साउनमा मात्रै रसुवा भन्सारबाट डेढ अर्ब राजस्व सङ्कलन

  • त्रिशूली प्रवाह
  • २० भाद्र २०८१, बिहीबार १२:१९
  • सरस्वती न्यौपाने

धुन्चे । रसुवागढी नाकाको सडक गतिलो नहुँदा/नहुँदै पनि चालू आवको पहिलो महिना साउनमा करिब डेढ अर्ब राजस्व सङ्कलन भएको छ । रसुवा जिल्ला गोसाइँकुण्ड-२ टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ साउनमा रु.१ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालयले अघिल्लो वर्ष साउनमा रु. एक अर्ब तीन करोड मात्र राजस्व सङ्कलन गरेको थियो । चालू वर्षको पहिलो महिनामा राजस्व सङ्कलन हुँदा रु. ५१ करोड अर्थात् ५० प्रतिशतले बढेको प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले ‘त्रिशूूली प्रवाह’ साप्ताहिकलाई बताए । उनका अनुसार चीनबाट नेपालतर्फ फलफूल, ओखर, स्याउ विभिन्न ढाँचाका सवारीसाधनका साथै तिनीहरूका पार्टपुर्जा, थर्मस, विद्युतीय सामग्री, बेरिएको कपडा, चप्पल, जुत्ता आयात भइरहेका छन् । बेत्रावतीदेखि रसुवागढीसम्मको सडकमा एक सयभन्दा बढी स्थानमा खाल्डाखुल्डी, कहीँ भासिएका हुँदा/हुँदै पनि राजस्व गत वर्षभन्दा बढी उठेको, तर सडक सुरक्षामा भने सम्बन्धित निकायको ध्यान नपुगेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । जिल्लाभित्र बनिरहेका जलविद्युत् आयोजनाका लागि सोही नाकाबाट चिनियाँ उपकरण आयात भइरहेकाले साउनमा राजस्व बढी उठेको बताइएको छ । सडकको क्षमताभन्दा बढी सामग्री बोकेको ट्रक गुडाएका कारण ठाउँठाउँमा सडक भासिएकाले नियमित यात्रुवाहक बस गुडाउनसमेत मुस्किल भइरहेको छ ।

उत्तरी छिमेकी देश चीनबाट आयात गरिएका सामान रसुवागढी नाका हुँदै ल्याउँदा लागत कम पर्ने र दुई सातामै नेपाल आइपुग्ने भएपनि रसुवागढी नाकाको सडक गतिलो नहुँदा व्यवसायी समुद्री मार्ग रोज्न बाध्य छन् । सडक पूर्वाधार भरपर्दो नहुँदा चीन र नेपालबिचको रसुवागढी नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम हुँदै गएको छ । नेपाली व्यवसायीले महँगो, संवेदनशील र ठुलो परिमाणमा आयात गर्ने सामान समुद्री मार्ग भारत हुँदै वीरगन्जबाट ल्याउने गरेका छन् । वर्षात्को समय चीन र नेपालतर्फको सडकमार्ग बाढीपहिरोले र हिउँदका समयमा चीनतर्फको सडक हिउँ परेर अवरुद्ध हुने गरेको छ । बाह्रै महिना सडकमार्ग चल्न नसकेका कारण रसुवागढी नाकाभन्दा ढिलो र लागत बढी पर्ने भएपछि समुद्री मार्गबाट सामान ल्याउन व्यवसायी बाध्य भएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वाध्यक्ष एवम् संरक्षक बच्चु पौडेलले बताए । रसुवागढी मात्र नभई सिन्धुपाल्चोकको तातोपानी नाका पनि बाह्रै महिना सञ्चालन हुन नसकेको जनाइएको छ ।

चीन र नेपालबिच सामान आयात–निर्यातका लागि अहिले रसुवागढी र तातोपानीसहित १४ नाका सञ्चालनमा छन् । तीमध्ये रसुवागढीसहित तीन अन्तर्राष्ट्रिय नाका नै हुन् । नेपालको चीनसँग जोडिएको नाका र नाकासम्म पुग्ने भरपर्दो सडकमार्गलगायत पूर्वाधार नहुँदा दुई देशबिचको व्यापारको ठुलो हिस्सा समुद्र र हवाईमार्गबाट हुने गरेको छ । दुई देशबिचको कुल व्यापारमा एकतिहाइ मात्र दुई देशबिचको सडकमार्गबाट आयात–निर्यात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल र चीनबिच कुल रु. तीन खर्ब एक अर्ब ३६ करोड ३२ लाखबराबरको व्यापार भएको थियो । तर, चीनतर्फका नाकाबाट रु. एक खर्ब दुई अर्ब ९९ करोड ९० लाखको व्यापार भएको भन्सार विभागको तथ्याङ्क छ  जुन चीनतर्फ भएको कुल व्यापारको ३४.१७ प्रतिशतबराबर हो । बाँकी ६५.८३ प्रतिशत व्यापार भने भारत र हवाईमार्गबाट हुने गरेको छ । यसबिचमा नेपालले चीनबाट रु. दुई खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको आयात गर्दा रु. दुई अर्ब ५८ करोड ८६ लाखको निर्यात गरेको छ । सोमध्ये दुई देशबिचका नाकाबाट भने नेपालले कुल रु. एक खर्ब एक अर्ब २५ करोड ३५ लाखको आयात र रु. एक अर्ब ७४ करोड ५५ लाखको निर्यात गरेको छ ।

नेपाल र चीनबिच सञ्चालनमा रहेका नाका मौसमबाट प्रभावित हुने कारण तुलनात्मक रूपमा समुद्री र हवाईमार्गबाट बढी व्यापार भइरहेको छ । ‘वर्षाका समयमा चीन र नेपाल दुवैतर्फ बाढीपहिरोको जोखिम धेरै छ, सडक अवरुद्ध भइरहन्छ, हिउँदका समयमा भने चीनतर्फ धेरै हिउँ परेर ढुवानीमा समस्या हुने गरेको छ,’ पूर्वाध्यक्ष पौडेलले भने, ‘सञ्चालनमा रहेका दुई ठुला नाका रसुवा र तातोपानी बाह्रै महिना चल्न नसक्ने भएका कारण दुई देशबिचको व्यापार नाकाबाट भन्दा समुद्री मार्गबाट बढी हुने गरेको हो ।’ खासगरी भूकम्प र कोभिडका कारण प्रभावित हुँदा सो नाकाबाट हुने व्यापार अनुपात कम देखिएको भए पनि क्रमशः बढ्दो अवस्थामा रहेको पौडेलले बताए । ‘खासगरी भारत हुँदै समुद्री मार्गबाट ल्याउँदा दुई महिना लाग्छ भने सडकमार्गबाट ल्याउँदा १५-१७ दिनमा सामान आइपुग्छ, तर लागतचाहिँ समुद्री मार्गकै केही सस्तो छ,’ उनले भने, ‘यद्यपि, दुई देशबिचको व्यापारका लागि बन्दरगाह, सडकलगायत पूर्वाधार निर्माणसमेत भइरहेका सन्दर्भमा नाकाबाट हुने व्यापारसमेत बढिरहेको देखिन्छ ।’

आव २०८०/०८१ मा रसुवाबाट रु.६० अर्ब ९१ करोड दुई लाखको आयात हुँदा रु. एक अर्ब ७३ करोड ६२ लाखको निर्यात भएको छ । नेपालको कुल आयातमा रसुवा नाकाको हिस्सा ३.८२ प्रतिशत छ । कुल निर्यातमा रसुवाको हिस्सा १.१४ प्रतिशत छ । नेपाल–चीन पारवहन सन्धिको प्रोटोकलले दुई देशबिचका ६ नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा (केरुङ), कोदारी (तातोपानी), किमाथांका (सङ्खुवासभा), नेचुङ (कोरला), यारी (हिल्सा) र ओलाङचुङगोला (ताप्लेजुङ) नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरेको छ । त्यसमध्ये रसुवा, तातोपानी र हिल्सा मात्रै सञ्चालनमा छन् । चीन नेपालको भारतपछि दोस्रो ठुलो व्यापार साझेदार हो । नेपालको कुल व्यापारमा चीनतर्फको हिस्सा १७.३६ प्रतिशत छ । तर, दोस्रो ठुलो व्यापार साझेदारसँगको व्यापार घाटा भने चुलिँदो अवस्थामा छ । आव २०८०/०८१ मा नेपालले रु. दुई खर्ब ९८ अर्ब ७७ करोडको आयात गर्दा रु. दुई अर्ब ५८ करोडको मात्रै निर्यात गर्न सकेको छ । उक्त आवमा नेपालले रु. दुई खर्ब ९६ अर्ब १८ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । जुन व्यापार घाटा अघिल्लो आव २०७९/०८० का तुलनामा रु.७५ अर्ब २३ करोडले बढी हो । त्यसअघिको आव २०७९/०८० मा नेपालले रु. दुई खर्ब २२ अर्ब ७१ करोडको आयात गर्दा रु. एक अर्ब ७६ करोडको निर्यात गरेको थियो जसमा नेपाललाई रु. दुई खर्ब २० अर्ब ९५ करोड व्यापार घाटा भएको थियो ।