महाविस्फोट : चेतना र पदार्थको बिछोड

  • त्रिशूली प्रवाह
  • २७ भाद्र २०८१, बिहीबार १२:२५
  • रामलाल श्रेष्ठ

ब्रह्माण्डको उत्पत्ति महाविस्फोटको घटनाबाट सुरु भयो जुन आजको दिनसम्म विज्ञानले स्वीकार गरेको सबैभन्दा सर्वमान्य सिद्धान्त हो । महाविस्फोटको घटनाअघिको अवस्था विज्ञानले आजसम्म जान्न सकेको छैन ।

विचारको प्रयोग
विज्ञान आँखाले नदेखेसम्म, कानले नसुनेसम्म, जिब्राले नचाखेसम्म, हात वा छालाले स्पर्श नगरेसम्म र नाकमा सुगन्ध नआएसम्म कुनै पनि घटना वा विचारलाई स्वीकार नगर्ने क्षेत्र हो । ब्रह्माण्डको उत्पत्तिको घटना आजभन्दा १३ दशमलव आठ अर्ब वर्षअघि भएको हो । आज देख्न वा सुन्न वा स्पर्श गर्न सम्भव नभए पनि विज्ञान महाविस्फोटको घटना ब्रह्माण्डको उत्पत्तिबारे सत्यको नजिक रहेको स्विकार गर्छ । आज विज्ञान इन्द्रियको मात्र नभई विचारको समेत प्रयोगशाला हो । विज्ञानमा घटनाको भौतिक प्रयोगशालामा विभिन्न परीक्षण गरिन्छ । एउटै घटनाको पटक–पटकको परीक्षणमा एउटै नतिजा निस्किसकेपछि विज्ञानले त्यसलाई सत्य घटनाको प्रमाणपत्र प्रदान गर्छ र सिद्धान्तका रूपमा वा प्रकृतिको नियमका रूपमा बाहिर आउँछ ।

अलबर्ट आइन्स्टाइनको विचारको प्रयोग
अलबर्ट आइन्स्टाइन विज्ञान जगत्मा एक नामी विश्वविख्यात नाम हो । त्यसअघि सर आइज्याक न्युटन भौतिक विज्ञानमा नामी थिए । भौतिक जगत्मा हुने घटना विज्ञानको प्रयोगशालामा पटक–पटकको परीक्षणपछि सिद्धान्त वा नियमका रूपमा निर्माण हुने परम्परा आइन्स्टाइनको समयदेखि तोडिएको देखिन्छ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र प्रकाशको गतिको यात्रामा समय स्थिर हुन्छ भन्ने सिद्धान्त उनको विचारको प्रयोगशालामा जन्मिएको सिद्धान्त हो । सबभन्दा पहिले आइन्स्टाइनको ‘माइन्ड’ वा विचारमा प्रकाशको गतिमा यात्रा गर्ने ‘आइडिया’ जन्मियो । सो विचारलाई गणितीय सूत्रबाट प्रमाणित गर्ने काम भयो र सापेक्षतावादको सिद्धान्तका रूपमा बाहिर आयो । त्यसैगरी त्यसको १० वर्षपछि आइन्स्टाइनको अर्को गुरुत्वाकर्षणको नयाँ सिद्धान्त आविष्कार भयो । सो सिद्धान्त पनि आइन्स्टाइनको विचारको प्रयोगशालामा जन्म भयो र पछि भौतिक दुनियाँको प्रयोगशालामा प्रमाणित भयो ।

महाविस्फोट नै विचारको प्रयोग
ब्रह्माण्डको उत्पत्तिको महाविस्फोटको सिद्धान्त पनि वैज्ञानिकको विचारको प्रयोगशालामा जन्मिएको हो । विचारको प्रयोगशालामा लजिक अर्थात् तर्कको सहयोगले कुनै पनि घटनालाई प्रमाणित गर्ने प्रयास गरिन्छ । विचारबिच तर्क–वितर्क गर्ने वा विचार–विमर्शको विधिमार्फत कुनै पनि घटना वा वस्तुको वास्तविकता जान्ने कोसिस गरिन्छ । सो विधिमा व्यक्ति एक्लै आफूसँगको संवादमार्फत तर्क–वितर्क गर्दै कुनै घटनाको वास्तविकताको नजिक पुग्न सक्छ । त्यही घटना अर्को व्यक्तिको तर्क–वितर्कबाट पुष्टि हुन सकेन वा अर्को व्यक्तिलाई पहिलो व्यक्तिको तर्क सही वा बढी वास्तविकताको नजिक लाग्न थाल्यो भने पहिलो व्यक्तिको तर्कले मान्यता पाउन थाल्छ । यस्तो विधिलाई डाइलग वा डाइलेक्टिकल विधि भन्ने गरिन्छ ।

ब्रह्माण्डको उत्पत्तिको महाविस्फोटको सिद्धान्त पनि विचारको डाइलग वा विचारको प्रयोगशालामा सबैभन्दा उत्कृष्ट साबित भएको सिद्धान्त हो । विज्ञानको दुनियाँमा यो सिद्धान्त आविष्कार हुनुभन्दा एक शताब्दीअघि जर्मन दार्शनिक हेगेलको विचारको प्रयोगशालामा यस्तै सिद्धान्तको जन्म भएको थियो । सन् १८०७ मा हेगेलले ब्रह्माण्डको उत्पत्तिबारे महाविस्फोटको सिद्धान्तसँग मिल्दोजुल्दो विचार वा तर्क पेस गरेका थिए । उनले यो तर्क आफ्नो बहुचर्चित पुस्तक ‘माइन्ड वा स्पिरिटको घटनाको शृङ्खला’ भन्ने पुस्तकमा विस्तारपूर्वक राखेका थिए । हेगेलले यस घटनालाई पुष्टि गर्न ‘तर्कशास्त्रको विज्ञान’ नामक छुट्टै पुस्तकसमेत प्रकाशन (सन् १८१२) गरेका थिए । उनले तर्क एउटा विज्ञान हो भन्ने प्रमाणित गर्ने काम यही पुस्तकमार्फत गरेका थिए । ब्रह्माण्डको उत्पत्तिबारे आजभन्दा करिब १३ अर्ब वर्षपछि जान सम्भव नै छैन । भूतकालमा भएको घटनालाई आज प्रमाणित गर्न त्यस घटनाको केही न केही अवशेषबिना सम्भव छैन । तसर्थ हेगेलबाट तर्क वा विचारमार्फत ब्रह्माण्डको उत्पत्तिको सिद्धान्त अगाडि सार्ने काम भएको थियो ।

महाविस्फोट
ब्रह्माण्डको महाविस्फोटको घटनाअघि ब्रह्माण्ड विचारतत्वका रूपमा, सूक्ष्म विन्दुका रूपमा विद्यमान थियो । यो सूक्ष्म विन्दु विज्ञानले आज अनुमान गरेको सिंगुल्यारिटी नै हो । यो सूक्ष्म विन्दु सम्पूर्ण पदार्थ मात्र थियो वा पदार्थको ठिक विपरीत तत्व विचार मात्र थियो भन्ने सम्बन्धमा अझै प्रमाणित भइसकेको अवस्था छैन । हेगेलको तर्कअनुसार त्यो सूक्ष्म विन्दु पदार्थको रूपान्तरणअघिको विचारतत्व हो भन्ने हो । विचारतत्व ब्रह्माण्डको आधारभूत तत्व हो । यही विचारतत्व नै ब्रह्माण्डको रचनाको मूल र वास्तविक तत्व हो । यही विचारतत्व नै अनेकौँ पदार्थ वा बहुवस्तुका रूपमा रूपान्तरण भएको हो । पदार्थ ब्रह्माण्डको रचनाको आधारभूत तत्व होइन भन्ने हेगेलको तर्क हो । यही तर्कलाई कार्लमाक्र्सले ब्रह्माण्डको रचनाको आधारभूत तत्व विचार नभई पदार्थ हो भनेर हेगेलको तर्कलाई उल्टाएर आफ्नो तर्क पेस गरेका थिए ।

वास्तविकता नै तर्क, तर्क नै वास्तविकता
वास्तविकता नै तर्क हो, तर्क नै वास्तविकता हो – हेगेलको यो भनाइ विश्वप्रसिद्ध छ जुन हेगेलको सम्पूर्ण चिन्तनको सार हो । तर्क–वितर्कबाट जे निष्कर्ष निस्किन्छ, त्यो वास्तविकता हो । अर्को समयमा पहिलेको तर्कको विपरीत तर्कमा सबै सहमत भएको अवस्थामा पहिलेको वास्तविकता अवास्तविक हुन्छ र पछिल्लो सहमत भएको तर्क वास्तविक हुन्छ । यसरी वास्तविकता तर्क र वितर्क, विचार र विमर्शको खुड्किलो उक्लँदै वास्तविकताको खोजी गर्दै अगाडि बढिरहेको हुन्छ । तसर्थ पछिल्लो सर्वसम्मत तर्क नै आजसम्मको वास्तविकता हो । यसरी तर्कका आधारमा वास्तविकताको खोजी गर्ने विधि नै डाइलेकटिकल विधि हो । ब्रह्माण्डको मूल तत्व तर्कको क्रमिक विकास हँुदै मानिस तर्कको सबैभन्दा विकसित रूप हो । ब्रह्माण्डको उत्पत्तिभन्दा अगाडि विचार मूल तत्वका रूपमा विद्यमान थियो । यो तत्व आफूले आफूलाई जान्ने घटनाका रूपमा महाविस्फोटको घटनामार्फत आफूभन्दा विपरीत तत्व पदार्थमा रूपान्तरण भयो । पदार्थमा रूपान्तरण हुने घटना विचारको पदार्थमा समाहित हुने घटना हो । यो घटनापछि विचार र पदार्थको महान् विछोड भयो । विचारतत्व पदार्थमा सबैभन्दा सानो अंशमा विद्यमान भयो । यो अंश पदार्थलाई अनुभव नै हुन सकेन । पदार्थमा विचारतत्वको सबैभन्दा सानो अंश नै जडताको अवस्था हो ।

ब्रह्माण्डको उत्पत्तिसँगै विकास हुने क्रममा पदार्थ सबैभन्दा पहिले अजैविक पदार्थका रूपमा अर्बौँ वर्षसम्म रहिरह्यो । जड पदार्थभित्र विचारतत्व एक सानो विन्दुका रूपमा थियो । महाविस्फोटको घटनामा विचारतत्व विपरीत तत्वमा रूपान्तरण हुँदा विराट् अनन्त पदार्थमा रूपान्तरण भएको थियो । विचारतत्व महाविस्फोटअघि अनन्तावस्थामा थियो भने पदार्थमा सूक्ष्म विन्दुका रूपमा अचेत स्थितिमा रहन पुग्यो । अजैविक पदार्थ अर्बौँ वर्षपछि आफ्नो विपरीत पदार्थ जैविक पदार्थमा रूपान्तरण हुने घटना हुन पुग्यो । यो घटना पनि हिजो जैविक पदार्थमा सूक्ष्म रूपमा रहेको विचारतत्वको प्रस्फुटन हुने घटनाका रूपमा आफूभन्दा विपरीत पदार्थमा रूपान्तरण हुने घटनाका रूपमा जैविक पदार्थमा विकसित हुने घटना हो । कालान्तरमा जैविक पदार्थ विभिन्न वनस्पतिमा रूपान्तरण हँुदै र हुर्कँदै–हुर्कँदै जीवजन्तुका रूपमा रूपान्तरण हुने घटना हुँदै अन्ततः मानिस तर्क वा विचारकै सर्वोच्च रूपमा विकसित भएको हो । मानिस चेतनशील जीवका रूपमा विकसित हुनाको मुख्य कारण ब्रह्माण्डको उत्पत्तिअगाडि चेतन तत्व नै ब्रह्माण्डको मूल तत्वका अवस्थामा विद्यमान भएकाले हो ।