प्रशिक्षार्थीको लगनशीलता, अभिभावकको समन्वय र प्रशिक्षकको लगाव नै शिक्षालयको सफलताका आधार हुन् ।

  • त्रिशूली प्रवाह
  • १७ आश्विन २०८१, बिहीबार १२:२०

कपिल पाण्डे,
शिक्षालय प्रमुख,
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक शिक्षालयका रूपमा २०७७ असोजमा नुवाकोट, विदुर–१ बान्द्रे, सिमुटारमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । सो शिक्षालय नेकपा (माओवादी केन्द्र) का तत्कालीन सचिव, पूर्वमन्त्री तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोष्टबहादुर बोगटीका नाममा नेपाल सरकारबाट स्थापना गरिएको थियो । शिक्षालय स्थापनादेखि नै भाडाका घरमा सञ्चालन हुँदै आइरहेकामा सङ्घीय सरकारबाट प्राप्त विदुर–१ सिमुटारको इन्द्रायणीचौरमा भवन बनाउन बजेटसमेत विनियोजन भइसकेको छ । मध्यम तथा न्यूनस्तरीय गुणस्तरयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित सो शिक्षालयबाट हालसम्म चार सय १९ जनाले छोटो अवधिको तालिम प्राप्त गरिसकेका छन् । वि.सं. २०८० मा सञ्चालित डिप्लोमा पशु विज्ञानतर्फमा चौथो सेमेस्टरका २७ प्रशिक्षार्थीमध्ये एक विशिष्ट श्रेणी (८८.८८ प्रतिशत)सहित २४ जना उत्तीर्ण गराउन सफल सो शिक्षालयले देशकै पहिलो स्थान ल्याएको छ । अहिले शिक्षालयका प्रमुखमा गणितमा स्नातक र जनप्रशासन शिक्षामा स्नातकोत्तर गरेका गोरखा, भीमसेन थापा नगरपालिका–६ का कपिल पाण्डे छन् जो सिटिइभिटीमा प्राविधिक अधिकृतका रूपमा २०७५ सालदेखि कार्यरत छन् । शिक्षालयको समग्र गतिविधिबारे ‘त्रिशूली प्रवाह’ साप्ताहिकले शिक्षालयका प्रमुख उनै पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय के उद्देश्यले स्थापना गरिएको थियो ? यसको सञ्चालन कहिले भयो ?
मध्यमस्तरीय तथा न्यूनस्तरीय गुणस्तरयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । मूलतः नुवाकोट, धादिङ र रसुवा जिल्लाको केन्द्रमा रहेको शिक्षालय यस क्षेत्रको विशेष पेसा, व्यवसायअन्तर्गत कृषि, पशुपालन र उत्तर–दक्षिण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–केरुङ राजमार्ग र आतिथ्य क्षेत्र समेट्ने हिसाबले होटेल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने गरी २०७७ साल असोजमा स्थापना भएको थियो ।

शिक्षालयमा कुन–कुन विषयमा अध्ययन–अध्यापन भइरहेको छ ? यसमा छोटो समयको व्यावसायिक विषयका तालिम पनि हुन्छ कि ?
यो सिटिइभिटीको आङ्गिक शिक्षालय हो । शिक्षालयमा डिप्लोमा तहका कृषि, पशु विज्ञान, होटेल व्यवस्थापन र सिभिल इन्जिनियरिङमा सम्बन्धन प्राप्त भएको र स्वास्थ्यतर्फको कार्यक्रम सञ्चालनका लागि पहल भइरहेकामा हाल डिप्लोमा तह (तीनवर्षे कार्यक्रम प्लस टुसरह) कृषि/बाली विज्ञान, पशु विज्ञान र होटेल म्यानेजमेन्ट सञ्चालनमा छ । छोटो अवधिका कृषि, पशुपालन र होटेल व्यवस्थापनअन्तर्गतका नियमित तालिम तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र प्रदेश सिटिइभिटीको समन्वयमा शिक्षालयमा सञ्चालित कार्यक्रमअनुसारका छोटो अवधिका तालिम सञ्चालन हुने गरेका छन् । त्यस्तै, हाल प्रिडिप्लोमा तह होटेल म्यानेजमेन्ट दुईजनाको कोटाका लागि (एप्रेन्टसिप) औद्योगिक प्रशिक्षार्थी तालिम सम्झौता भई सञ्चालनका क्रममा छ ।

शिक्षालयको सञ्चालनका लागि स्रोत व्यवस्थापन कसरी जुटेको छ ?
प्रथम वर्षको स्रोत व्यवस्थापन विदुर नगरपालिकाबाट भएको थियो । त्यसपछि सम्पूर्ण स्रोतको व्यवस्थापन नेपाल सरकार, सिटिइभिटीबाट हुने गरेको छ ।

अहिलेसम्म शिक्षालयबाट कति समूह पूरा भयो ? हालको शैक्षिक अवस्था र विद्यार्थी सङ्ख्या कस्तो छ ?
अहिलेसम्म यस शिक्षालयबाट पहिलो ब्याच उत्तीर्ण भइसकेको छ जसमा कृषि बाली विज्ञानतर्फ ३२ मा २८, पशु विज्ञानतर्फ ३४ मा २९ र डिप्लोमा होटेल व्यवस्थापनतर्फ १३ मा १३ जना नै उत्तीर्ण भए । त्यस्तै, हालसम्म यस शिक्षालयबाट चार सय १९ जनाले छोटो अवधिको तालिम लिएको अवस्था छ ।

सिटिइभिटीबाट सञ्चालित परीक्षाको नतिजानुसार त्यस शिक्षालयबाट पशु विज्ञानतर्फका विद्यार्थी देशकै पहिलो बन्न सफल भए नि ! यसको जस कसलाई दिनुहुन्छ ?
वि.सं. २०८० मा डिप्लोमा पशु विज्ञानतर्फ चौथो सेमेस्टरका २७ प्रशिक्षार्थीमध्ये एकजना विशिष्ट श्रेणीसहित २४ जना उत्तीर्ण भएर शिक्षालय देशकै पहिलो बन्न सफल भएको छ । त्यस्तै, तेस्रो सेमेस्टरमा पशु विज्ञानमा अध्ययनरत प्रशिक्षार्थीले ९३.६७ प्रतिशत अङ्कसहित तीन, बाली विज्ञानमा ८३.७९ प्रतिशतसहित दुई र होटेल व्यवस्थापनमा ८७.१६ प्रतिशतसहित १२ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।

शिक्षालयले प्राप्त गरेको जग्गाको क्षेत्रफल कति हो ? त्यसमा कहिले भवन बन्ला ?
शिक्षालय स्थापनादेखि अहिलेसम्म भाडाका घरमा सञ्चालन भइरहेको छ । यसले गत वर्ष सरकारबाट १४२–१०–३–२ क्षेत्रफल जग्गा प्राप्त गरेको छ जुन नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ भदौ २७ गतेको निर्णयबमोजिम वार्षिक रु. २५ लाख ६८ हजार सरकारलाई नै बुझाउने गरी ४० वर्षका लागि भाडामा प्राप्त भएको हो । भवन निर्माणलगायत कार्य यस वर्षदेखि सुरु हुन्छ । रु. एक करोड सङ्घीय सरकारमार्पmत सहरी विकास तथा भवन निर्माण कार्यालयबाट र रु. एक करोड ३५ लाख सिटिइभिटीबाट विनियोजन गरी आएको अवस्था छ । अब छिट्टै निर्माण सुरु हुनेछ ।

सिटिइभिटीको आङ्गिक कलेज जिल्लामा अरू पनि सञ्चालनमा छन्, पोष्टबहादुर शिक्षालय र अन्यमा के फरक छ ?
शिक्षालय २०७७ सालमा स्थापना भएर परिषद्स्तरमा राम्रो छाप छाड्न सफल भएको अवस्था छ । यहाँ प्रयोगात्मक अभ्यासका अलावा जिल्लास्थित विषयगत कार्यालयसँगको विशेष समन्वय तथा सहकार्यमा जोड दिइएको छ । कृषि तथा भेटेरेनरीतर्फ कार्यगत अनुभव कार्यक्रममा ३० भन्दा बढी कार्यालयसँग समन्वय गरी पठाउने व्यवस्था गरिएको छ । त्यस्तै, होटेल व्यवस्थापनतर्फका प्रशिक्षार्थीका लागि होटेल ¥याडिसन, अल्फालगायत अन्य तारे होटेलसँग सम्झौता गरी ६ महिना अन द जब ट्रेडिङमा पठाउने व्यवस्था मिलाइएको छ । प्रशिक्षकको वृत्ति विकासका लागि प्राविधिक प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गरी तालिम व्यवस्था मिलाइएको छ । सिक, कमाइ, तिरअन्तर्गत तरकारी, च्याउ उत्पादन तथा कुखुरापालन गर्ने व्यवस्था मिलाई प्राप्त आय प्रशिक्षक प्रशिक्षार्थीको भरथेगका लागि प्रदान गर्ने व्यवस्था मिलाइएको छ, रोजगार सेवा एकाइ स्थापना गरी दीक्षित प्रशिक्षार्थी र उद्योग व्यवसायीबिच समन्वय गर्ने प्रयास भएको छ, पशुजन्य सरोकार शिविर सञ्चालन, जिल्लास्तरीय महोत्सवमा सहभागिता, विभिन्न दिवस, उत्सवमा सचेतनामूलक कार्यक्रममा सहभागिता तथा अतिरिक्त क्रियाकलाप सञ्चालनको प्रबन्धलगायत व्यवस्थाले अन्य शिक्षालयका तुलनामा हाम्रो शिक्षालय फरक छ । यहाँ अध्यापन गर्ने विद्यार्थीको स्तर अन्यको भन्दा माथि नै छ ।

शिक्षालयप्रति जिल्लावासीको साथ र सहयोग कस्तो छ ?
शिक्षालयप्रति जिल्लावासीको साथ हामीले सोचेभन्दा बढी पाइरहेका छौं । जग्गा प्राप्तिमा होस् वा अतिक्रमित जग्गा खाली गर्ने सन्दर्भमा, स्थानीय र जिल्लावासीको महत्वपूर्ण सहयोग भएको छ । शिक्षालयको दैनिक गतिविधि, प्रशिक्षण, तालिमलगायत सम्बन्धमा जिल्लावासीले चासो र चिन्ता गर्ने गरेकाले शिक्षालय देशभरिमै उत्कृष्ट बन्न सकेको हो ।

नेकपा (माओवादी केन्द्र)का नेताका नाममा खुलेको यस शिक्षालयलाई अन्य पार्टीले हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
यो शिक्षालय नेपाल सरकार, सिटिइभिटीको आफ्नै आङ्गिक शिक्षालय हो । विभिन्न विश्वविद्यालय, शिक्षालय, विद्यालयका नाम त्रिभुवन, महेन्द्र, बिपी, पुष्पलाल, जिपी, कृष्णसेन, वृषबहादुर, मनमोहन, मदन भण्डारी, राजर्षि जनकलगायत स्वर्गीय राजा, नेता तथा प्रतिष्ठित व्यक्तिका नाममा राख्ने गरिएको पाइन्छ । यस अर्थमा नुवाकोटस्थित यो शिक्षालय कुनै दलविशेषको नभएको र अन्य पार्टीका व्यक्तिको समेत यसको स्थापनाकालदेखि नै र उन्नयनमा योगदान छ । जिल्लाका सबै पार्टी र नेताहरूबाट शिक्षालयलाई माया, सद्भाव, सल्लाह, सुझाव प्राप्त भइरहेको छ । सबै दल र नेताले यसलाई साझा संस्थाका रूपमा हेरिरहनुभएको छ ।

शिक्षालय सञ्चालनमा सुरुमा नगरपालिकाले आर्थिक र जनशक्ति सहयोग गरेको थियो । अहिले पनि जारी छ कि रोकियो ?
शिक्षालयको पहिलो वर्षको बजेट सरकारबाट विनियोजन नभएका कारण नगरपालिकाको सहयोगमा सञ्चालन सुरुवात भएको हो । हाल विदुर नगरपालिकाले निरन्तर रूपमा तीनै वर्षमा तीन कार्यक्रमका लागि नगरका तीन–तीनजनाको दरले २७ जनाका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । साथै नुवाकोटका किस्पाङ, तारकेश्वर र तादी तथा रसुवाको उत्तरगया गाउँपालिकाका विद्यार्थीसमेतलाई छात्रवृत्ति दिई शिक्षालयलाई सहयोग पुयाइएको छ ।

शिक्षालयको प्रमुखको जिम्मेवारी कहिलेदेखि पाउनुभयो ? यहाँ आउने अवसर कसरी जुट्यो ?
यसअघि मैले १२–१३ कार्यक्रम सञ्चालन भएको लहान प्राविधिक शिक्षालयमा काम गर्ने अवसर पाएँ । त्यहाँका प्रशिक्षार्थीको चापले समेत मलाई हौसला प्राप्त भयो । परीक्षा नियन्त्रक कार्यालय हुँदै प्रदेश कार्यालय गण्डकीमा कार्य गर्दै गरेको अवस्थामा यस शिक्षालयको स्थापना भयो । नयाँ शिक्षालयलाई पुरानोजस्तै स्थापित बनाउने चुनौती रहेकाले गुणस्तरयुक्त प्राविधिक शिक्षा प्रदान गर्ने थलोको रूपमा विकास गर्ने आशाका साथ सिटिइभिटीबाट मलाई यहाँको जिम्मेवारी दिइयो । परिषद्का नीति, नियम, निर्देशन, उद्देश्यअनुसार शिक्षालय सञ्चालन, व्यवस्थापन गरिरहेको छु ।

शिक्षालय देशकै उत्कृष्ट मानिएको छ । यसका पछाडिका कारण के–के हुन् त ?
सहयोगी राजनीतिक दल, दूरदृष्टियुक्त समाजसेवी, सचेत अभिभावक, कुशल एवम् तालिमप्राप्त प्रशिक्षक र कर्मचारी, समन्वयकारी सञ्चालक समिति र अब्बल विभागीय प्रमुख, लगनशील प्रशिक्षार्थी, सुदृढ परिषद् केन्द्रीय कार्यालय र प्रदेश कार्यालय तथा शिक्षालयका सम्पूर्ण गतिविधि जनमानसमाझ प्रस्तुत गरिदिने सञ्चारकर्मी समग्रको सहयोग प्राप्त भएको शिक्षालय भएकाले हरेक समस्यालाई समयमा नै समाधान गर्न सकिने वातावरण भयो । यसरी शिक्षालय देशकै उत्कृष्टतातर्फ अघि बढेको पाइन्छ । यसमा जिम्मेवार सबै पक्षको अथक योगदान अवश्य छ ।