- रमेश सिलवाल
काठमाडौँँ । निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले गत हप्ता पत्रकार सम्मेलन गरी विगत दुई वर्षदेखिको करिब रु. ४५ अर्ब रुपैयाँ भुक्तानी नपाउँदा निर्माण उद्योग धराशायी भएको जनाई तत्काल भुक्तानीको माग ग¥यो ।
भुक्तानी नपाउँदा निर्माण उद्योगले आर्थिक सङ्कटका साथै विकराल अवस्थाको सामना गरिरहेको महासङ्घका अध्यक्ष रवि सिंहले बताए । उनले भने, ‘भुक्तानी नहुँदा बैंक ऋणको किस्ता र करसमेत बुझाउन सकेका छैनौँ । समग्र निर्माणचक्र नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योग नै बन्द हुने स्थिति छ ।’ महासङ्घका अनुसार राष्ट्रिय गौरव, राष्ट्रिय प्राथमिकताप्राप्त तथा सङ्घबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायत आयोजनाको भुक्तानी हुन बाँकी छ । गत असारमा गरिएको आंशिक भुक्तानी पनि चालू आर्थिक वर्षको विनियोजित बजेटबाट भएकाले यस वर्ष हुने थप निर्माणको भुक्तानी झन् जटिल हुने अध्यक्ष सिंहको भनाइ छ । उनले भने, ‘भुक्तानी नदिने, साइट उपलब्ध नगराउने तर दिनहुँ व्यवसायीलाई कालोसूचीमा राख्ने, ठेक्का तोड्ने र बैंक जमानत जफत गरी व्यवसायीलाई आतङ्कित पार्ने काम भएको छ । हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौँ ।’







प्रतिक्रिया