टोखा–छहरे–गँगटे मार्गमा सवारी चापसँगै दुर्घटना जोखिम वृद्धि

  • त्रिशूली प्रवाह
  • २३ आश्विन २०८१, बुधबार १३:२२
  • रमेश सिलवाल

विदुर । यही असोज ११ र १२ गते लगातार वर्षा भई राजधानीबाट पूर्व र पश्चिम जाने सडक बिग्रेकाले वैकल्पिक टोखा–छहरे–गँगटे मार्गमा सवारीचाप बढेसँगै दुर्घटना जोखिम पनि बढेको छ । पूर्व जाने बिपी राजमार्ग र पश्चिम जाने पृथ्वी राजमार्गमा बाढी र पहिराले कतै बाटो ध्वस्त नै र कतै अवरोध भएकाले यातायात व्यवसायीले गोंगबुदेखि नुवाकोट सदरमुकाम वर गँगटे भएर गल्छी जाने बाटो रोज्न थालेकामा दुर्घटनाका घटना पनि बढिरहेका छन् ।

थानकोटबाट सवारीसाधनमा गल्छी पुग्नुभन्दा टोखाबाट जाँदा करिब आठ किलोमिटर दूरी कम पर्छ । चारपाङ्ग्रेमा मिनीबस, ठुलो माइक्रोबस, हाइलक्स, जिप, पिकअफ, टाटासुमो, स्कार्पियोजस्ता साना आकारका माइक्रोबसका लागि उपयुक्त सो मार्ग तुलनात्मक रूपमा साँघुरो र ठाउँठाउँमा मोड भएकाले नयाँ सवारीसाधनका अनुभव नपुगेकाले पश्चिम लमजुङ जान लागेका एक माइक्रोबस र हाइलक्स पिकअप एक हप्ताको फरकमा दुर्घटनामा पर्दा हाइलक्स पिकअफको चालकको घटनास्थलमै निधन भइसकेको छ भने दुवै गाडीका यात्रुको राजधानीका अस्पतालमा उपचार भइरहेको छ । आकस्मिक रूपमा वैकल्पिक मार्ग रोजी चलेका सवारीसाधनलाई गन्तव्यमा जान दिनुपर्ने आफूहरूको बाध्यता भएको नुवाकोटका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाले स्पष्ट गरे । बडादसैँभर कुनै सवारीसाधनलाई पनि रोड परमिट नचाहिने भएकाले टोखा–छहरे–गँगटे मार्गमा सवारीचाप बढे पनि प्रहरीले नियमित रूपले कडाइका साथ जाँच गर्न भने नसक्ने एसपी कोइरालाले जनाए । ‘हामीले सो रुटमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने गाडी र चालकमाथि जाँच र कारबाही गरेका छौँ,’ एसपी कोइरालाले बताए । उनका अनुसार सो सडकबाहेक अन्यत्र पनि ठाउँठाउँमा हेल्पडेस्क स्थापना गर्नाका साथै मोबाइल चेकिङ भइरहेको छ । उनले भने, ‘हामीलाई यस वर्ष सवारीचाप बढेकाले सुरक्षा चुनौती थपिएको छ, यसमा हामी सजग छौँ ।’ प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना जारी गरेर काठमाडौं र अन्य जिल्लाबाट प्रवेश गर्ने नाका कोल्फुटार, गुर्जेभन्ज्याङ, चिसापानी, बट्टार र ढुङ्गेमा सहायता कक्ष सञ्चालन गरेको छ । यात्रु सहायता कक्षमार्पmत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु र तोकिएभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।