विदुर । महिला उद्यमी सङ्घ नेपाल नुवाकोटले शनिबार जिल्लाका महिला उद्यमीको भेला गरी बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
महिला उद्यमी सङ्घ नेपाल, नुवाकोट आयोजक र लायन्स क्लब अफ काठमाडौँ, स्वयम्भू सहआयोजक रहेको सो कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले महिलाको समृद्धिबिना देश आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताए । उनले प्रदेश सरकारले महिलामुखी कार्यक्रम ल्याउन लागेको जानकारीसमेत दिए । जिल्लाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने महिला समूह र उद्यमीलाई मुख्यमन्त्री तामाङले सो कार्यक्रममा सम्मान गरेका थिए ।
बृहत् शिविरमा त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र तामाङसहित पाँच स्वास्थ्यकर्मीको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको थियो । कार्यक्रममा महिला उद्यमी सङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला सशक्तीकरणमा उद्यमको महत्व र लायन्स क्लब अफ काठमाडौँकी संयोजक ट्रिजा ढकालले महिलामा हुने स्तन र पाठेघर अर्बुदरोगसम्बन्धी प्रशिक्षण दिएका थिए । महिलाका लागि आवश्यक सामग्रीको एक हजार पोकासमेत कार्यक्रममा वितरण गरिएको थियो । वितरित सामग्रीमा जीवनजल, मास्क, सेनिटरी प्याड, सिटामोल, हात धुने साबुन रहेको आयोजकले बताएको छ । कार्यक्रममा जिल्लाका महिलाले उत्पादन गरेका २० प्रकारका सामग्रीको ६ कक्ष राखी प्रदर्शन गरिएको थियो । सो अवसरमा तिजगीत र नृत्यसहित दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा करिब दुई हजार महिलाको सहभागिता रहेको सङ्घकी नुवाकोट अध्यक्ष गीता अमात्यले बताइन् ।