भाग्यमानी नुवाकोट

  • त्रिशूली प्रवाह
  • २१ आश्विन २०८१, सोमबार १३:०७
  • तीर्थ भट्टराई

कुनै पनि ठुलो ठाउँको वरिपरिका स्थानले ठुलो ठाउँबाट केही फाइदा पनि लिइरहेका हुन्छन् । केही भने ठुलो ठाउँका तुलनामा केही पिछडिएका हुन्छन् र मानिसले त्यति वास्ता गरेका हुँदैनन् । नुवाकोट त्यस्तै बत्तीमुनिको अँध्यारो स्थानमध्येमा पर्छ । हाल बागमती प्रदेशमा पर्ने नुवाकोट भौगोलिक तथा प्राकृतिक दृष्टिले सुन्दर हुनाका साथै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण पनि छ । राजधानीको नजिक हुनाका नाताले विकासका मार्गमा अघि बढिरहे पनि यसको यथोचित रूपले विकास हुन नसकेको हो कि भन्ने भान हुन्छ ।
काठमाडौँसँगै सिमाना जोडिएको नुवाकोटको सदरमुकाम विदुर भने काठमाडौँबाट ६५ किलोमिटर टाढा छ । नेपालको भौगोलिक आकारप्रकारका आधारमा भन्ने हो भने यो दूरी कत्ति पनि होइन । भोजपुरमा पहिले–पहिले गाडी देख्न नै दुई दिन हिँड्नुपथ्र्यो । भुल्केबाट बराहक्षेत्र हुँदै चतरा पुगेपछि धरान, इटहरी हुँदै दिनभरि वा रातभरिको यात्राबाट काठमाडौँ आउनुपथ्र्यो । यस आधारमा काठमाडौँबाट नुवाकोट त कत्ति पनि टाढा होइन ।

मैले सुनेअनुसार गाडीको सुविधा हुनुअघि नुवाकोट सदरमुकाम विदुर वा त्रिशूलीतिरका मानिस काठमाडौँ आउन दिनभरि हिँड्नुपथ्र्यो । उनीहरू थानापति हुँदै थाप्लो पनि भनिने रानीपौवाको उकालो काटेर साँझ वास बस्न काठमाडौँको सोह्रखुट्टे पाटीमा पुग्थे । इतिहासका जानकारका अनुसार गोरखा, लमजुङ, कास्की जस्ता पश्चिमका जिल्लाका मानिस पनि यही बाटो हुँदै काठमाडौँ आउँथे । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापाहरू पनि काठमाडौंँ आउने बाटो यही थियो । जुम्लासम्मका मानिस पनि राडीपाखी बेच्न तथा अन्य काममा यही बाटो ओहोरदोहोर गर्ने गरेको बुढापाकाको भनाइ छ ।

वि.सं. २००७ को क्रान्तिपछि परिवर्तन अधुरो भएको भन्ने विद्रोही नेताहरू रामप्रसाद राई तथा डा. केआई सिंह पनि नुवाकोट, रसुवाको बाटो हुँदै तिब्बत पलायन भएको भनाइ छ । सो बखत उनीहरू कुन मार्गबाट त्यता लागे र डा. सिंह चीन पुगे पनि र राईलाई कहाँ के भयो र उनी किन चीन पुग्न सकेनन् र बेपत्ताका स्थितिमा रहनुपयो भन्नेबारे यताका इतिहासकार तथा बुढा, पुराना जानकारबाट पत्ता लाग्न सके राम्रो हुने थियो । प्रजातन्त्र सेनानी राई २००७ मा पूर्वी पहाडको भोजपुरबाट जनतालाई सङ्गठित गरी क्रान्तिको सुरुआत गर्ने अगुवा थिए । अहिले उनका नाममा भोजपुरमा एक गाउँपालिकाको नामकरण नै भएको छ जुन यस पङ्क्तिकारको पनि जन्मस्थान हो ।

अहिले कुरा बुझ्दा नुवाकोट त धेरै भाग्यमानी जिल्ला पो रहेछ । काठमाडौँबाट नजिक हुनु नै यसको भाग्य हो । म त काठमाडौँबाट हिँडेर नौ–दश दिनमा मात्र पुगिने ठाउँको मान्छे । हाम्री मावलकी हजुरआमा, मामा, ठुली ठुल्यामा, ठुलाबाहरू वि.सं. २०२९ मा पशुपतिनाथको दर्शन गर्न भोजपुरको दिल्पाबाट हिँडेर नौ दिनमा पुग्नुभएको थियो । ती तीर्थयात्री अलि बुढाबुढी थिए र उनीहरूले यात्रा अवधिभर खाने सरसामान पनि बोकेका थिए । यस आधारमा नुवाकोट त काठमाडौँबाट नजिकै हो । नुवाकोटको अर्को भाग्य हो, पृथ्वीनारायण शाहले काठमाडौँभन्दा पहिले नुवाकोट जितेर त्यहाँ वि.सं. १८१९ मा दरबार नै बनाउनु । राजाले दरबाार बनाउने ठाउँ नराम्रो हुने कुरै भएन । अहिले नुवाकोटको साततले दरबार पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भूकम्पबाट क्षति भएको यो दरबार हाल पुनर्निर्माणका क्रममा छ ।

नुवाकोटको अर्को भाग्य हो, अर्थमन्त्री जन्माउने जिल्ला हुनु । म भोजपुरबाट पढ्न काठमाडौँ आएपछि जहिले पनि अर्थमन्त्री त नुवाकोटकै भए । कहिले डा. प्रकाशचन्द्र लोहनी त कहिले डा. रामशरण महत । पछि रामशरणकै भाइ डा. प्रकाशशरण महत भए । अर्जुननरसिंह केसी पनि पञ्चायतदेखि गणतन्त्रसम्म मन्त्री भएका गन्यमान्य नेता नै हुन् । यसरी देशको डाडुपन्यु नै पाएपछि यसको फाइदा नुवाकोटले पक्कै लिएको होला । फलस्वरूप जिल्लाको विकासमा भएका केही गतिविधि देख्न पाइएकै छ । त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत् आयोजना आदि यहाँका पुरानै जलविद्युत् आयोजना हुन् । तर, ती अर्थमन्त्रीका आलोचकहरू भन्छन्, उनीहरूले केही गरेनन् । जे भए पनि एउटा बाहिरी मानिसको दृष्टिबाट चाहिँ म भन्छु – नुवाकोटको केही विकास भएकै छ र अपार सम्भावना पनि छ । काठमाडौँ आएपछि केही समय निजामतीमा जागिर खाएपछि मै देशको एक मात्र समाचार समिति राससमा अनुवादक तथा सम्पादकका रूपमा काम गरेँ । नुवाकोटबारे प्रायः सुनिने, पढिने समाचार हुन्थे चेलीबेटी बेचबिखनका । यहाँका धेरै महिला विदेश लगेर बेचिए वा कुनै संयोगले उद्धार गरिएर आए भन्ने वा फलाना–फलाना चेलीबेटी बेचबिखनमा पक्राउमा परे भन्ने समाचार सुन्न पाइरहिन्थ्यो । आज सायद त्यो क्रम घटेकै हुनुपर्छ ।

अलि पछिल्लो समयमा भने नुवाकोटमा विभिन्न पर्यटकीयस्थल विकास भएका, धेरैतिर गाडी सुविधा पुगेका र मानिसका चहलपहल बढेका समाचार पनि सुनिन थाले । तारुकाको गोरुजुधाइ देश–विदेशमा चर्चित भयो र अन्यत्र पनि विस्तार हुन थाल्यो । यसबाट बाहिरका मानिसले पनि नुवाकोटबारे बुझ्ने अवसर पाए भने जिल्लाको पर्यटकीय विकासमा पनि टेवा पुग्न थाल्यो । नुवाकोट गोसाइँकुण्ड जाने बाटो मात्र नभएर परापूर्वकालदेखि नै रसुवागढी हुँदै चीनको तिब्बतसँग व्यापार गर्ने मार्गका रूपमा पनि परिचित थियो । पासाङल्हामु मार्ग पनि यही जिल्ला भएर गएको हुनाले अब पनि चीनसँग व्यापार गर्ने प्रमुख मार्गका रूपमा रहने निश्चित छ ।

पहिले नुवाकोटबाट काठमाडौँ प्रवेश गर्ने एक मात्र नाका रानीपौवा हुँदै भएकामा हाल भने धादिङको नौबिसे हुँदै गल्छीबाट समेत नुवाकोट काठमाडौँसँग जोडियो भने गुर्जेभञ्ज्याङ, टोखा हुँदै पनि नयाँ बाटो खुली राजधानीसँग जोडियो । अझ रसुवागढीबाट काठमाडौँसम्म रेलमार्गबाट जोडिने र त्यसका लागि टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग बन्नेसमेत योजना छ । यी योजना जति चाँडो कार्यान्वयन भयो नुवाकोटलाई उति धेरै फाइदा हुने छ र यो पर्यटकीय मात्र नभई औद्योगिक सहरका रूपमा पनि विकास हुने सम्भावना छ । नुवाकोटमा नदीकिनारमा उर्वर फाँटहरू भएकाले कृषिका लागि पनि निकै राम्रो सम्भावना छ । त्रिशूली मात्र नभई लिखु, तादी आदि नदीका फाँटले यसलाई सुन्दर बनाएको त छँदै छ, कृषिका लागि पनि उर्वरभूमि तयार पारेको छ । आफ्ना उत्पादन यसले काठमाडौँलगायत ठुला सहरलाई पनि बिक्री गर्न सक्छ ।

हामी सामान्य ज्ञानमा पढ्थ्यौँ नुवाकोट, शिखरबेँसीको चामल प्रसिद्घ भनेर । यसबाट कृषि यहाँ उन्नत अवस्थामा नै रहेको र यसले काठमाडौँलाई पनि पाल्ने गरेको थाहा पाउन सकिन्छ । काठमाडौँबाट नजिक भएकाले यहाँका हरेक कृषि उपज यहाँ पुग्न सक्ने सम्भावना छ ।
हालका दिनमा नुवाकोटमा पर्यटनको पनि निकै विकास हुन थालेको आभास हुन्छ । साततले दरबार मात्र होइन, बेत्रावती, दुप्चेश्वरलगायत धेरै पर्यटकीय तथा धार्मिक स्थल यहाँ रहेका छन् । उत्तरगयामा गई श्राद्ध गर्नु निकै पवित्र मानिने भएकाले हरेक सन्तति आफ्ना पूर्वजका श्राद्ध त्रिशूली र बेत्रावती नदीको दोभानमा गर्न चाहन्छन् । यस ठाउँमा यो पङ्क्तिकार पनि केही वर्ष पहिले पुग्न पाई आफ्ना पिताप्रति श्रद्धा अर्पण गर्न पाएको सम्झना हुन्छ । यो ठाउँ मलाई लगभग सप्तकोशी र कोकाहा नदीको बराहक्षेत्रस्थित दोभानजस्तै लाग्यो, तर बराहक्षेत्रमा भने कोशी त्रिशूलीका तुलनामा निकै ठुलो छ ।

नेपाल–चीन युद्घपछि वि.सं. १८४९ मा नेपाल–चीनबिच बेत्रावतीमा नै सन्धि भएको थियो । यो स्थान रसुवा जिल्लाको सिमानामा पर्छ भने यहीँबाट धुन्चे वा रसुवागढी जाने पासाङल्हामु मार्ग पहाडको उचाइतर्फ चढ्न थाल्छ । प्रख्यात तीर्थस्थल गोसाइँकुण्ड जाने बाटो पनि यही हो ।
पृथ्वीनारायणले वि.सं. १८३१ मा देहत्याग गरेको देवीघाट पनि यही जिल्लामा त्रिशूली र तादी नदीको दोभानमा पर्छ । यहाँ उनको समाधिस्थल र नजिकै केही माथि ठुलो आकारको सालिक पनि एउटा ठुलो ढुङ्गामाथि छ । यी कुरा पनि पर्यटकीय चासोका विषय हुन् । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वको नुवाकोटले हालका दिनमा पर्यटन क्षेत्रमा पनि विकासको पाइला चाल्न थालेको प्रतीत हुन्छ । काठमाडौँसँग जोडिएकाले काठमाडौँवासीलाई त्यहाँको कोलाहलबाट मुक्त भई शान्त र प्राकृतिक वातावरणमा रमाउने अवसर यसले दिन सक्छ । दुई जिल्लाको सिमानामा शिवपुरी, ककनी आदि शिखरहरू हुनु, त्यहीँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुनु आदि यो जिल्लाका सम्पत्ति हुन् ।

मेरो केही नुवाकोटेली साथीहरूसँगको सङ्गत, चिनजान र सामीप्यले नुवाकोटप्रति चासो बढाउने नै भयो । यसै सन्दर्भमा कवि तथा राससका नायब महाप्रबन्धक श्याम रिमाल, ‘त्रिशूली प्रवाह’का प्रकाशक–सम्पादक शरणउत्सुक सापकोटा, ‘नुवाकोट एफएम’का स्टेसन म्यानेजर श्रीराम अधिकारी आदिको सम्पर्कले केहीपटक मैले पनि नुवाकोटको भ्रमण गर्न पाएँ । यसबाट मेरो नुवाकोटप्रतिको चासो बढ्दै गयो भने यहाँको जनजीवन, विकास निर्माणबारे धेरै कुरा थाहा भयो । यही वर्ष वैशाख ६ गते सदरमुका विदुरमा भएको ‘त्रिशूली प्रवाह’ साप्ताहिकको रजतोत्सवमा सहभागी हुन पाइयो । सापकोटाद्वारा सम्पादित सो साप्ताहिकको जिल्लाको सूचना सम्प्रेषण र विकासमा निकै ठुलो योगदान रहेछ । उहाँले कठिन समयमा पनि साप्ताहिकलाई दृढतापूर्वक निरन्तरता दिनुभएको रहेछ । कार्यक्रममा जिल्लाका प्रजिअलगायत विभिन्न सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तिले साप्ताहिकको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

साथै वैशाख ११ गते ‘नुवाकोट एफएम’को आयोजनामा भएको देवीघाट मेलामा पनि सो एफएमका स्टेसन म्यानेजर अधिकारीको आतिथ्यमा सहभागी भई सो स्थानको सुन्दरता, सामाजिक परिवेश, सांस्कृतिक वैभव आदिको प्रत्यक्ष अनुभव गर्न पाइएको थियो । त्यसबखत त्यहाँको प्रसिद्घ जालपादेवीको दर्शन पनि गर्न पाइएको थियो । त्यहाँ भएको कार्यक्रममा स्थानीय तथा राजधानीबाट गएका कलाकार आदिले दोहोरी गीत, नृत्य आदि प्रस्तुत गरी जिल्लाको संस्कृति प्रस्तुत गर्नुभएको थियो भने बुद्धिजीवीले जातिगत विविधतायुक्त सुमधुर सामाजिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा सोही जिल्लामा जन्म भई हाल राससका नायब महाप्रबन्धक तथा कवि मित्र रिमाललाई पनि जिल्लाका लागि उहाँले पु¥याउनुभएको योगदानका लागि सम्मान गरिएको थियो । सो कार्यक्रममा घाँसेगीत वा ठाडोभाकाका प्रसिद्ध गायक दलबहादुर डङ्गोलले आफ्नो प्रस्तुित दिनुभएको थियो । काठमाडौँबाट त्यहाँ जाँदा र आउँदा उहाँसँगै एउटै गाडीमा यात्रा गर्ने अवसर पाइएको थियो । तर दुःखको कुरा, त्यसको केही दिनपछि उहाँको निधनको समाचार सुन्नुपरेको थियो ।

गत वर्ष कात्तिक २२ मा शिवपुरी–४ र ६ बिचमा पर्ने लप्से मोहरथोक झरना महोत्सवमा पनि सहभागी हुने मौका पाइएको थियो । भर्खर पर्यटनको विकास हुन लागेको सो स्थानमा अर्गानिक खाजा, खानासहितको स्वागत पाइएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष, वडा नं. ४ का वडाध्यक्ष विष्णु श्रेष्ठसमेतले काठमाडौँबाट आएका पत्रकारलगायतका टोलीलाई स्वागत गर्नुभएको थियो । हालै मात्र पनि सम्पादक समाज नेपालका आयोजनामा शिवपुरी–८ मा अवस्थित लौके झरना (छहरे) सम्म पदयात्रा गरी गाउँपालिकाको प्राकृतिक वैभवको अवलोकन गर्न पाइयो । सो क्रममा पत्रकारलाई काठमाडौँको भृकुटीमण्डपबाट बसमा नुवाकोटको काफलडाँडासम्म लगिएको थियो । त्यहाँको कुशल अर्गानिक भोजनालयमा खाजा खाएपछि लौके झरनातर्फ पत्रकारको टोली पैदल यात्रा (हाइकिङ)मा गएको थियो । राजधानीका लगभग डेढ सय पत्रकार सो पदयात्रामा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा झरनानजिकै गाउँपालिकाका अध्यक्ष थपलियाले पत्रकारलाई स्वागत गर्दै गाउँपालिकामा भएका झरनाको विकास गरी पर्यटकलाई आकर्षण गर्ने र स्थानीय जनतालाई पर्र्यटनमार्फत आयआर्जनमा जोड्ने बताउनुभएको थियो । केही पूर्वाधार तयार भएको र थप आवश्यक निर्माण गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने प्रतिबद्घता पनि उहाँले जनाउनुभएको थियो । लौके झरना अर्थात् छहरे झरना ठुलो र सानो गरी दुइटा रहेछन् । ठुलो झरना निकै अग्लो र सुन्दर रहेछ । यसले त्यहाँ पुग्नेलाई असीम आनन्द र शीतलता प्रदान गर्ने रहेछ । झरनाको वेग र हावाको झोँक्काले पानीका बुँद जमिनबाट ४०–५० फिट माथिसम्म पनि उडिरहेको अनुपम दृश्य देख्न सकिन्थ्यो ।

नुवाकोट जाने बाटाबाट झरनासम्म पैदल जाँदा बाटाबाट लिखु नदी, फाँट तथा कविलास डाँडालगायत टाढाटाढासम्मको मनोरम दृश्यको अवलोकन पनि गर्न पाइन्छ । लौके झरनाको अवलोकनपछि हामी गाडीबाटै गुर्जेभञ्ज्याङनजिक पुगेर त्यहाँबाट सूर्यचौर अर्थात् सुइरेचौरसम्म पुनः पैदल यात्रा गर्दै पुग्यौँ । सूर्यचौरमा हालै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र स्थापना भएको छ । सम्पादक समाजले आयोजना गरेको पैदलयात्राको समापन र जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउन आयोजना गरिएको अन्तक्र्रिया त्यही केन्द्रमा भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पत्रकारले जलवायु परिवर्तनका असरबाट स्थानीय जनतालाई जोगाउन सरकारले के–कस्ता प्रयास गरेको छ भन्ने जिज्ञासा राखेका थिए भने मुख्यमन्त्रीले सरकारले थालेका प्रयास र स्थानीय जनताको जीवनस्तर उकास्न गरिएका पहलबारे जानकारी दिनुभएको थियो ।

सम्पादक समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव श्याम डोटेलले पैदल यात्रा र जलवायु परिवर्तनका असरबारेको अन्तक्र्रिया आयोजना गर्नुका उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने गाउँपालिका अध्यक्ष थपलियाले आफ्नो गाउँपालिका क्षेत्रमा करिब पाँच ठुला झरना भएको र तिनको विकास तथा पूर्वाधार निर्माण गरी सो क्षेत्रको पर्यटन विकासका लागि आफू प्रयत्नशील रहेको बताउनुभएको थियो । यात्राक्रममा कवि तथा राससका नायब महाप्रबन्धक रिमाल, कवि तथा ज्योतिषी रत्ननिधि शुक्राचार्य तथा दर्शनशास्त्रका अध्येता एवम् नुवाकोटे बुद्घिजीवी रामलाल श्रेष्ठले राजनीतिक, सामाजिक, दार्शनिक विषयमा वादविवाद गरी भ्रमणलाई रोचक बनाउनुभएको थियो । सम्पादक समाजका महासचिव डोटेल, त्रिशूली प्रवाहका सम्पादक तथा सम्पादक समाजका सदस्य सापकोटाले हरेक अप्ठयारामा सहजीकरण गर्नुभएको थियो ।

(लेखक : राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख संवाददाता हुन् ।)