विदुर । स्थायी सरकार मानिने निजामती सेवामा संलग्न दीर्घसेवी नुवाकोटका कर्मचारी सम्मानित भएका छन् । एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्लामा कार्यरतमध्ये दीर्घ सेवा गर्ने १९ कर्मचारीलाई सम्मान गरिएको थियो ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ मूल नारामा केन्द्रित रहेर मनाइएको दिवसका अवसरमा जिल्लामा साताव्यापी विविध कार्यक्रम आयोजना गरियो । दिवसका अवसरमा कार्यालय परिसर सरसफाइ, सरकारी अस्पतालका बिरामीलाई फलफुल वितरण, रक्तदान, ब्याडमिन्टन प्रतियोगिता, कृषि तथा भेटनरी सेवा शिविर, साहित्यिक कार्यक्रम, स्वास्थ्य शिविर, फलफुल तथा अन्य वृक्षरोपण, सेवा प्रवाह र निजामती सेवा विषयक अन्तरक्रिया, प्रभातफेरीलगायत कार्यक्रम भएको थियो ।दिवस मूल समारोह समितिले शनिबार केही कर्तव्यनिष्ठ एवं दीर्घसेवी कर्मचारीलाई सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश सुभाषबाबु पुरीले कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुनेमा विदुर नगरपालिकाका रामहरि खनाल, सरला श्रेष्ठ, रामप्रसाद बडाल, रमेशकुमार श्रेष्ठ, गायत्री प्याकुरेल र दामोदर नेपाल, ककनी गाउँपालिकाका अर्जुन विष्ट र भक्तबहादुर मानान्धर, मालपोत कार्यालयका ॐबहादुर अधिकारी, रामकृष्ण पाण्डे, रेनुका अधिकारी, जिल्ला हुलाक कार्यालयका तेजप्रसाद पोखरेल, नुवाकोट जिल्ला अदालतका रामप्रसाद अधिकारी, कृष्णबहादुर केसी, रामजङ्ग पाण्डे, जिल्ला विकास तथा समन्वय एकाइका कुमार बस्नेत, लिखु गाउँपालिकाका रामभक्त श्रेष्ठ र विश्वमित्र राई, किस्पाङ गाउँपालिकाका रामजुलुम साह छन् ।
प्रमुख जिल्ला अधिकारी एवं दिवस मूल समारोह समितिका अध्यक्ष रामकृष्ण अधिकारीले कर्मचारीको मनोबल उच्च राख्न र जिम्मेवारीप्रति जवाफदेही बनाउन सम्मानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । दिवसका अवसरमा आयोजित रक्तदानमा ६ पोका (प्रिन्ट) रगत सङ्कलन, ५९ जनाको स्वास्थ्य परीक्षण, भैरूम मावि हात्तीगाँैंडामा विभिन्न जातका बिरूवा रोपिएको थियो । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका पालामा विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनका स्मरणमा सरकारले विसं २०६१ देखि निजामती सेवा दिवस मनाउँदै आएको छ ।
–––







प्रतिक्रिया