धादिङबेंसी । सङ्घीय राजधानी जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङ, गल्छी-४ मासटारमा सुविधासम्पन्न ‘ट्रिपल क्राउन रिसोर्ट’ यही असोज १ गतेदेखि सञ्चालनमा आएको छ । मासटारका तीन दाजुभाइ दीपक, केशव र रमेश अधिकारीका संयुक्त लगानीमा रिसोर्ट सञ्चालन भएको हो । सो रिसोर्ट जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रहेको अधिकारी दाजुभाइले जिकिर गरेका छन् ।
रिसोर्टमा झन्डै रू १५ करोड लगानी रहेको सञ्चालक केशवले जानकारी दिए । अर्का सञ्चालक दीपकका अनुसार रिसोर्टमा एकै दिनमा पाँच सय जनासम्म पाहुनालाई खाना खुवाउन, विवाह, व्रतबन्ध, गोष्ठीलगायत कार्यक्रम गर्न सकिन्छ । यसमा पर्यटकका लागि विशेष खालको सेवासुविधा छ । पन्ध्रकोठे रिसोर्टमा एक रातमा ४० जना बास बस्न सक्छन् । सबै कोठामा वातावरणअनुकूलित अर्थात् एसी जडान गरिएको र तिनतारेस्तरका सेवासुविधा उपलब्ध गराइने सञ्चालकले बताएका छन् । रिसोर्ट परिसरमै रोयल स्विट दुई कोठा र स्विमिङ पुल निर्माण गरिएको छ । साना बगैंचा तथा फुलबारीसहित एक सय ५० जना क्षमताको रेस्टुरेन्ट तथा साना–ठुला गरी तिन कन्फ्रेन्स हल पनि छन् । दुई सम्मेलन कक्षमा चार सय ५० जनासम्म अटाउन सक्छन् । रिसोर्टमा बार, कफी सप र बालबालिकाका लागि विशेष प्ले जोन उपलब्ध छ । तिस जनालाई रोजगारी प्रदान गरिरहेको रिसोर्टको परिसरमा एक सय साना–ठुला सवारी साधन पार्किङ गर्न सकिने पार्किङस्थल छ ।