विदुर (नुवाकोट) । म्यागङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङ र विदुर-७ कुभिन्डे बस्ने त्यति नै वर्षका लालबहादुर तामाङबिच भदौ १४ गते दिउँसो झगडा हुँदा चमारको स्थानीय देउराली गाउँमा घटनास्थलमा मृत्यु भएको छ ।
छिमेकीको घेवा (किरिया) को कार्य सकी फर्किने क्रममा बाटामा दुईजनाबिच वादविवाद भई झगडा हुँदा लालबहादुरले चमारलाई एक्कासि ढुङ्गाले टाउकामा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । सो सूचनाका आधारमा तत्काल प्रहरीचौकी देउरालीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्व र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएर गएको र लालबहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।