स्याउखेतीमा रू. पाँच करोड लगानीे

सहुलियत ऋणको ब्याज तिर्न घर बिक्री

  • त्रिशूली प्रवाह
  • १७ आश्विन २०८१, बिहीबार १२:२५
  • राजेन्द्र बस्नेत

बेत्रावती । रसुवाका काल्साङ तामाङ ६ वर्ष विदेश बसेर कमाएको पैसा, त्यहाँ सिकेको ज्ञान र प्रविधि आफ्नै गाउँमा लगाएर उदाहरणीय व्यवसायी बनेका छन् । बिदेसिन लालायित युवाका लागि नेपालमै काम गरेर कमाउन सकिन्छ भन्ने प्रेरणा बनेका तामाङ बिजुली बत्ती र इन्भर्टर जडान तथा मर्मतसम्बन्धी काम काठमाडौँमा १४ वर्ष गरेपछि इजरायल पुगे । त्यहाँका कृषिमा प्रयोग भएका प्रविधि र कृषि फर्म देखेर लोभिएका काल्साङले केही वर्षपछि स्वदेश फर्केर आफ्नो जन्मथलो गोसाइँकुण्ड– ६ ब्राबलमा स्याउखेती गर्ने योजना बनाए । ३२ घर मात्र रहेको गाउँमा उनले आफन्तका जग्गा भाडामा लिएर स्याउखेती सुरुवात गरे । गाउँभरि एक हजार चार सय रोपनी जग्गा रहेकामा काल्साङले अहिले पाँच सय रोपनी जग्गा भाडामा लिएर दुई सय ४६ रोपनी क्षेत्रफलमा स्याउखेती मात्र गरेका छन् । सँगसँगै उनले खाली जग्गामा मौसमी÷बेमौसमी तरकारी पनि फलाएका छन् ।

गाउँभरि भएको सबै जमिनमा स्याउखेती गर्ने सपना भए पनि उनीसँग पर्याप्त लगानी क्षमता छैन । एकताका सरकारले सहुलियत कर्जा लगानी गर्ने कार्यक्रम ल्यायो र त्यसबाटै ऋण लिएर उनले स्याउखेती गर्न थाले । केही समयपछि सरकारले सहुलियत कर्जाको ब्याज तिर्न ताकेता लगाएकाले उनले काठमाडौँको घर बेचेर सहुलियत कर्जा तिरे । वि.सं. २०७७ मा बागमती प्रदेश सरकारबाट रसुवाका लागि १४ हजार दुई सय बिरुवा ५० प्रतिशत अनुदानमा आयो । हेर्दा ५० प्रतिशत अनुदान भए पनि किसानले रु. पाँच सय ७५ राख्नुपथ्र्याे । लगानी धेरै पर्ने भएकाले दुई हजार दुई सय बिरुवा मात्र अनुदानको लगेको बताउने काल्साङले अहिले त्यससहित १२ हजार बिरुवा लगाएका छन् । स्याउले एक वर्षपछि उत्पादन दिन थाल्यो । ‘मैले १२ हजार बिरुवाको ५० प्रतिशतको हुने रकम रु. ६९ लाख बिरुवाकै लागि तिरँे । त्यो बिरुवा लगाउँदा, थाँक्रा हाल्दा, मल्चिङ गर्दा लगभग रु. चार हजार दुई सय लगानी पुग्छ । अहिलेसम्म मेरो लगानी रु. चार करोड ९० लाख पुगिसकेको छ,’ उनले भने ।
उनले अघिल्लो वर्ष ३८ टन स्याउ बिक्री गरेका थिए । यस वर्ष अलि कम ३५ टन मात्र हुने अनुमान गरेका छन् । ‘मेरो फार्ममा गाला, गोल्ड, फुजी र रेड डेलिसेस जातका स्याउ छन् । फलेका सबै स्याउ बिक्रीयोग्य नहुन सक्छन् । अहिले ग्रेडिङ नगरी प्रतिकेजी रु. एक सय ६० मा बिक्री गरिएको छ । ग्रेडिङ गरेर बेच्ने हो भने रु. एक सय ५० देखि दुई सय ५० मा बेच्न सकिन्छ । तर, गे्रडिङ गर्ने मेसिनको रु. १५ लाख पर्छ । जडान गर्न पनि खर्च लाग्छ । लगानी छैन । त्यसकारण बोटबाट टिप्यो, लग्यो अनि बेच्यो,’ काल्साङले बताए ।

स्याउले पूरै क्षमतामा उत्पादन दिन सकेको छैन । परागसेचन गराउन मौरी चाहिने हुन्छ । नेपाली मौरीले ६०–६५ प्रतिशत मात्र परागसेचन गराउने रहेछ । कालो जातका मौरीले ९५ प्रतिशतसम्म परागसेचन गराउन सक्छ । त्यस्तो मौरी चीन, कोरिया र इजरायलमा मात्र पाइन्छ । कालो मौरी विदेशबाट ल्याउन हाम्रो कानुनी व्यवस्था छैन । त्यस्तो जातको मौरी ल्याउने व्यवस्था गरिदिए उत्पादन बढाउन सकिने उनले बताए । उनले उत्पादन गरेको स्याउ गोसाइँकुण्ड गाउँपालिकालाई मात्र लक्ष्य गरेर उत्पादन गरिएजस्तो भएको छ । माग हुँदाहुँदै पनि काठमाडौँ पठाउन सकिएको छैन । गाउँपालिकाका लागि पनि एक लाख बिरुवाको उत्पादन खपत हुने अनुमान उनले गरेका छन् । रसुवामा पहिलेदेखि नै स्याउखेती हुँदै आएको छ । अहिले पनि पुराना जातका स्याउ पाइन्छन् । ‘मलाई श्रीमती दावायान्जेलले भरपूर सहयोग गरेकी छिन्,’ काल्साङले थपे, ‘रसुवामा स्याउखेतीको प्रशस्त सम्भावना र अवसर छ, मात्र लगानी गर्नुप¥यो । बैंकमा लगानीयोग्य रकम थुप्रियो भन्छन्, लगानी गर्न पाएनन् भन्छन् । तर आफूहरूजस्ता ग्रामीण क्षेत्रमा बस्नेका लागि पहुँच नपुग्दा व्यवसाय विस्तार गर्न नपाएको उनले बताए । उनका अनुसार कृषि व्यवसाय गरेर लागत उठाउन मुस्किल पर्छ भन्ने व्यक्ति र समूहको नेपालमा ठुलै जमात छ । लागत नउठ्ने व्यवसाय गर्नुभन्दा विदेश जान बेस भन्दै दैनिक सयौँ युवा बिदेसिएका छन् ।