स्थानीय तहको प्रतिस्पर्धामा धादिङका दुई पालिका उत्कृष्ट

  • त्रिशूली प्रवाह
  • २० भाद्र २०८१, बिहीबार ११:५३

धादिङबेँसी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहबिच गराएको प्रतिस्पर्धाका आधारमा धादिङका दुई पालिकासहित ६ वटालाई उत्कृष्ट घोषणा गरी सम्मान गरेको छ । छानिएका पालिकालाई गत हप्ता मन्त्रालयमा कदरपत्रले सम्मान गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटाले अनलाइन आवेदन दिएका थिए । लिजामा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फ नीलकण्ठ र गाउँपालिकातर्फ बेनीघाट–रोराङ सर्वाधिक अङ्कसहित देशकै उत्कृष्ट बनेका हुन् ।

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका उपसचिव रेशम कँडेलले पालिकाहरूले संस्थागत सुशासन र गरेको कामको गुणस्तर परीक्षणपछि तीन–तीन गाउँपालिका र नगरपालिकालाई उत्कृष्ट घोषण गरिएको हो । धादिङको नीलकण्ठ नगरपालिका (९२.५०), रूपन्देहीको तिलोत्तमा नगरपालिका (९२) र चितवनको रत्ननगर नगरपालिका (९१.५) उत्कृष्ट भएका छन् । त्यस्तै, धादिङको बेनीघाट–रोराङ गाउँपालिका (८७.२५), गुल्मीको रूरूक्षेत्र गाउँपालिका (८७) र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका (८७) उत्कृष्ट भए । चितवनको राप्ती नगरपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु र सप्तरीको विष्णुपुर गाउँपालिका प्रतिस्पर्धामा सहभागी नै भएनन् । एक सय पूर्णाङ्कलाई आधार मानेर पालिकाको मूल्याङ्कन गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा नमुनाका रूपमा लिएर पालिकाको छनोट हुन्थ्यो । तर, यस वर्ष बृहत् रूपमा पालिकाको गुणस्तर परीक्षण गरेरै उत्कृष्ट घोषण भएको कँडेलले जानकारी दिए । पालिकाले आव २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कन हेरिएको थियो ।

‘सङ्घ सरकारले स्थानीय तहलाई दिने अनुदानमा उत्कृष्ट पालिकालाई विशेष प्राथमिकता हुन्छ,’ कँडेलले भने, ‘यसपालि उनीहरूले गरेको कामको गुणस्तर परीक्षणबाट उत्कृष्ट छनोट गरिएको छ । मूल्याङ्कनपछिको सम्मानले पालिकाका विकासमा दीर्घकालीन महत्व राख्छ ।’ मन्त्रालयले यसका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७, पहिलो संशोधन, २०७८ बनाएको छ । सङ्घीय मामिला मन्त्रालयले विभिन्न १० विषय, क्षेत्र र सूचकलाई आधार मानेर पालिकाको मूल्याङ्कन गर्छ । मूल्याङ्कनका लागि मुख्य सूचकभित्र विभिन्न एक सय ६७ उपसूचकसमेत मूल्याङ्कनका आधारका रूपमा राखिएको थियो । उत्कृष्ट भएका सबै पालिकाले ती सूचक पूरा गरेका छन् । त्यसैका आधारमा उत्तीर्ण अङ्कसहित मन्त्रालयले छनोट गरेको हो ।

उत्कृष्ट हुने पालिका बजेट समयमै ल्याएर, कार्यालय भवन एवम् स्वास्थ्यचौकी भवन बनाएर, बिनाब्याज ऋण दिएर महिलालाई उद्यमशील बनाएर, विपन्नलाई स्वास्थ्य बिमा गराएर, निःशुल्क औषधि दिएर, विपत् व्यवस्थापनमा विशेष योजना बनाएर, विकासमा समुदाय परिचालन गराएर, वातावरणलाई स्वच्छ र हराभरा बनाएर, कार्यविधिबाट मात्रै योजना चलाएर सुशासनलाई विशेष ध्यान दिएका आधारमा छानिएका थिए । उत्कृष्ट हुनेको मूल्याङ्कनको विषय क्षेत्र र सूचक शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य र समन्वय छन् ।

विभिन्न सयवटा सूचकमा भएको मूल्याङ्कनका आधारमा आव २०७९/०८० मा नगरपालिका उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले बताए । सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकमा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ,’ उनले भने,’ यसमा जनप्रतिनिधि, कर्मचारीको काम र नगरवासीको सुझाव तथा उत्प्रेरणा महत्वपूर्ण छ ।’ यो नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । बेनीघाट–रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहितालगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बताए । ‘शासक नभएर जनताको सुख, दुःखको सारथि भएर काम गरिरहेका छौँ । जनताप्रति उत्तरदायी भएर काम गरे सफलता मिल्छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भने ।