- राजेन्द्र बस्नेत
धादिङ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यका आउने प्रायः यात्रु नागढुङ्गा उकालोको ट्राफिकजाममा नपरेका सायद कुनै दिन हुँदैन होला । तत्कालीन अवस्थाका बस, ट्रकलाई लक्ष्य गरी २०१६ सालमा निर्मित सडकमा लामा बस, ट्रक त्यसैमाथि उकालो सडक ट्राफिकजाम नहुने कुरै भएन । नागढुङ्गादेखि मुग्लिनसम्मको सडक विस्तार गर्ने काम सुरु भएपछि झनै ट्राफिकजाम र सडक दुर्घटनाको जोखिम बढेको छ । तोकिएका समयमा काम पूरा नगर्ने र म्याद थप गराउने प्रवृत्तिलाई सो आयोजनाले पनि निरन्तरता दिएको छ ।
त्रिभुवन राजपथ, नागढुङ्गा-नौबिसे सडकखण्डको निर्माण जिम्मा पाएको सगुन कन्स्ट्रक्सनले तोकिएको समयमा काम सम्पन्न गर्न सकेन । सम्झौताअनुसार नागढुङ्गा-नौबिसे सडक निर्माण गर्न तोकिएको म्याद वि.सं. २०८१ जेठ २७ मा मा सकिए पनि सडक बनाउने काम ५८ प्रतिशत मात्र सकिएपछि सो कन्स्ट्रक्सनलाई दुई सय ४८ दिन म्याद थप गरिएको परामर्शदाता अस्ट्रेलियाको एसएमइसी इन्टरनेसनल प्रालि, पिइसी लिमिटेड र रिपब्लिक अफ कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएसका परामर्शदाता राजेन्द्र पौडेलले बताए । निर्माण कम्पनीले निर्माण सामग्री अभाव, स्थानीयवासीको अवरोध, सरकारका तर्फबाट गर्नुपर्ने कार्यक्षेत्रका काम जस्तै रुख कटान, बिजुलीका खम्बा स्थानान्तरण समयमा नभएका कारण देखाउँदै म्याद थप गर्न माग गरेकाले सबै किसिमको अध्ययन गरी सडक विभागबाट म्याद थप भएको जनाइएको छ ।
नागढुङ्गा–नौबिसे सडकखण्डको निर्माणको जिम्मा लिएको सगुनका साइट इन्जिनियर ज्ञानेन्द्र महर्जनले आठ महिना म्याद थप गरिएको जानकारी दिए । ‘अहिले वर्षात् बढी भएकाले खन्ने काम बन्द गरेका छौँ । बडादसैँअघि ग्राभेल गर्न सडक खोतल्दैनौं । दसैँलगत्तै सडक खोतल्ने, ग्राभेल बिछ्याउने, पेल्ने र पिच गर्ने काम गरिने छ ।
हाल नौबिसे खोलामा पुल ढलानको पूर्वतयारी भइरहेको छ,’ साइट इन्जिनियर महर्जनले बताए । निर्माण सामग्रीको अभाव, घरटहराको मुआब्जा वितरण आदिका कारण निर्माण ढिलो भएको पौडेलले बताए । निर्माण कम्पनी जिअंशु र सगुनले संयुक्त रूपमा २०७८ चैत २४ गते नागढुङ्गा–नौबिसेको १२ दशमलव दुई सय ६० किलोमिटर सडक सुधार तथा विस्तार रु. एक अर्ब ३१ करोड ८४ लाख एक हजार २ सय १० लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण सुरु गरेका थिए । निर्माण कम्पनीले तोकिएको काम पूरा नगर्दा सबैभन्दा बढी मर्कामा यात्रु परेका छन् । घण्टाँै यात्रा गरेर आएका आफूहरू काठमाडौँ अस्थायी तथा स्थायी आवास वा सेवा लिन पुग्ने बेलामा ट्राफिकजाममा बस्नुपर्दा सकस हुने गरेको यात्रु बताउँछन् । सडक निर्माणको काम अलपत्र हुँदा ट्राफिकजाममा फस्ने डरले कैयौँ बिरामीलाई ऋण खोजेर हेलिकोप्टर चार्टर गरी उपचार गराउनुपरेको छ ।