विदुर । नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घको शनिबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेको उक्त साधारणसभा नाम परिवर्तनसहित अन्य प्रस्ताव पारित गरेर सम्पन्न भएको छ ।
सङ्घ जिल्ला प्रशासन कार्यालय नुवाकोटमा २०६९ सालमा दर्ता भएको थियो । अब सङ्घको नाम नुवाकोट हार्डवेयर व्यवसायी सङ्घ हुनेछ ।
साधारणसभामा अध्यक्ष नवीनकृष्ण राजभण्डारी, कोषाध्यक्ष विष्णु प्याकुरेल, महासचिव तेजबहादुर प्याकुरेलले प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ । सङ्घमा ७३ जना सदस्य रहेका छन् । जिल्लामा निर्माण सामग्री व्यवसायीको संरक्षण गर्दै हकहित र व्यवसाय विस्तारमा सङ्घ क्रियाशील रहेको अध्यक्ष राजभण्डारीले बताए । १२ वर्षअघि स्थापना भएको सङ्घ गत वर्ष राजभण्डारीले नेतृत्व गरेपछि चलायमान बनेको हो । सङ्घले गत वर्षदेखि हरेक शनिबार निर्माण सामग्री पसल, गोदाम बन्द गर्ने निर्णय गरेर कार्यान्वयन गरिरहेको छ । सो साधारणसभामा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेललगायतले शुभकामनासहित निर्माण सामग्री व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव दिएका थिए । अहिलेको परिस्थितिमा निर्माण सामग्री नगदमा खरिद गरेर ल्याउनुपर्ने र उधारोमा बिक्री गर्न ठुलो चुनौती रहेकाले उधारो बिक्री गर्नुपर्ने अवस्थामा बैंक जमानत वा चेक लिएर बिक्री गर्न सङ्घले आग्रह गर्दै आइरहेको छ । सङ्घको नाम परिवर्तन गरी नुवाकोट हार्डवेयर व्यवसायी सङ्घ राख्ने प्रस्ताव साधारणसभाले पारित गरेकाले प्रक्रिया अगाडि बढाउने जानकारी महासचिव प्याकुरेलले दिए ।