- सरस्वती न्यौपाने
धुन्चे । रसुवा जिल्ला, लाङटाङ, क्यानजिनमा रहेको नेपालकै पहिलो चिज उत्पादन केन्द्र बढ्दो जलवायु परिवर्तनका कारण प्रभावित भएको छ । तीन हजार आठ सय ७० मिटर उचाइमा रहेको सो केन्द्रमा जलवायु परिवर्तनले चिज उत्पादनमा विगतदेखि कमी आइरहेको बताइन्छ ।
केन्द्रका प्रमुख ग्याल्पो तामाङका अनुसार बढ्दो तापमानका कारण हिमालमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको छ । ग्लोबल वार्मिङले समयमा हिउँ नपर्ने, बढी वर्षा हुने, स्थानीय जातका घाँस र रुखपात मासिँदै जान थालेको उनले बताए । नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङटाङ आउने आन्तरिक तथा बाह्य पर्यटकले नाक (याकको पोथी प्रजाति) र चौरीको दुधबाट बनेको चिज खाएर आनन्द लिने गर्छन् । पर्यटकका कारण नै लाङटाङको चिज लोकप्रिय बनेको हो । तर, अहिलेको तापक्रम वृद्धिले गर्दा नयाँ चुनौती झेल्नुपरेको स्थानीयवासी चौँरीपालक लाक्पा शेर्पाले बताए ।
‘हिमाली भेगमा घाँसेभूमिको अवस्था बिग्रेको र पोषिलो घाँस उत्पादनमा कमी भएकाले किसानले पालेका याक, नाक, चौरी तथा अन्य गाईवस्तुले दुध कम दिने भएकाले चिज उत्पादन कम भएको छ । चिज उत्पादन कम हुँदा मूल्य बढेको उनले बताए । ‘यसै वर्षदेखि चिज उत्पादनका लागि चाहिने दुधको अभावका कारण मागबमोजिमको उत्पादन भइरहेको छैन,’ केन्द्र प्रमुख तामाङ भन्छन् । हिमालमा समेत खडेरीले खोलानालामा पानीको मात्रा घटेको छ । गोरखा भूकम्पका कारण चिज केन्द्रमा काम गर्ने दक्ष कामदारको मृत्यु भएकाले पनि अलि असर परेको छ । यस्तै परिणाम देखिइरहेमा केही वर्षमा केन्द्र नै बन्द गर्नुपर्ने देखिने प्रमुख तामाङ बताउँछन् । उनका अनुसार हिमाली भेगमा फुल्नुपर्ने फूल समयअगावै फुल्छन् । हिमालमा पनि गर्मी महसुस हुन थालेको वडाध्यक्ष डिन्डुप ग्याल्पो तामाङ बताउँछन् ।
लाङटाङमा हाल करिब चार सय चौरी, याक र नाक छन् जुन ६ कृषकले पालिरहेका छन् । वि.सं. २०८० मा १९ हजार लिटर दुधबाट एक हजार नौ सय केजी चिज बनेकामा २०८१ साउनमा ६ सय केजी चिज उत्पादन भएको थियो । केन्द्र प्रमुख तामाङका अनुसार दुध भने तीन हजार ६ सय लिटर उत्पादन भएको थियो । ‘पहिले त थामिनसक्नुको दुध उत्पादन हुन्थ्यो । त्यहीअनुसारको बिक्री–वितरण पनि भइरहन्थ्यो । अहिले सोचेभन्दा कम छ,’ कृषक तेन्जिङ लामा गुनासो गर्छन् । अर्का कृषक निमा तामाङ पनि आफ्नो दुःख व्यक्त गर्दै भन्छन्, ‘के गर्नु, आफ्नो दुःख आफैँसँग छ, दुःख गरेअनुसार फल कमै आउँछ, अहिले जसोतसो चलेकै छ ।’ यहाँको चिज र दुध काठमाडौँको लैनचौरस्थित नेपाल दुग्ध संस्थान पुर्याइन्छ । यहाँ घुम्न आउने केही आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीका रूपमा चिज र नौनी लैजाने गरेका छन् । पछिल्लो समय युवापुस्तामा चौँरीपालन व्यवसायप्रति रुचि घटेको वडाध्यक्ष ग्याल्पो तामाङ बताउँछन् । पर्यटक क्षेत्र भएकाले चौँरीको दुध एक लिटरको दुई सयमा बिक्री हुँदैन, एक गिलास चिया भने दुई सयमा सहजै बिक्री हुन्छ । यहाँका बासिन्दा अधिकांश अहिले चाँैरीपालन व्यवसाय छाडेर होटेल सञ्चालनमा लागेकोसमेत उनले बताए । २०७२ को भूकम्पले चौँरीगोठसहित तीन सयभन्दा बढी चौँरी पुरिएका थिए । सरकारले चौँरीपालन पेसालाई आकर्षित गर्न चौरी खरिदमा अनुदान दिने, पशु बिमा गरिदिने, दुधको पैसा दैनिक भुक्तानी गरिदिने व्यवस्था मिलाउन सके चौँरीपालन बिस्तारै पुरानै लयमा फर्किने केन्द्रका प्रमुख ग्याल्पो बताउँछन् ।