हाम्रा नीतिनिर्माताले सिक्नुपर्ने अस्ट्रेलियाको निर्माण अनुशासन

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०८१, बुधबार १६:०८
  • हरिप्रसाद रिमाल

(प्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हरिप्रसाद रिमाल अहिले अस्ट्रेलियामा हुनुहुन्छ । केही समयअघि ‘त्रिशूली प्रवाह’का स्तम्भकार रहनुभएका उहाँले यसअघि पनि त्यहाँ गई आफ्ना अनुभूति र अनुभव लेख्नुभएको थियो जुन हामीले ‘त्रिशूली प्रवाह’मा प्रकाशन गरेका थियौँ । आगामी दिनमा पनि उहाँका भावना हामी प्रकाशन गर्दै जानेछौँ । उहाँको अनुभूति र अनुभव पाठकका लागि पनि सिकाइ हुने अपेक्षा गरेका छौँ । – सम्पादक)

म अहिले अस्ट्रेलिया, मेलबर्नको ग्लेन ब्रुक भन्ने ठाउँमा छोरीज्वाइँकामा छु । मेरो काम घुमघाम गर्ने, नाति खेलाउने, उसको बाललीला हेरेर रमाउने, छोरी र श्रीमतीले तयार पारेको स्वादिलो र स्वस्थकर भोजन गर्ने, मन लागे अलिकति पढ्ने–लेख्ने र आरामसाथ बस्ने भइरहेको छ ।
घुमघाम गर्दा भने थालीपुलक न्याय (भात पाक्यो कि पाकेन भन्ने जान्न एक–दुई भातका सिता छाम्ने तरिका) जस्तै गरी म यस देशको विकास नियालिरहेको छु । यहाँ जताततै विकासै विकास देख्न पाइन्छ । विकास पनि कस्तो भने युग जाने विकास, पचासौँ वर्षसम्म मर्मतसम्भार नगर्दा पनि जस्ताको तस्तै रहने खालको दिगो विकास । पिच गरिएका पुराना सडक पनि सबै ठाउँमा नयाँजस्तै देखिन्छन् । सिमेन्टका स्तरयुक्त स्ल्याब बिछ्याइएका फुटपाथ झन्डै हाम्रा सडकजत्रा छन् । फुटपाथ र सडकका बिचका भागमा फराकिला हरियालीयुक्त खाली ठाउँ छन् भने वातावरणीय दृष्टिले उपयुक्त बोटबिरुवाले सहरलाई सुशोभित तुल्याइरहेका छन् । दूरगामी सोचका साथ बनेका छन् सबै निर्माण । फुटपाथका स्ल्याबमुनि बिजुलीका तार र त्यसमुनि ढल छ । कतै ढल वा बिजुली मर्मत गर्नुपरे शङ्का लागेका ठाउँको स्ल्याब झिक्यो, मर्मत ग¥यो अनि फेरि स्ल्याब बिछ्याइदियो । यहाँ गुजुल्टिएका इन्टरनेटका तार कतै पनि देख्नुपर्दैन ।

हामीकहाँ त सडक खनेरै जलविद्युत्को तार बिछ्याइँदै छ, त्यो पनि बिग्रिएमा सबै सडक खोतल्नुपर्ने पाराले । त्यो काम सकिन पाएको छैन, फेरि भत्काउने पालो दूरसञ्चार कम्पनीको हुन्छ । उसले काम नभ्याउँदै सडकको दुर्गति बनाएर जनतालाई सास्ती दिने काम ढल निकास विभागको हुन्छ । यहाँ समन्वय छ र हामीकहाँ समन्वय अत्यन्त कमजोर खालको छ । काम त यहाँ पनि ठेक्कापट्टाबाट नै हुन्छ । सरकारी एवम् सार्वजनिक मात्र होइन कि निजी घरसमेत ठेकेदारले नै बनाइदिन्छन् । व्यक्तिव्यक्तिले मनलाग्दी पाराले घर बनाउने छुट यस देशमा कसैलाई हुँदैन । तोकिएका दरमा सबै काम हुन्छ । गुणस्तरमा अलिकति पनि खोट लगाउने ठाउँ रहन्न । सबैलाई आफ्नो प्रतिष्ठामा आँच आउँछ कि भन्ने भय हुन्छ । यहाँ ठेकेदार धन कमाउनेभन्दा पनि प्रतिष्ठा कमाउने गरी सेवा भावनाले काम गर्दा रहेछन् भन्ने निर्माणको स्तरले अनुमान गर्न सकिन्छ । हामीकहाँ जस्तो भर्खरै बनाएको पुल एक सवारीसाधन पनि नगुड्दै भासिए–भत्किए पनि, कालोपत्रे गरिएको सडक ६ महिना नपुग्दै विरूप बने पनि शक्तिकेन्द्रको आडले उम्कन सक्ने छुट यहाँ कसैले पाउँदैन होला ।

गृह–निर्माणको अनुशासन यहाँ कडाइका साथ पालना गरिएको हुन्छ । जुन भेग वा क्षेत्रमा जसरी जुुन डिजाइनअनुसार बनाइनुपर्ने हो, त्यसरी बनाइएका हुन्छन् घर । आवासीय क्षेत्रका घर प्रायः एकतले हुन्छन् । अत्यन्तै फराकिला उद्यान र खाली हरिया चौर त कति हुन् कति !
सुग्घरसफाइको त के बयान गर्नु ? बतास लाग्ने ठाउँमा पनि धुलो उड्दैन । जता हेरे पनि पूरा सफासुग्घर छन् सडक–गल्ली । बाहिर सफा भए मात्र आफ्नो घर पनि सफा हुन्छ भन्ने वास्तविकता जनतालाई पूरै थाहा छ जस्तो लाग्छ । हाम्रामा भने अझै बालेनजस्ता असल नगर प्रमुखका सुझाव सकारात्मक सोचका साथ सबै जनताले कहिले ग्रहण गर्न सक्लान् ? यो चिन्ताको विषय भएको छ ।

बिजुली निभेको जनतालाई थाहा छैन, धारामा चिसो र तातो पानी नआएको र पाइपबाट ग्यास आउन बन्द भएको क्षण हुँदैन । भरपर्दो इन्सुरेन्स व्यवस्थाले बिरामी पर्दाको चिन्ता छैन । गरिखाने काम नभएका कोही छैनन् । घरैपिच्छे होइन कि व्यक्तिपिच्छे सवारीसाधन कार आदि छन् । सवारीसाधनले धुवाँ उडाएको भने कतै देख्नुपर्दैन । प्रायः सबै अत्याधुनिक सुविधाजनक आवासमा बस्छन् । सबै ठाउँमा सन्तुलित विकास पुगेको छ भन्ने दृष्टान्त भिक्टोरिया प्रान्तको सुदूर मानिएको ककमिल्दुरा नामक ठाउँको विकास हेर्दा स्पष्ट हुन्छ । जनता गुणस्तरयुक्त जीवन बाँच्छन् । यिनै कुरा त होलान् वास्तविक विकास भनेका । म अहिले यस देशको समुन्नति देखेर कल्पिरहेछु– मेरो देशमा यस्तो विकास कहिले आउला ?

कामपा–५
हाँडीगाउँ, काठमाडौं
हाल : अस्ट्रेलिया