तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०८१, बुधबार १६:३८
Buddha Eyes

न्वाकोटले विगतमा हुने गरेका सबैखाले व्यवस्था परिवर्तनका आन्दोलनमा साथ र सहयोग गरेकै हो । काठमान्डुसँग जोडिएकाले पनि थुप्रैपटक उपल्लो भूमिका खेलेका न्वाकोटेमध्ये सुकिलामुकिला, टाठाबाठाले ‘तर’ मारिरहेका छन् । सदरमुकाम विदुरवासी भने दुई महिनादेखि खानेपानीको लोडसेडिङ खेप्दा पनि कहीँकतै उजुर/बाजुर, गुनासो नगर्दा मेयरसाप दङ्ग ! लोडसेडिङ भन्ने शब्द नै शब्दकोशबाट हराइसके पनि विदुरमा भने ब्युँताउने उपभोक्ता समितिका पदाधिकारीलाई नागरिक अभिनन्दन गर्नुपर्ने सुझाव तेस्रो आँखाको छ । उपभोक्ता आकाशबाट इन्द्र देवताले निःशुल्क पानी पारेर हो कि दलका नेताको आदेश पर्खेका के हुन् भैरवी, वनदेवी, जाल्पादेवी नै जानून् । नगरवासीले पानीको हाहाकार सहनुपरे पनि नगरका जनप्रतिनिधि भोट घट्छ भनेर कानमा तेल भर्दै बसेका जस्ता छन् । कसो सञ्जीव सर ?