- शान्ति लामा
जतिखेर ब्रह्माण्डको सृष्टि हुँदै थियो, ठिक त्यतिखेर ब्रह्मलोकमा ब्रह्माले धेरै कुराको सृष्टि गरिसकेका थिए । उक्त नवीन लोकमा नारीको पनि महत्वपूर्ण र गहन जिम्मेवारी थियो । उस बखतका त्रिलोकेश्वर/अन्तरयामी ब्रह्मा आर्किटेक्चर इन्जिनियरका रूपमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेर ६ वटा लोकको परिकल्पना गर्दै थिए । त्यही बेला तीन मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्दै अर्थ मन्त्रालय लक्ष्मीले, रक्षा मन्त्रालय दुर्गाले र शिक्षा मन्त्रालय सरस्वतीले सम्हालेर आएका थिए । तिज प्रारम्भको मान्यता त्यतिबेलालाई मानियो जतिखेर ब्रह्मा पिताको मनलाई पगाल्न आफूले चाहेको महादेव पति प्राप्तिका लागि हिमालयकी पुत्री पार्वती संयमता साथ मौन निराहार व्रत बसिन् । पार्वतीको आफ्नो माग पूरा गर्ने सत्याग्रह थियो, जुन बिपीको समाजवादसँग मेल खाएको छ । त्यो शान्तिपूर्ण आन्दोलन थियो ! यो माक्र्सवादको जस्तो बलपूर्वक वर्गसङ्घर्ष नगरी दिमाग र चेतना प्रयोग गरेर पार्वतीले आफूले मन पराएको पतिलाई पिताले ज्वाइँका रूपमा स्वीकार गर्न बाध्य बनाएकी थिइन् ।
विशेषगरी हिन्दु नारीले धार्मिक रूपमा र गैरहिन्दु नारीले सामाजिक रूपमा मनाउने यो पर्व तिथिअनुसार भाद्र शुक्ल द्वितीयाबाट सुरु भएर पञ्चमीको दिन व्रतालु दिदीबहिनीले खोलामा स्नान गरेर सप्तर्षिको पूजा गरिसकेपछि सम्पन्न हुन्छ । देवी–देवताका पालादेखि अहिलेको कृत्रिम बौद्धिकताको युगसम्म आइपुग्दा हामीले आफ्नो परम्परा, संस्कार र संस्कृतिलाई मानव जीवन दर्शनको एक अभिन्न अङ्ग बनाएर ल्याउने गरेको हाम्रो अभ्यास छ । यसको निरन्तरताका लागि धर्मगुरु, पण्डितको प्रवचन सुनेर, घरका ठुलाठालुले गरेको क्रियाकलापबाट सिकेर, धार्मिक ग्रन्थ पुराणमा रहेका महान् वाणी र सन्देशलाई अँगालेर मान्दै, मनाउँदै गरेको तिजको नेपाली समाजमा छुट्टै मौलिक महत्व छ । चाडपर्व त्यसै पनि आफन्त, मान्यजन, इष्टमित्र, साथीसंगीसँग भेटघाट गर्ने, मिठोमसिनो जुटाएर खाने, सधैँका कामलाई छाडेर आराम गर्ने, धार्मिक धरातलमा टेकेर पाठपूजा, ध्यान, दर्शन गरिने अवसर हो । तिजले पनि यस्तै एउटा मान्यता बोकेको छ । यसमा विशेषगरी अविवाहित महिला आफूले मन पराएको मान्छेलाई पतिका रूपमा प्राप्त गर्न र विवाहित दिदीबहिनी आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । सो व्रत आजका सन्दर्भमा आमरण अनशन हो जुन कुनै तत्व, व्यक्ति, वस्तु प्राप्तिको तथा आफ्नो लक्ष्य प्राप्तिका लागि गरिने एकखाले सङ्घर्षका रूपमा रह्यो । यो आफ्नो लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने निरन्तर लगन र मिहिनेत अनि ध्यान तथा एउटा सिकाइ पनि हो ।
भक्तालु महिला पूजापाठका लागि मठमन्दिर जाने गर्छन् । साथै उनीहरू पूजा गर्ने, दर खाने, रमाइलो गर्ने, लामो समयपछि भेट भएका साथीसंगीसँग मनका बह बिसाउने पनि गर्छन् । यी र यस्ता आत्मीय, पवित्र क्रियाकलापले पति–पत्नीबिचको माया प्रगाढ र कसिलो हुने, आफ्न परिवारमा सद्भाव, माया बढ्ने, लामो समयदेखि गुम्सिएर रहेका मनका भावना पोख्ने अवसर पाइन्छ जसबाट मानसिक रूपमा स्वस्थ हुने हुन्छ । यस्ता मनका बह गीति रूपमा पोख्दा विकास निर्माणका काम अघि बढ्ने तथा विकृति–विसङ्गतिविरोधी आवाज उठाउँदा कहिलेकाहीँ व्यवस्था परिवर्तनमा समेत योगदान गरेको पाइन्छ । तिजका गीतमार्फत ग्रामीण समुदायमा सचेतना फैलाउने तथा जनतालाई सचेत र सङ्गठित गर्ने कार्य हुँदै आएका थिए, छन् । त्यसो त दैनिकी खानपानमा थप केही पौष्टिक, मिठोमसिना खानेकुराको व्यवस्थापन हुने भएकाले पोषणमा पनि राम्रै सहयोग मिलेको पाइन्छ । व्रत समापनमा नदी, खोला, तालतलाउमा गएर स्नान शरीर र मन स्वच्छ हुन्छ । पूजापाठ गर्नु पहिला शरीरको स्नान गर्नु अनिवार्य छ भन्ने सन्देशसमेत यसले दिएको स्पष्ट देखिन्छ ।
चाडपर्व समयसापेक्ष हुनुपर्छ । रमाइलोसँगै एक–अर्कामा खुसी साटासाट गर्ने माध्यम नै चाडपर्व हुन् । बाटामा, घरआँगनमा हर्षाेल्लासका साथ मान्छेको भिडभाड देखियो भने पनि चाडबाड, मेलाजात्राको झल्को दिन्छ । हामीलाई जुन खाने कुरा मिठो लाग्छ, त्यही खाने, त्यही अनुकूलको क्रियाकलाप गर्ने नै हो । जतिबेला जे कुराको अनुकूल हुन्छ, त्यही गर्ने हाम्रा लागि नौलो कुरा होइन । त्यसैले हिजो र आजको खानपानमा फरक छ । चाडपर्व मान्ने–मनाउने तरिकाले पनि फरक मोड लिएको छ । नेपाली समाजमा १२ महिनामा कम्तीमा १२ चाडपर्व मनाइरहेको पाइए पनि भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्मका दिनमा तिज मानिन्छ । आजभोलि विभिन्न व्यक्ति, सङ्घसंस्था, समूहले महिनौँ दिन अगाडिदेखि भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने गरेको सामान्य भइसकेको छ । धार्मिक हिसाबले हेर्दा व्रत बस्ने कार्यचाहिँ तृतीया तिथिमा मात्रै हुन्छ । चाडपर्व मनाउँदा धेरै पक्षलाई फाइदा नै देखिन्छ । एउटा पार्टी प्यालेसमा कार्यक्रम गर्दा सामाजिक हिसाबले हेर्दा लामो समय भेटघाट नभएका साथीभाइ, इष्टमित्र एकै ठाउँमा एकैपटक भेटिने हुँदा सामाजिक सद्भाव बढ्छ । व्यावसायिक रूपमा पनि खानपिन गर्ने मान्छे एकै ठाउँमा धेरैजना हुँदा उपभोक्ता बढेसँगै व्यापारीको खाद्यान्न सामग्रीको बिक्री–वितरण भई व्यापार बढ्ने हुन्छ । महिनौँ दिनसम्म चुलोमा काम गर्ने कामदारदेखि मञ्च सजाउनेसम्मले रोजगारी पाउँछन् । नयाँ सारी–चोलीदेखि शृङ्गार सामग्री सुनदेखि सौन्दर्यकर्मीको व्यवसाय राम्रै फस्टाएको देखिन्छ । पार्टी प्यालेसमा गरिएको कार्यक्रममा कलाकारले पनि अवसर पाएका हुन्छन् । पहिलेपहिले दिदीबहिनीले आफ्नै आवाजमा मनका पीडा, वेदना पोख्थे भने आजभोलि गायक–गायिकाले नै दिदीबहिनीका मनका बेथालाई गीतका माध्यमबाट व्यक्त गर्ने गरेको पाइन्छ । गीतमा सामाजिक र पारिवारिक नातासम्बन्धको कुरा, पीडा व्यक्त गरेर आगामी दिनमा त्यसो नगर्न बिन्ती गरिन्छ । तिजगीतका सुमधुर शब्दले पारिवारिक पुनर्मिलनदेखि महिला जागरण, सशक्तीकरणसँगै व्यवस्था, अवस्था परिवर्तनमा भूमिका खेलेको उदाहरण धेरै पाइन्छ ।
विकृति
हामीले पर्व, संस्कारलाई निरन्तरता दिने नाममा केही विकृति/विसङ्गति पनि पक्कै भित्रिएको छ । आजको गीत–सङ्गीतमा अभद्र पहिरनसँगै उस्तै उत्ताउला हाउभाउका र नाचगान पनि प्रस्तुत भएका छन् । ‘बालेन शाहजस्तो पाए पोइल गइदिन्छु’ भन्नेजस्ता शब्द चयन पार्वतीले शिवलाई पतिका रूपमा प्राप्तिका लागि निराहार व्रत बस्ने कर्मसँग मेल खाला ? हुनेखानेले महँगा गरगहना र झिलिमिली पोसाकमा सजिसजाउ भएर, पैसा उठाएर पार्टी प्यालेसमा विदेशी ब्रान्ड तन्काएर भुइँमा खुट्टा सीधा टेक्न नसकिने गरी नाचगान गर्नु भद्दा मजाक हुँदैन र ? कतिपय ठाउँमा तिज कार्यक्रममा सजिएका दिदीबहिनीको गरगहना लुटपाट, चोरी हुँदा धनजनको नाश अनि क्षति भएका घटना सुनिन्छ र देखिन्छ । श्रीमान्को दीर्घायुका लागि गर्भवतीले व्रत बस्दा बेहोस हुने र गर्र्भमा रहेको शिशु पनि भोकै हुनु ठिक होइन । रोगी, शारीरिक रूपमा कमजोर महिलाले व्रत बसेकै कारण पतिको दीर्घायुभन्दा आफूलाई बिरामी बनाएर पतिलाई पनि अस्पताल वास गराउनेदेखि मानसिक, शारीरिक थकानले बिरामी बनाएको पनि देखिन्छ । त्यसो त श्रीमतीले व्रत बस्दा पतिको दीर्घायु हुन्छ भन्नेमा कुनै सत्यता र वैज्ञानिक कारण देखिँदैन । चाडपर्वका नाममा यो महँगी, मन्दीका बेला भड्किलो कार्यक्रम गरेर समस्या र अप्ठ्यारोमा नपर्ने हो कि । त्यसो त चाडपर्व खाने बहाना मात्र हो । आफ्नो धर्मसंस्कार, मूल्यमान्यता जोगाउँदै अभद्र, उच्छृङ्खल नभई शालीन र सभ्य तरिकाले सबैलाई सहज हुने गरी चाडपर्व, जात्रामात्रा मनाउनु नै सबैको कल्याण हुन्छ ।
तिजले माइती, चेलीको अजम्बरी साइनोलाई अझ बलियो बनाउनेछ । भावनात्मक रूपमा एकता गर्दै मनका पिरबेथा भुलेर गीतनृत्यमा झुलेर आत्मिक आनन्द लिनु वेश हुन्छ । देखासेखी गर्नुभन्दा आफ्नो गच्छेअनुसार चाड मनाउनु श्रेयष्कर हुन्छ । हरेक संस्कृतिभित्र सुसंस्कृति र विकृति हुन्छ, हामीले विकृतिका पक्ष घटाउँदै जानुपर्छ । झ्याल खोलेपछि हावा आउँछ, त्यो असल पक्ष हो, तर हावासँगसँगै धुलो पनि आउन सक्छ । त्यसका लागि विवेकको जाली लगाएर छेक्नुपर्छ । तिज सभ्य ढङ्गले मनाऔँ, सारा दुःख भुलेर रमाऔँ ।
(लेखक : म्यागङ गाउँपालिकाकी पूर्वउपप्रमुख हुन् ।)