Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र रसुवामा कृषिका लागि रु. १० करोड २० लाखका कार्यक्रम

नुवाकोट र रसुवामा कृषिका लागि रु. १० करोड २० लाखका कार्यक्रम
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट र रसुवा जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटका लागि चालू आर्थिक वर्षमा रु. १० करोड २० लाखका योजना तथा कार्यक्रम प्राप्त भएका छन् ।

आव २०८१/०८२ मा केही नयाँ कार्यक्रमसहित कृषि विकासका लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवम् बजेटको अख्तियारी प्राप्त भएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार सिँचाइ, साना यन्त्र–उपकरणमा सहायता, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीलता प्रवद्र्धन, संरक्षित संरचनामा तरकारी खेती, ‘एक वडा–एक कृषि उत्पादन’सहित रैथाने बाली र तरकारी संरक्षणका कार्यक्रम प्राथमिकतामा राखिएका छन् । युवालाई स्वरोजगार बनाउन नयाँ कृषि उद्यमशीलता विकास कार्यक्रमका लागि रु. ३६ लाख बजेट विनियोजन गरिएको छ भने बाँझो खेतमा बाली लगाउनका लागि सहज बनाउन सिँचाइ कार्यक्रम माग गर्नेलाई रु. नौ लाखलगायत आकर्षक कार्यक्रम राखिएको खनालले जानकारी दिए । किसानको मागमा केन्द्रित र समय–सान्दर्भिक कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल वितरण, गोठमल र भकारो सुधार कार्यक्रम, हराएका रैथाने अन्नबाली र तरकारी खेतीको प्रवद्र्धनका लागि किसानलाई सहयोग उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको जनाइएको छ ।

रैथाने बाली र तरकारीको संरक्षणसहित सम्भाव्यता भएका नयाँ उब्जनीको अध्ययन तथा परीक्षणसमेत गर्ने कार्यक्रम चालू आवको प्राथमिकतामा राखिएको छ । नुवाकोट जिल्लामा धान, आलु, तरकारी, ट्राउट माछा, स्ट्रबेरी र चिया तथा रसुवामा आलु, स्याउ, दाल, सिमीलगायत व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि र बजारीकरणमा कृषि विकास कार्यालयले सहयोग पु¥याउँदै आइरहेको छ । चालू आवका लागि प्राप्त योजना तथा कार्यक्रम एवम् बजेटले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण तथा खाद्य पोषण सुधारमा उल्लेख्य सहयोग पुग्ने लक्ष्य लिइएको छ । त्यसका लागि सहकारी र निजी क्षेत्रको समेत सहभागितामा कृषिजन्य वस्तुको उद्योग तथा व्यवसायको विकास गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह