- आचार्य वासुदेव उपाध्याय नेपाल
भाद्रशुक्ल तृतीयालाई हरितालिका वा तिजको व्रत पनि भनिन्छ । यस वर्षको तिजको व्रत भोलि भदौ २१ गते शुक्रबार परेको छ । यसबारे शास्त्रीय वचन छ, ‘भाद्र शुक्ल तृतीयायां हरितालिका व्रतम् । तत्र मुहूर्तमात्रा ततो न्यूनापि परा ग्राह्या । यदा क्षयवशात् परदिने नास्ती तदा द्वतीयायुतापि ग्राह्या । यदा शुद्धाधिका तदा पूर्वदिने षष्टिघटीमितामपि त्यक्त वा परदिने स्वल्पापि चतुर्थी युतैव ग्राह्या, गणयोगप्राशस्त्यात् ।’
‘मुहूर्तमात्रसत्वेक् पि दिने गौरीव्रतं प्रिये ।
शुद्धाधिकायामप्येवं गणयोगप्रशंसनात् ।।’ (धर्मसिन्धु सुधा–१४६)
अर्थात् एक मुहूर्त मात्रै पनि तृतीया तिथि छ भने यो व्रत त्यसै दिन गर्नू । अर्काे वचन यसप्रकार छ :
‘कला काष्ठामुहूर्तापि द्वितीया यदि दृश्यते ।
सा तृतीया न कर्तव्या कर्तव्या गणसंयुता ।।
चतुर्थी सहिता या तु सा तृतीया फलप्रदा अवैधव्यकरा स्त्रीणां पुत्रपौत्रविबद्धिनी ।।
भाद्रे मासी सिते पक्षे तृतीया हस्तसोमयुक् ।
तदनुष्ठान मात्रेण सर्वपापैः प्रमुच्यते ।।’ भविष्योत्तरपुराण ।
(अर्थात् भाद्रशुक्ल तृतीया द्वितीया तिथिले युक्त छ भने त्यस दिन हरितालिका व्रत नगर्नू, चतुर्थीयुक्त तृतीयाको व्रत गर्नु उत्तम हुन्छ । जुन बेला तिथि क्षय भएर चतुर्थीयुक्त तृतीया हुँदैन, त्यसबेलामा मात्र द्वितीया युक्त तृतीयामा पनि यो व्रत गर्नू । यदि यस तृतीयामा हस्ता नक्षत्र र सोमबार पनि परेमा भने ज्यादै उत्तम मानिन्छ । सोमबार हस्ता नक्षत्र नपरेर केवल तृतीया मात्र भए पनि तृतीयाको व्रत गर्दा मनुष्य सम्पूर्ण पापबाट मुक्त भई यस लोकमा सुख, समृद्धि प्राप्त गरी परलोकमा कल्याणमय शिवपद प्राप्त गर्न सफल हुन्छ ।) अर्काे वचन छ :
‘नामास्य ब्रतराजस्य श्रृणु देवी यथाभवत् ।
आलिभिर्हरिता यस्मात्तस्मात् सा हरितालिका ।।
आलिभिः = सखीभिः, हरिता = अपहृता इति हरितालिका । (अर्थात् पार्वतीलाई साथीले हरण गरेर लुकाएको हुँदा यसको नाम हरितालिका रहेको हो ।) यस विषयमा एउटा उपाख्यान छ : प्राचीनकालमा हिमालयपुत्री पार्वती सानै हुँदादेखि नै शिवलाई पति पाऊँ भनेर चिन्तन गरेर हिँड्दा, खाँदा, खेल्दा, बस्दा, सुत्दा जेसुकै गर्दा पनि उनलाई पति पाऊँ भनेर उनकै चिन्तन, मनन पूजन आदि गर्थिन् । तर, यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् । यो थाहा पाएर पार्वतीले साथीसँग भनिन् । त्यसपछि साथीले ‘तिमी चिन्ता नगर, हामी यसको व्यवस्था गर्छौँ’ भनी उनलाई हरण गरी ठुला जङ्गलको बाटो लगेर नदीका किनारमा एउटा गुफामा लुकाएर राखे । उनी त्यही गुफामा बसी नदीबाट बालुवा ल्याई त्यसै बालुवाको शिवलिङ्ग बनाएर अत्यन्त श्रद्धा र भक्तिका साथमा पानीसमेत नखाई व्रत बसेर शिवको पूजा गरिन् । रातभर जाग्राम बसी पानीसमेत नखाई कथाश्रवण नाचगान आदि गरी व्रत गरिन् । भोलिपल्ट प्रातकाल भएपछि नदीमा लगी मूर्ति विसर्जन गर्ने बेलामा पार्वतीले गरेका भक्तिले गर्दा कैलाशमा शिवको आसन हल्लियो । अनि शिवजी प्रसन्न भएर ‘के वर माग्छ्यौ’ भन्दा पार्वतीले ‘हजुर मेरो पति होइदिनुहोस्, यसैका लागि मैले यो व्रत गरेकी हुँ’ भनी वर मागिन् । शिवजीले तथास्तु भनी वरदान दिनुभयो र कैलाशतिर फिर्नुभयो । सो व्रत गरेको दिन भाद्रशुक्ल तृतीयाको दिन थियो ।
यता पार्वती हराएकी हुँदा उनलाई खोज्दाखोज्दै विवाहको दिन आयो, पार्वती छैनन् । अब के गर्ने भनी हिमालयलाई ठुलो चिन्ता भयो र वन, जङ्गल, नदी, किनार र गुफा चारैतिर खोज्दै हिँडे । अन्त्यमा त्यसै गुफामा पुगे जहाँ पार्वतीले शिवको व्रत पूजा गरेकी थिइन् । अनि पिताजीले ‘लौ घर हिँड’ भन्दा शिवसँग विवाह गरिदिने भए घर जाने, नत्र नजाने भनिन् । अनि हिमालयले हुन्छ, भनेपछि त्यो पूजा गरिएको मूर्ति र निर्माल्य नदीमा लगी विसर्जन गरेर व्रतको पारणा गरी साथीसमेत भएर प्रसाद ग्रहण गरी मनैमनले शिवलाई प्रणाम गर्दै साथी र पिताजीका साथमा पार्वती घर आइन् । पछि उपयुक्त समयमा शिवसँग पार्वतीको विवाह भयो । यस व्रतका प्रभावले आजसम्म पनि पार्वतीको सौभाग्य अटल छ । पार्वतीलाई साथीले हरण गरेर लगेको र यो व्रत गरेको दिन यही भाद्र शुक्ल तृतीयाको दिन परेको थियो । त्यसैले यस दिन पानी पनि नखाई व्रत बसेर शिवपार्वतीको पूजा–आराधना गरेमा मनोकामना सिद्धि हुन्छ । परिवारमा सुख, समृद्धि, आरोग्य, पतिको आयु बढ्ने, पुत्र पौत्रादिको उन्नति–प्रगति हुने आदि हुन्छ । अविवाहित नारीले व्रत बसे असल पति पाउँछिन् । विवाहित नारीले व्रत गरे सौभाग्य, समृद्धि सत्पुत्र प्राप्त हुन्छ र अन्त्यमा शिवपद प्राप्त हुन्छ । यो व्रत नारीले मात्र नभई नारी र नरसमेत भई गरेमा अझ बढी पुण्यदायक हुन्छ र यसबाट सुख, समृद्धि, सौभाग्य प्राप्त हुनाका साथै अन्त्यमा कल्याणमय शिवपदसमेत प्राप्त हुन्छ ।
यस व्रतको विधान वर्तमान कालमा पाइने १८ महापुराणमा पाइँदैन । व्रतको नाम र त्यसको निर्वचन पनि संस्कृत व्याकरणका दृष्टिले नमिल्दो देखिन्छ । यो व्रत भारतका गुजरात, बङ्गाल आदि प्रान्तमा प्रचलित नभएको पनि बुझिन्छ । नेपालका सुदूरपश्चिम भागमा प्रचलित गौरापर्वको चाहिँ पुराणमा सङ्केत पाइन्छ । अर्वाचीन धर्मशास्त्र निबन्ध निर्णयसिन्धु–धर्मसिन्धुमा र अरू वार्षिक कृत्यका प्रति पादक ग्रन्थमा हरितालिका व्रतको उल्लेख पाइन्छ । नेपालमा यसको प्रचलन पुरानै बुझिन्छ । यो व्रत नेपालका पहाडी भागमा ब्राह्मणदेखि लिएर सार्की, कामी र दमाईं, गाइने जातसम्मका स्त्रीले लिन्छन् । नेवार, तामाङ समुदायका स्त्रीले पनि बिस्तारै व्रत लिन थालेका छन् । भविष्योत्तरपुराणको भनिएको प्रचलित हरितालिका व्रत कथामा यो व्रत गर्नाले सबै पाप कटनी हुने, संसारभय–सन्ताप हट्ने, राज्य र सौभाग्य (पतिको गहिरो प्रेम) पाइने, पार्वतीजस्तै गरी आफ्ना मन परेका पतिसित रमाउन पाइने, यस लोकमा अनेक सुखभोग गरेर अन्त्यमा महादेवमा मिल्न पाइने तथा यस तृतीयामा खानाले स्त्री सात जन्मसम्म बाँझी हुने, जन्मजन्ममा विधवा हुने, दरिद्र हुने, पुत्रशोकमा पर्ने, कर्कशा र दुःखभागिनी हुने तथा घोर नरकमा पर्ने र ब्राह्मणका मुखबाट हरितालिका–व्रत कथा सुन्नाले हजारौँ अश्वमेध–यज्ञको र सयौँ वाजपेय यज्ञको फल पाइने उल्लिखित छ ।
यो व्रत गर्दा पनि अरू व्रतमा झैँ अघिल्ला दिन एक छाक हविष्य खानु र ब्रह्मचर्यमा रहनु शास्त्रसम्मत र उचित देखिन्छ, तापनि त्यसो नगरी स्त्रीहरू दर खाने भनेर आधा रातसम्म र उज्यालो हुने बेलासम्म पनि गरिष्ठ भोजनादि गर्छन् । हिजोआज माछामासु, लसुन, प्याज, छ्यापी, च्याउ, मदिरा पनि खान थालेको देखिन्छ । व्रतका निम्ति हविष्य खाँदा मासु खानुहुँदैन, यस्तो गर्नु वैदिक परम्पराविपरीत हो । घिउ र दुधबाट बनेका परिकार भटारे, ढकने, खिर, फलफूल, सागपात, आलु तारेर भोलिपल्ट जल पनि नखाई कठोर किसिमले लिइने व्रतमा अडिलो होस् भन्नाका लागि राति पनि खाइने परिकारलाई दर भनिन्छ । अहिले दर खाने भनेर एक महिना अगाडिदेखि पार्टी प्यालेसमा गएर मदिरालगायत अभक्ष चिज खाएर अश्लील नृत्यसमेत प्रस्तुत गरेको देखिन्छ । यस्तो गर्नु यस पर्वको महत्व घट्न गई वितृष्णा फैलाउनु मात्र हो ।
व्रत गर्दा प्रातकालमा नदी–तलाउमा स्नान गरी अन्न भोग वर्जित गरी घरमा केरा तोरणले सिँगारिएको मण्डप बनाई लिपपोत गरी मण्डपमा पट्टवस्त्र ओच्छ्याई पार्वतीसहित बालुवाको शिवलिङ्ग स्थापित गरी नरिवल इत्यादि नाना प्रकारका फलफूल, कन्दमूल, चन्दन, अक्षता, फूलपाती, धुप, दीप, नैवेद्य इत्यादिले पूजा गर्ने, पतिका साथमा बसेर ब्राह्मणका मुखबाट हरितालिका व्रत कथा सुन्ने, रातमा नाचगान आदि गरेर जाग्राम बस्ने, भोलिपल्ट प्रातकालमा महादेवका लिङ्ग निर्माल्य नदीमा सेलाएर स्नान गरी ब्राह्मणबाट अच्छिद्रवाचन गराएर व्रत पारण गर्ने, ब्राह्मणलाई यथाशक्ति वस्त्र–सुवर्ण–गोदान दिने चलन छ ।
ऋषिपञ्चमी व्रत पूजा
ऋषिपञ्चमीमा रजोदर्शन (रजस्वला) भइसकेका स्त्रीले व्रत बसेर सप्तर्षिको पूजा गर्छन् । यो व्रत पुरुषले पनि गरे राम्रै हुने देखिन्छ तापनि मुख्य रूपमा यो व्रत स्त्रीका निम्ति नै देखिन्छ । यसमा शुद्र जातिका स्त्री पनि अधिकारिणी हुन्छन् । पुराणको कथाअनुसार इन्द्रलाई लागेको ब्रह्महत्याको पापको एकचौथाइ भाग बोक्नुपरेकाले रजस्वला हुने गरेका स्त्री रजस्वला अवस्थामा अस्पृश्य हुने मानिएका छन् । रजस्वला भइसकेका विवाहिता स्त्रीले सकेसम्म आ–आफ्ना पतिसित मिलेर, नसके पतिको अनुमति लिएर एक्लै पनि ऋषिपञ्चमीमा व्रत बसी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) को पूजा गर्नुपर्छ । यसबाट रजस्वला भएका बेलामा भुलचुकले घरका सामग्री छुनाले भएको पाप कटनी भई आध्यात्मिक, आधिदैविक र आधिभौतिक तीनै प्रकारका दुःख हट्ने, रूपलावण्य बढ्ने, सौभाग्य बढ्ने, छोरानाति हुने, सबै प्रकारको कल्याण हुने, सम्पत्ति बढ्ने, आपत्ति टर्ने र परत्रमा पनि सद्गति हुने बताइएको छ ।
व्रतका दिन प्रातः स्नानादि पौर्वाह्निककृत्य सम्पन्न गरी मध्याह्न समयमा नदी, तलाउ इत्यादि जलाशयमा हातगोडा धोएर मन्त्रोच्चारण गरी अपामार्गका चार उमलका एक सय आठ अथवा सात अथवा एक दतिवन लिई त्यसैले मन्त्रोच्चारण गरी दाँत माझेर पहिले माटो लगाई स्नान गरेर पछि तिलका र अमलाका लेदो, पिनाले कपाल नुहाई चोखा नयाँ धोती–उपन पहिरेर घरमै घरका कुनै शुद्ध स्थलमा रेखी हाली सर्वतोभद्र–मण्डलमा जलपूर्ण घडा राखेर त्यसमाथि जौले भरिएको चाँदीको वा तामाको वा बाँसको वा माटाको पात्र राखी त्यसमाथि शुद्ध नवीन वस्त्र ओच्छ्याई त्यहाँ अष्टदलकमल लेखी त्यसमा अरुन्धतीसहित सप्तर्षिका सुनका वा चाँदीका वा कुशका प्रतिमा राखी पूजा गरिन्छ, कथा सुनिन्छ । अन्त्यमा पूजित देवता ऋषिको विसर्जन गरी उक्त ऋषिप्रतिमासहित घडा ब्राह्मणलाई दान दिने, त्यसपछि साग, नाबोधानको वा सामाको भात, कन्दमूल, फलहरू खाने, हलोले जोतेर उब्जाएको अन्न नखाने, यसप्रकारको व्रत सात वर्षसम्म गर्ने र उद्यापन गर्ने विधान मुख्य रूपमा नित्यानन्द पर्वतीयले वर्षकृत्यदीपकमा भविष्यपुराणका भनी उद्धृत गरेका वचनबाट देखिन्छ (पृ.२१८–२२०) ।
भविष्योत्तरपुराणमा भनिएको कथामा र पद्मपुराणमा अपामार्गका एउटै समिधाले दाँत माझ्ने उल्लिखित छ । लोकमा भने रजस्वला भएदेखि थालेर हुन छाडेपछि पनि १२ वर्षसम्म व्रत गरेर उद्यापन गर्ने चलन देखिन्छ । चल्तीका नेपाली वार्षिक व्रतरत्नावली पद्धतिमा ऋषिपञ्चमीको व्रत गर्ने महिलाले ऋषिपञ्चमीका दिन तीन सय ६० दतिवनले दाँत माझ्ने, तीन सय ६० पल्ट कुल्ला गर्ने, तीन सय ६० पल्ट माटो लाएर नुहाउने, तीन सय ६० अपामार्गपत्र चाल्नामा राखी त्योे शिरमा राखेर अपामार्गपत्रमाथि खन्याइएका पानीले टाउकासमेतको शरीर नुहाउने विधान देखाउने पद्धति छ । शास्त्रनुसार यस पर्वको तिजसँग सम्बन्ध देखिंँदैन ।
विदुर-५, द्वारपाल, देवीघाट, नुवाकोट