
टलकमान श्रेष्ठ, अध्यक्ष
श्री बट्टार सहकारी संस्था लि.
विदुर नगरपालिका– ४, बट्टार, नुवाकोट
विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला सहकारीको प्रारम्भ भएको हो । सहकारीले सेयर सदस्यमार्फत स–साना पुँजीलाई जम्मा गरेर सेयर सदस्यलाई नै विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीको महत्वपूर्ण पक्ष हो । तर, नेपालमा भने सहकारी उद्देश्यअनुसार सञ्चालन हुन नसक्दा समस्यामा परेका छन् । सहकारीको मर्मअनुसार नियमसङ्गत ढङ्गले सञ्चालन भएमा सहकारीहरू नडुब्ने र त्यसले कसैलाई नडुबाउने बताउँछन् नुवाकोटका अग्रणी सहकारी संस्थामध्येको बट्टार सहकारी संस्थाका अध्यक्ष टलकमान श्रेष्ठ । सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने, फरक उद्देश्य लिएर आउने व्यक्तिको प्रवेशले सहकारी क्षेत्रमा भयावह विकृति आएको उनी बताउँछन् । अर्थतन्त्रको तीन खम्बाका रूपमा संवैधानिक व्यवस्था गरेर अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको बताउने अध्यक्ष श्रेष्ठले अर्थशास्त्र र इतिहासमा स्नातक गरेका छन् । उनले नेपाल सरकारको दुई दशक जनस्वास्थ्य निरीक्षक भई जनस्वास्थ्य क्षेत्रको कार्य अनुभवसमेत सङ्गालेका छन् । उनी बट्टार सहकारीको विगत दुई दशकदेखि लेखा सदस्य, सञ्चालक सदस्य, सञ्चालक उपाध्यक्ष हुँदै हाल सञ्चालक समितिको अध्यक्ष रहेका छन् । त्रिशूली प्रवाह साप्ताहिकले अध्यक्ष श्रेष्ठसँग सहकारीका विविध पक्षबारे गरेको कुराकारीको सारसङ्क्षेप :
सहकारी आइतबारदेखि २८ वर्षमा प्रवेश गरेको अवसरमा के–के गरियो ?
सर्वप्रथम त त्रिशूली प्रवाह साप्ताहिक नुवाकोट, काठमाडौंलगायत वरिपरिका जिल्लामा स्थापित पत्रिका, व्यावसायिक पत्रकारिता शरणउत्सुकलगायत यहाँहरूको पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । अनि यसै अवसरमा हामीले बट्टार सहकारी संस्था लि.को २८औँ वार्षिकोत्सव हर्षाेल्लास र उमङ्गका साथ मनाएका छौँ । यस अवसरमा हामीलाई बधाई तथा शुभकामना दिनुहुने बैंक तथा वित्तीय संस्था, व्यवसायी मित्रहरूलाई यसै पत्रिकामार्फत धन्यवाद व्यक्त गर्न चाहन्छु । हरेक वर्षझैँ यस वर्ष सामाजिक एवम् सेयर सदस्यप्रति उत्तरदायी भई सम्पूर्ण सदस्य उपस्थित भई स्थानीय मन्दिरमा सरसफाइसहित पूजाआजा गरी प्रसाद ग्रहण गरी आपसमा शुभकामना आदान–प्रदान गरिनुका साथै मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) तथा उहाँको टिमबाट ल्याब, इसिजी र निःशुल्क औषधि वितरणसहित मुटु, प्रेसर र सुगरसम्बन्धी परीक्षण शिविर सञ्चालन गरियो ।
सहकारीको स्थापना, कार्यक्षेत्र र सेयर सदस्यबारे बताइदिनुस् न ?
हाम्रो सहकारी नुवाकोटको व्यावसायिक हिसाबले अत्यन्त महत्वपूर्ण विदुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर सहकारी ऐन २०४८, नियमावली २०४९ सोहीअन्तर्गत २०५३ सालमा स्थापना भएको हो । सहकारीमा ३९ जना अग्रज एवम् आदर–सम्मान गर्नुपर्ने सहकारीकर्मीबाट दर्ता भई हाल कुल सदस्य एक हजार नौ सय ६९ जना (महिला आठ सय ५६, पुरुष एक हजार ९८ र संस्थागत १५) रहेका छन् । सहकारीको सेयरपुँजी ६ करोड २१ लाख एक हजार, जगेडा तथा अन्य कोष दुई करोड ९३ लाख ४२ हजार नौ सय ६८, निक्षेप ४६ करोड ६५ लाख ४७ हजार एक सय ७५ र ऋण लगानी ३७ करोड ३३ लाख ३१ हजार सात सय ४० गरी कुल वासलात ५८ करोड ८१ लाख २९ हजार नौ सय ८० रहेको छ । जिल्लाकै मुख्य व्यावसायिक केन्द्र बट्टारबजारको मुटुमा रहेको आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिइरहेका छौँ ।
सहकारीको विगत आ.व. र गत आ.व. २०८०/०८१ मा कारोबार बचत र मुनाफाको अवस्था कस्तो रह्यो ?
सहकारीको विगत आ.व.को तुलनामा गत आ.व.मा कारोबार र मुनाफा राम्रो रह्यो । यसपटक विभिन्न क्षेत्रमा देखिएको आर्थिक मन्दी, अर्थतन्त्रमा देखिएको प्रतिकूलता, व्यावसायिक क्रियाकलापमा देखिएको कमीका कारण कारोबारमा सकारात्मक देखिए तापनि मुनाफामा केही कमी सङ्कुचन रह्यो, यसमा हामी गम्भीरतापूर्वक अध्ययन गरिरहेका छौँ ।
सहकारीले कस्ता क्षेत्रमा कर्जा लगानी गरेको छ ? कर्जाको असुली अवस्था कस्तो छ ?
सहकारी आफ्नै कार्यक्षेत्र र सदस्यबिच समुदायमा आधारित स्वनियम, स्वशासनमा सञ्चालन हुने हुनाले सदस्यको माग पुँजीको समुचित प्रयोग, यसबाट प्राप्त प्रतिफलको आधारमा कर्जाको लगानी र असुली हुने हो । हाम्रो संस्थामा सेयर पुँजी र जगेडा तथा अन्य कोष मजबुत हुँदा संस्थाको लगानी र असुलीको अवस्था सूचकाङ्क हेर्दा सकारात्मक देखिएको छ । उद्योग, व्यवसाय, कृषि, पशुपालन, व्यक्तिगत घरायसी, घरजग्गा, शैक्षिक, वैदेशिक रोजगार, हायरपर्चेजलगायतका क्षेत्रमा कर्जा लगानी गरिएको छ भने मन्दीको प्रभावले ब्याज असुलीमा केही कम भए पनि आ.व. २०८०/०८१ मा समग्र लगानीको पाँच प्रतिशतभन्दा कम नै खराब ऋणको अवस्था हाम्रो सहकारीमा रहेको छ । तथापि, व्यावसायिक ऋण लगानी र लगानी भएको ऋण असुलीमा संस्था लागिपरिरहेको छ ।
देशभरि नै सहकारी समस्यामा परिरहेका छन् । तपाईंको सहकारीलाई पनि असर पर्यो कि ?
वित्तीय अवस्था र हाम्रो कारोबार हेर्दा समस्या भने त्यस्तो देखिँदैन, तर समस्याबिच असरका केही बाछिटा त परेकै छ । यसलाई म के भन्छु भने सहकारीमार्फत केन्द्र सरकारले आर्थिक समृद्धिको सपना देखेको छ । यसलाई प्रदेश र स्थानीय सरकारले अपनत्व लिन जरुरी छ । छिटफुट रूपले जिल्लाका एक–दुई सहकारीमा समस्या पर्दै आइरहेको छ । अहिले उसलाई समस्या प¥यो भन्ने बेला छैन । सामूहिकताको आधारमा सहकारीको जग मजबुत बनाउन सबै लाग्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हाम्रो सहकारीको सन्दर्भमा सदस्यमा आधारित स्वनियम र नियन्त्रणमा चलेको छ । सन्दर्भ ब्याजदर विश्लेषण, असल वित्तीय व्यवहारको आधार, ऋण प्रवाह, कर्जा सदुपयोग निरीक्षण आदि सञ्चालक समिति, उपसमितिले दिएको जिम्मेवारी अनि सोअनुसार क्रियाकलापको आधारमा चलेकाले हाम्रोमा समस्या अलि कमै छ ।
सहकारी संस्थाले उद्देश्यविपरीत बचत सङ्कलन र लगानी कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार गरिरहेका छन् । तपाईंको सहकारीले पनि त्यस्तै गरिरहेको छ कि ?
सम्भावना चिन्ने र उपभोग गर्ने, स–साना पुँजी सङ्कलन गरी बचत गर्ने, जोखिम पहिचान र व्यवस्थापन गरी लगानी गर्ने, आफ्ना सदस्यलाई आय–आर्जन, रोजगारसँग जोडेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ । संस्था विधि, विधानविपरीत हुने गरी कार्य हामीले गरेका छैनौँ । यसबाट हामीलाई लाभ पनि हासिल भइरहेको छ । सहकारी सिद्धान्त, आधारभूत मूल्य, नैतिक मूल्यलाई आत्मसात् गरी जिल्ला सहकारी सङ्घ, क्रियाशील सहकारीकर्मी मित्र विषयगत सहकारी सङ्घ, नियमनकारी निकाय, स्थानीय सरकार, सहकारी विभागसँग समन्वय, सहकार्य र सहअस्तित्वसहित कार्य गरिरहेका छौँ । त्यस सन्दर्भमा हामी र हाम्रो संस्था खुला किताब हो । उद्देश्यविपरीत कार्यक्षेत्रबाहिर गएर कारोबारबारे पढ्न सकिन्छ, बुझ्न सकिन्छ, हामीले त्यसो गरेका छैनौँ ।
सहकारीको भावी योजना के छन् ?
हरेक वर्ष हामी बजेट उपसमितिमार्फत आगामी वर्षका लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम तयार पारी सोको विश्लेषण गरी पास गर्छौँ । त्यसको आधारमा भावी बजेट नीति कार्यक्रमको आधारमा वर्षभरि कार्य गर्छौँ । जस्तै, सामूहिकताको आधारमा व्यावसायिक योजना निर्माण गरी लगानी वृद्धि गर्ने, आर्थिक विश्लेषणसहित निक्षेप वृद्धि गर्ने, सेयरपुँजी वृद्धि गर्ने, जगेडा तथा अन्य कोष संस्थाको दीर्घकालीन पुँजीको स्रोत भएकाले जोखिम व्यहोर्ने कोषबाहेकको वृद्धि गर्ने, कारोबारको आधारमा अथवा योगदानमा आधारित आर्थिक प्रतिफल दिने, सेयरधनी सदस्यको अधिकतम लाभ सामाजिक उत्तरदायित्व बहनसहित उच्च मनोबलका साथ कर्मचारीलाई काम गर्ने जाँगर दिने योजनासहित कार्य गरिरहेका छौँ ।
नुवाकोट जिल्लाभरिको सहकारीको अवस्था कस्तो छ ?
नुवाकोट जिल्ला राजधानीसँग जोडिएको गल्छी–त्रिशूली–केरुङ अन्तर्राष्ट्रिय राजमार्ग, मध्यपहाडी लोकमार्ग, कृषि, उद्योग, जलविद्युत्, पर्यटनको सम्भावना बोकेको जिल्ला, आर्थिक गतिविधिका दृष्टिले अग्रगतितिर लम्किरहेकाले यहाँ सहकारी संस्था पनि सयौँको सङ्ख्यामा रहेका छन् । सहकारी सङ्घ, विषयगत सङ्घ र यसको नेतृत्व सहकारी मर्म, मूल्य र मान्यताअनुसार अगाडि बढिरहेको छ । सहकारी क्षेत्रमा अहिले जुनखालको नकारात्मक हावा चलेको छ, त्यसको प्रभाव र चाप हाम्रो जिल्लामा प्रायः देखिएको छैन । छिटफुट कार्ययोजना आन्तरिक सुशासन न हुँदा केही सहकारी कमजोर भएका छन् । अन्य त्यस्तो खासै छैन ।
तपाईंलाई सहकारी क्षेत्रमा समस्या आउनुको कारण के होला जस्तो लाग्छ ?
अहिले सहकारी क्षेत्रको समस्या जल्दोबल्दो रूपमा बाहिर आएको छ । जानीबुझी नियतवश जनताको बचत हिनामिना दुरुपयोगमा नियमनकारी निकाय सबल, सक्षम र संस्थागत हुन नसक्नु, समुदायमा, सदस्यमा आधारित नहुनु, सेयरपुँजी जगेडा तथा अन्य कोषभन्दा अत्यधिक निक्षेप सङ्कलन गर्नु, सुरक्षित धितो जमानीबिना लगानी गर्नु, नीति नबनाई लगानी गनुर्, अझ सहकारी विकृतिको मूल कारण कार्यक्षेत्र विस्तार पनि हो । सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार चल्नुप¥यो । सहकारी फाइनान्स कम्पनी, बैंक जसरी चल्ने होइन कि सहकारी जसरी चल्नुप¥यो । पारिवारिक सहकारी, पहुँचका आधारमा अनुदान वितरण यी यस्ता कारणले गर्दा सहकारीमा समस्या आएको हो ।