- राजेन्द्र बस्नेत
धादिङबेँसी । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन खण्डको ट्राफिक जाम कम गर्न सङ्घीय सरकारले वि.सं. २०७८ देखि विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नतिको काम दुई भागमा छुट्याएर गरिरहेको छ । सो सडकखण्डमा खत्रीपौवा खोलादेखि बर्बाङ खोलासम्म २१ पुल निर्माणाधीन छन् । मुग्लिन–नागढुङ्गा सडक हुँदै नेपालका झन्डै ६६ जिल्लाबाट सवारीसाधन राजधानी प्रवेश गर्छन् । सो खण्डमा अत्यधिक ट्राफिक जाम हुने भएकाले निर्धारित समयमा काठमाडौँ पुग्न निकै समय लाग्छ ।
काठमाडौँ उपत्यकामा शिक्षा, स्वास्थ्य, रोजगारी, प्रशासनिक कामकाजका लागि मुलुकभरबाट दैनिक हजारौँ मानिस काठमाडौँ प्रवेश गर्ने यो पुरानो र चल्तीको नाका खण्ड भएर आवतजावत गर्दा सर्वसाधारणले अनावश्यक सास्ती र तनाव व्यहोर्नुपरेको नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य ताराबहादुर कार्कीले बताए । सरकारले सडकका नाममा विभिन्न शीर्षकमा राजस्व उठाए पनि सम्बन्धित क्षेत्रमा खर्च नगरेकोसमेत उनले गुनासो गरे । तीन वर्षदेखि नागढुङ्गा–मुग्लिन सडकखण्डमा स्तरोन्नतिको काम सुरु हुँदा दैनिकजसो सडक अवरोध हुँदै आइरहेको छ । सो सडक आयोजना प्याकेज नम्बर १ नागढुङ्गादेखि नौबिसेसम्म दुई एकल स्पानको पुल निर्माण भइरहेको छ भने खत्रीपौवा खोलामा २२ मिटर लामो र नौबिसे खोलामा २२ मिटर लामो पुल निर्माण चलिरहेको छ । सो प्याकेजको सडकको सम्पूर्ण निर्माण गर्न जिअंशु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नागढुङ्गा–नौबिसे खण्डको १२.२६० किलोमिटर सडक सुधार तथा विस्तार र रु. एक अर्ब ३१ करोड ८४ लाख एक हजार दुई सय एक लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरेका थिए । सोही सम्झौताअनुसार निर्माण कम्पनीले निर्धारित समयमा काम पूरा गर्न नसके पनि सडक विभागले २०८१ माघ २८ गतेसम्म म्याद थप गरेको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना प्याकेज नम्बर २ नौबिसेदेखि मलेखु खोलासम्म १३ पुल निर्माणाधीन छ । तीमध्ये ११ एकल स्पान, एउटा दुई स्पान र एउटा तीन स्पानको निर्माण भइरहेको छ । गणेश खोलामा १७ मिटर, साप्याङ खोलामा २२ मिटर, खहरे खोलामा २५ मिटर, फेदी खोलामा नौ दशमलव दुई मिटर, डाङ्डुङ्गे खोलामा १७ मिटर र खेस्टे खोलामा २२ मिटर लम्बाइका पुल निर्माण भइरहेका छन् । त्यसैगरी, मछेडी खोलामा ६ मिटर, गर्दो खोलामा आठ दशमलव पाँच मिटर, जँुदी खोलामा नौ मिटर, चिरौदी खोलामा १७ मिटर, पोखरेखोलामा १७ मिटर, गलौँदी खोलामा २२ मिटर र सोती खोलामा पाँच मिटरको पुल निर्माण जारी छ । निर्माण कम्पनी शर्मा–लामा कन्स्ट्रक्सन र जेआइसिजीले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नौबिसे–मलेखुखण्डको ४३.५४२ किलोमिटर सडक सुधार तथा विस्तार रु. पाँच अर्ब ३३ करोड १९ लाख २८ हजार सात सय ७४ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण गरिरहेको छ । तर तोकिएको समयभित्र काम नसकिने परामर्शदाता अस्ट्रेलियाको एसएमइसी इन्टरनेसनल प्रालि, पिइसी लिमिटेड र रिपब्लिकन अफ कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएसका परामर्शदाता राजेन्द्र पौडेलले बताए ।
यसैगरी, नागढुङ्गा–मुग्लिन सडक आयोजना प्याकेज नम्बर ३ मलेखु खोलादेखि मुग्लिनसम्म ६ वटा पुल निर्माणाधीन छ । तीमध्ये चार एकल स्पान र दुईवटा दुुई स्पानका छन् । गोमती खोलामा १७ मिटर, चरौँदी खोलामा एउटा स्पान ३५ मिटर र अर्को स्पान २२ मिटर, खटौती खोलामा २२ मिटर, जगग्दी खोलामा दुई मिटर, मौवा खोलामा २२ मिटर र बर्बाङ खोलामा २५ मिटरका पुल निर्माण भइरहेका छन् । ३९ किलोमिटर सडक सुधार तथा विस्तार गर्न रु. चार अर्ब ५० करोडमा शर्मा कन्स्ट्रक्सन र जेडआइसिजीले तीन वर्ष अर्थात् २०२५ डिसेम्बर २८ मा सकिने गरी सम्झौता गरेर काम गरिरहेको परामर्शदाता एसएमइसी इन्टरनेसनल, पिइसी रिपब्लिकन अफ कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएसका परामर्शदाता रोहित आचार्यले बताए । पुल निर्माणमा आधुनिक पछिल्लो प्रविधि अपनाइएकाले काम गर्न सजिलो भएको र निर्माण गर्न छिटो भएको छ । पुलका लागि आवश्यक जग निर्माणसँगै गडर पनि बाहिर निर्माण गरेर जगमा राखिन्छ । गडर राखेपछि स्ल्याप ढलानको काम अघि बढ्ने सगुन कन्स्ट्रक्सनका इन्जिनियर ज्ञानेन्द्र घिमिरेले बताए ।