- शान्ति लामा
नुवाकोट जिल्ला, विदुर-६ खम्पाक्याम्प, चण्डीपोखरीमा एक आधुनिक केन्द्रीय कैदीबन्दी गृहको पहिलो चरणको निर्माण सम्पन्न भएको छ । ड्रोन क्यामराले कैद गरेको सो भवनको तस्बिर हेर्दा अत्याधुनिक रिसोर्टजस्तो देखिन्छ । अलि टाढाबाट हेर्दा उक्त भव्य संरचना के प्रयोजनका लागि बनेको हो भन्ने कुतूहल जो–कोहीलाई पनि जाग्छ । तर, नजिकबाट त्यहाँ बनेका भौतिक पूर्वाधारलाई नियाल्दा काँडे तारबारको पर्खाल, सुरक्षाकर्मीबाट चौबिसै घण्टाको पहरेदारीले त्यो एक झ्यालखाना हो भनेर सहजै लख काट्न सकिन्छ ।
यथार्थमा कानुनको उल्लङ्घन गरी अपराधी ठहरिएका वा अपराधी हुन्–होइनन् भनी पुर्पक्षमा रहेका व्यक्तिलाई राखिने त्यो एक बन्दीगृह हो । हुन त बालबालिकाका लागि स्तरीय विद्यालय बनाइएमा प्रौढका लागि कारागार बनाउनुपर्दैन भनिन्छ । पछिल्लो समयमा बन्दीका लागि मौलिक अधिकारको कुरा उठेको हुनाले बन्दीगृहमा सबै प्रकारका मानवीय सेवासुविधा उपलब्ध गराउनुपर्ने कुरा राज्यको दायित्वभित्र पर्छ । बन्दीगृहलाई उहिलेको यातानागृह नभएर मानिसलाई सुधार गर्ने सुधार केन्द्रका रूपमा लिन थालिएकाले त्यसमा मानव अधिकारले निर्धारण गरेका तमाम सुविधा उपलब्ध गराइन्छ । यही अभिप्रायले नै यो भवन निर्माण गरिएको हुनुपर्छ । ‘बन्दीगृह’ शब्दले कानुनले अपराधी ठह¥याएका वा छेकथुन गर्नुपर्नेलाई बन्धक बनाउने घर हो भन्ने बुझिन्छ । परम्परागत सोचअनुसार बन्धक बनाइसकेपछि बन्धक शारीरिक, मानसिक, सामाजिक, पारिवारिक, आर्थिक, राजनीतिक, शैक्षिक सबै स्वतन्त्रताबाट बन्द हुने भन्ने अवधारणा थियो । तर, अहिले मानव अधिकारको विश्वव्यापी अवधारणा र प्रचलित संविधान, ऐन, कानुनअनुसार अपराधी वा आरोपितका समेत मौलिक अधिकार संरक्षण गर्नुपर्ने अनिवार्य भएको छ । त्यसो त, इतिहास हेर्दा सन् १९०१ जनवरी १ मा अस्ट्रेलियाले आफ्नो देशमा पहिलोपटक बन्दीगृह स्थापना गरेको थियो । अस्ट्रेलिया बेलायत सरकारको उपनिवेश रहेको हुनाले स्वतन्त्रताको आवाज उठाउनेलाई यातना दिने उद्देश्यले बन्दीगृह स्थापना भएको थियो । अपराधीलाई समुद्री टापुमा छाडेर कष्टकर जीवन बिताउन बाध्य पारिन्थ्यो, हाम्रै नेपालमा पनि कालापानी पठाउने गरिन्थ्यो । हालको विश्वको आकर्षक केन्द्र बनेको विशेष गरी विद्यार्थी प्रवेशाज्ञामा विदेश जान चाहेका युवा पुस्ताको पहिलो रोजाइमा रहेको अस्ट्रेलियामा सरकारले आफ्ना आपराधिक नागरिक (जसले गैरकानुनी काम गरेको थियो) लाई समुद्री टापुमा लगेर यातना दिन्थे भन्ने सुन्दा अचम्म लाग्छ । कैदीबन्दीगृह निर्माण मान्छेको आचरण सुधार गरी पहिलाभन्दा राम्रो बनाउने एक पुनीत उद्देश्य थियो । यसरी सुधारिएका व्यक्ति पुनः समाजमा सकारात्मक मनस्थिति बोकेर पुनस्र्थापना हुन सकून् भन्ने नै हो । अर्को कुरा, त्यहाँ रहँदा उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकास होस् र नयाँ जीवन प्राप्त गरून् भन्ने पनि उद्देश्य थियो ।
नेपाल सरकारले विदुर नगरपालिकामा केन्द्रीय कारागार बनाउने निर्णय गर्नुभन्दा पहिला नुवाकोटका साबिकका ६१ गाविसमध्ये एउटा किम्ताङ, हाल म्यागङ-४ का पहिरोपीडित चार सय १६ घरका करिब दुई हजार ८० परिवारलाई त्यहाँ पुनस्र्थापनाका लागि केही समय बसोवाससमेत गराइएको थियो । त्यसभन्दा पहिला त्यहाँ बौद्धमार्गी खम्पाहरू बसोवास गरेकाले त्यो खम्पाक्याम्पका रूपमा समेत परिचित छ । काठमाडौँ-नुवाकोट जोड्ने सडकभन्दा दुई किलोमिटरको दूरीमा रहेको सो बन्दीगृह नेपाल सरकारको आर्थिक वर्ष २०७१/०७२ को विनियोजित स्वीकृत रु. ४५ करोड ४२ लाख ९४ हजार १७ बजेटमा निर्माण सुरु भएको थियो । निर्माणको जिम्मेवारी लामा रमण जेभी निर्माण व्यवसायीले लिई २०७३ असोज ३० मा सम्झौता गरेर २०८१ साउन १ मा सम्पन्न गरेको छ । एक हजार १२० पुरुष र २८० महिला गरी एक हजार चार सय कैदीबन्दीको क्षमता भएको उक्त भवन त्रिशूली नदीको तीरमा रहेको ६१४ रोपनी खेतीयोग्य उर्वर जमिनमा अवस्थित छ । सङ्घीय सरकारको केन्द्रीय बन्दीगृहको अवधारणामुताबिक निर्माण सम्पन्न भएको सो भवन स्वीकृत गुरुयोजनाले निर्दिष्ट गरेअनुसार एक हजार तीन सय ७० कैदीबन्दीको क्षमता भएको सुविधासम्पन्न छ । यो भौतिक पूर्वाधार, मानवीय, मनोसामाजिक सेवासुविधादेखि हरेक खालका फरक क्षमता भएका र विभिन्न शारीरिक, मानसिक अवस्थाका कैदीका लागि प्रयोगकर्तामैत्री छ । भवन निर्माण भएसँगै नेपाल सरकारका गृहमन्त्री रमेशदत्त लेखकको प्रमुख आतिथ्य र बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको विशेष आतिथ्यमा उद्घाटन भएको छ । सोही अवसरमा नुवाकोटको ढुङ्गेमा रहेका कैदीलाई नयाँ भवनमा स्थानान्तरण गरिएको थियो । वि.सं. २०८१ भदौ १५ मा भवनको सर्वपक्षीय अनुगमन पनि सम्पन्न भयो ।
नुवाकोटमा यति ठुलो रकममा सुविधासम्पन्न कैदीबन्दीगृहको निर्माणपछि यसलाई हरेक क्षेत्रका मान्छेले विभिन्न कोणबाट हेर्ने गरेको पाइन्छ । भवनको अवस्थितिलाई हेर्दा एउटै कित्ताको ६१४ रोपनी जग्गा मिल्नाले पछि यसको विस्तार र परिमार्जनका लागि अवसर जुटेको छ । मलिलो माटो, सिँचाइका लागि नजिकै त्रिशूली नदी बगिरहेको, उत्पादित वस्तुको बजारीकरणका लागि पनि काठमाडौँ कालीमाटीबाट टोखा–छहरे सडकको दूरी जम्मा ४८ किलोमिटर मात्रै रहेकाले थप अवसर प्राप्त छ । सडक सञ्जालनजिकै धान, गहुँ, मकै र आलुबाली मात्रै होइन तरकारीजन्य नगदे बाली उत्पादन हुने निश्चित छ । सिमेन्ट, रड, बालुवाको प्रयोग गरी मानवीय शक्तिलाई कैदीका नाममा इँटाको गाह्रोभित्र राख्ने ठाउँ बनेको छ । यसमा स्रोेत र साधनको सदुपयोग भयो कि भएन भन्नेमा आ–आफ्नै दृष्टिकोण रहेको पाइन्छ । कैदीबन्दीगृहको क्षमताभन्दा कैदीको सङ्ख्या धेरै भएकाले सुविधासम्पन्न थप भवन बनाउनुपरेको हो । नयाँ भवनमा सुविधा राम्रो हुने, बसाइ सहज हुने देखिन्छ । त्यसो त कैदीको निश्चित दरबन्दी पनि त कहाँ छ र ? कैदीबन्दीगृहको क्षमताअनुसार कैदीलाई कैद गर्ने पनि होइन ।
व्यवसाय र रोजगारी
भवन उद्घाटनका दिन त्यस ठाउँमा पुगेका नुवाकोटवासी र नुवाकोटबाहिरका महानुभावले एक–अर्कामा खुसी साटासाट गर्दै बधाई दिएका थिए । केही व्यक्तिले जग्गाको भाउ सोधिरहेका थिए, कसैले क्यान्टिन राख्ने ठाउँ खोजिरहेको देखिन्थ्यो । कसैले स्थानीयवासीलाई सरसफाइ गर्ने काम पाइन्छ भन्दै थिए । यी र यस्ता कुराले भवन निर्माणसँगै अनेक रोजगारीको अवसर पनि सिर्जना गरेको अनुभूति भएको छ । अब सो ठाउँको व्यापक प्रचारप्रसार हुनेछ, व्यापार–व्यवसायको प्रवद्र्धन हुँदै फस्टाउनेछ । आन्तरिक पर्यटनको अभिवृद्धि हुनेछ र नुवाकोटको चिनारी कायम हुनेछ । यो केन्द्रीय कैदीबन्दीगृह भएकाले ७७ जिल्लाका कैदीबन्दी यहाँ आउने र उनीहरूका आफन्तजनको आगमन हुनाले यहाँको चहलपहल र रौनक बढ्नेछ । सबै जिल्लाका मान्छेको आउजाउ हुनाले विभिन्न प्रदेशका धार्मिक, सांस्कृतिक सम्पदाको आदान/प्रदान हुनेछ । भाषिक, भौगोलिक एकीकरणको महसुस हुनेछ । अब नुवाकोट र नुवाकोटवासीले यहाँका उत्पादनमा विशेष जोड दिनुपर्ने देखिन्छ । बन्दीगृहमा रहेका मान्छेका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, बन्दोबस्तीका सामान नुवाकोटकै उत्पादनले पुर्याउन सक्ने र बाहिरबाट नुवाकोट आएका मान्छेले स्थानीय विशेष सामग्री लिएर जान पाउने वातावरण बनाएमा छुट्टै आम्दनीसहित हाम्रो पहिचान दशैभरि प्रसारण हुनेछ । त्यसैगरी नुवाकोटको मौलिक सांस्कृतिक सम्पदाको, हाम्रो संस्कारको व्यापक प्रचार हुनेछ । यसका माध्यमबाट नुवाकोटको समृद्धिमा टेवा पुग्ने निश्चित छ । नुवाकोटको विशेषता र आफ्नोपनलाई सुवासित गर्ने अवसर र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न, गराउन पनि कारागार एक महत्वपूर्ण आधार बन्नेछ ।
हुन त कारागार बनाउनु भनेको जालझेल, हिंसाको आचरण हुने मान्छेको बानीमा सुधार होस् भन्ने हो । दण्डसजाय दिएपछि र बन्धक बनाएपछि त्यसको प्रभावले अरूलाई जेल जान नपरोस् भन्ने चेतना दिनु पनि यसको उद्देश्य हो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा आइसल्यान्डमा बन्दीगृह छैन । नेदरल्यान्डसका झ्यालखानामा कैदी नै छैनन्, सबै जेल खाली छन् । त्यसैले हामीले ठुलो धनराशि खर्च गरेर जेल बनाउनुभन्दा लोभ, क्रोध, मोह, रिस, डाह, महात्वाकाङ्क्षा, आवेश अनि आक्रोशलाई नरम बनाउनतिर लगानी गर्नुपर्ने हो । विद्यालय, विश्वविद्यालय बनाएर ज्ञान, नैतिकता, धर्म, ध्यानयोगमा लगानी गरी मानव आचरण सुधार गराएर आपराधिक मनोरोगलाई न्यूनीकरण अनि निर्मूल गर्नका लागि नेपाल सरकार र सरोकार पक्षको ध्यान जानुपर्ने देखिन्छ । बन्दीगृह बनाउनु गौरव नभई एक अपरिहार्य बाध्यता पो हो कि ? तपाईंलाई के लाग्छ ?
(लेखक म्यागङ गाउँपालिकाका पूर्वउपाध्यक्ष हुन् ।)