+
Search

ताजा अपडेट +

पपुलर +

सुरु भयो पदयात्राको याम रसुवा पदमार्गमा पर्यटक चहलपहल

सुरु भयो पदयात्राको याम रसुवा पदमार्गमा पर्यटक चहलपहल
त्रिशूली प्रवाह
१ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे । शरद् ऋतुसँगै यस वर्षको पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम रसुवा जिल्लामा पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ ।

पदयात्राका लागि विश्वप्रख्यात नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गसहित जिल्लाका अन्य पर्यटकीय गन्तव्य गोसाइँकुण्ड, पार्वतीकुण्ड, नागथली, गणेश हिमाललगायत क्षेत्रमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)का पूर्वाध्यक्ष दीपक महतले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिए । ‘विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीचाहिँ बढी दसैँ आसपास घुम्न निस्कन्छन्,’ उनले भने, ‘पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्के पनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ ।’ रसुवा प्रवेश गर्ने एक मात्र सडकमार्ग पासाङल्हामु राजमार्गअन्तर्गत कालिकास्थान–स्याफ्रुबेँसी खण्डमा सडक जीर्ण हुँदै गएकाले पनि यस क्षेत्रमा भित्रिने पर्यटकको सहज आउजाउमा बाधा पुगिरहेको महतको भनाइ छ । जिल्ला प्रवेश गर्ने सडकमार्गलाई सुरक्षित एवम् व्यवस्थित बनाउनुपर्ने उनले बताए । पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गर्न आवश्यक रहेकामा उनी जोड दिन्छन् ।

असोज लागेसँगै धार्मिक तथा पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । यहाँ दैनिक ३०–३५ विदेशी पर्यटक आउन थालेको होटेल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जनाए । पदयात्रा याम सुरु भएसँगै हिमाली भेगका स्थानीय व्यवसायीले अत्यावश्यक खाद्यान्न ढुवानीका साथै होटेल सुदृढ गर्ने काम थालेको उनले बताए । वर्षा कम भएपछि साउन–भदौमा झन्डै १० हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक हिमाली जिल्लामा आएको लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए । तीमध्ये तीन हजार ६० बाह्य पर्यटक रहेको बताइएको छ ।

देशकै नमुना २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको संरचना सबै सुरुङभित्रै र छ जुन हेर्न पनि बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्लाका लाङटाङ र गणेश हिमाल, ऐतिहासिक रसुवागढी किल्ला, झरना, नागबेली पहाड, तामाङ सम्पदामार्ग, तामाङ सङ्ग्रहालय, नेपालकै पहिलो चिज उत्पादन केन्द्रलगायत स्थलमा पर्यटक आकर्षित हुने गरेको सङ्घका अध्यक्ष गजुरेलले बताए । महत्वपूर्ण प्राकृतिक र मानवनिर्मित सम्पदाका अलावा धार्मिक महत्वका नीलाद्री हिमाल, शिवको वासस्थान गोसाइँकुण्ड, देवी पार्वतीको वासस्थान पार्वतीकुण्डलगायत स्थानले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । गत्लाङ, तामाङ पदमार्गअन्तर्गतका गोलजुङ, गत्लाङ, नागथली, चिलिमेलगायत क्षेत्रका स्थानीय खाना परिकारले पर्यटकको आकर्षण बढाएको छ । जिल्लामा भित्रिएका पर्यटकको सुरक्षाका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह