि खुट्टा तानौँ’ दुई शीर्षक उस्तै छन् । कमै लेखिने व्यङ्ग्यलेखनमा कलम चलाउने महिला र पुरुषहरू बढ्दै गएमा हाम्रा सर्वत्र छाएको विकृति सुधार्न बल पुग्थ्यो कि ?